प्रधानमन्त्रीज्यू घेराबन्दीमा हुनुहुन्छ

उषाकला राई, प्रदेश सांसद, नेकपा

पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सभासद् हुँदा नेतृत्वदायी भूमिका निर्वाह गरेकी उषाकला राई यसपटक प्रदेश १ मा झरिन् । उनको अर्काे परिचय हो, पूर्वमन्त्री शेरबहादुर तामाङकी जीवन संगिनी । तत्कालिन प्ररायुसंघमा काम गर्दा शेरबहादुर महासचिव र उषाकला केन्द्रीय सदस्य । त्यही बेलादेखि माया बसेर लगत्तै विवाह भएको हो । पहिलो संविधानसभाको माननीय बन्नुअघि त्रिचन्द्र र अमृत साइन्स क्याम्पसमा प्राध्यापन गर्थिन् । अहिले कानुनमा विद्यावारिधीको तयारी छ । उनी र शेरबहादुर दुबै लाइसेन्सप्राप्त वकिल हुन्, तर वकालत पेशामा छैनन् । उषाकलाचाहिँ साहित्यमा पनि उत्तिकै अब्बल छिन् । दुई कृति छन्, कञ्चन तारा र उन्नयन कञ्चन तारा । पहिलो संविधानसभामा १ सय ९७ महिला सभासद्को समूह ककसको अध्यक्ष थिइन् । संविधानसभा मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको सदस्य भएर सो समितिअन्तर्गत लैंगिक उपसमिति संयोजकको भूमिकामा रही संविधानसभामा योगदान दिएकी हुन् ।

० मन्त्रीबाट शेरबहादुर तामाङलाई बर्खास्त गरेको पीडा कस्तो रह्यो ?

– त्यो घटना बिर्सन सक्दिनँ । एउटा राजनीतिक मान्छे आज मन्त्री हुनसक्छ, भोलि नहुन पनि सक्छ । तर, शेरबहादुरलाई जे नाममा र जुन बुझाईका साथ राजीनामा दिन बाध्य पारियो, उहाँको व्यक्तित्व, भूमिका र राजनीतिक पहिचान बिल्कुलै त्यस्तो होइन । कानुन मन्त्रीका रुपमा उहाँले राष्ट्रका लागि निकै महŒवपूर्ण र ऐतिहासिक कदम अघि बढाइरहनुभएको थियो । केही माननीय न्यायाधीशसहित सार्वजनिक पदधारीका सम्पत्ति सार्वजनिक गर्ने विषय निकै महŒवपूर्ण थियो । न्यायाधीशहरुले जति कमजोरी गरे पनि उनीहरुमाथि प्रश्न उठाइँदैनथ्यो । २०÷२५ जना न्यायाधीश कारवाहीमा पनि पर्नुभएको नेपालको पहिलो घटना थियो । भ्रष्टाचारमुक्त मुलुक बनाउने, कानुन बनाएर भ्रष्टहरुलाई ठेगान बनाउने ढंगले काम गर्दै हुनुहुन्थ्यो । भाषणले मात्र त राष्ट्र बन्दैन । जोसँग निष्ठा छ, पारदर्शीता र त्याग छ, त्यसले गर्ने हो राजनीति । राजनीति कसैको पेशा होइन, न कुनै कलंकको भाँडो । निष्ठा र त्यागको राजनीति गरिरहेको एउटा मान्छेलाई बहानावाजी बनाएर राजीनामा दिन लगाइयो । हुन त आफ्नो श्रीमान सबैलाई राम्रो लाग्छ । तर, शेरबहादुर तामाङ कस्तो हो छरछिमेक, नजिकबाट चिन्ने–जान्नेहरुलाई राम्रोसँग थाहा छ । नारीलाई त्यति सम्मान÷श्रद्धा गर्ने व्यक्ति ।

० गोकुल र शेरबहादुरले पदबाट राजीनामा दिनुभयो । यस्तैखालको लाञ्छना त अरु मन्त्रीहरुमाथि पनि लागेको छ । खानेपानी मन्त्रीले पाँच करोड मागेको तत्कालीन सचिव गजेन्द्र ठाकुरले बोलेका छन् । शिक्षा मन्त्रीमाथि पनि त्यस्तै आरोप छ । उस्तै प्रकरणमा कसैले दिनुपर्ने, कसैले राजीनामा दिनुनपर्ने कत्तिको न्यायसंगत हो ?

– मान्छेले मुख्य कमजोरी गरेको छ वा छैन ? प्रमाणको आधारमा कुन हदको गल्ती गरेको छ ? त्यही हदको हुनुपर्दछ । लाञ्छनामात्र लगाइएको हो वा साँच्चै घुस मागिएको हो ? प्रमाणका आधारमा कारवाही हुनुपर्छ । कमी–कमजोरी भइराख्ने, छानबिन पनि नहुने कुरा न्यायसंगत हुँदैन । आलटाल गरेर आफ्ना मान्छे बचाइने र ढाँट्ने, छल्ने काम भयो भने साह्रै नै गम्भीर गल्ती हुन्छ । लाञ्छना लागेपछि छानबिन गर्ने, कारवाही गर्नुपर्ने भए राजीनामा दिन लगाउने हुनुपर्छ । मेरो श्रीमान्लाई त्यस्तो भयो । उहाँहरुले पनि राजीनामा दिनैपर्दछ भन्ने मेरो भनाइ होइन । तर, आरोप लागेपछि छानवीन त हुनुपर्छ । र, प्रमाणित भए राजीनामामात्र होइन, कारवाही नै हुनुपर्छ ।

० शेरबहादुरमाथि जुन ढंगले कारवाही भयो अरुमाथि भएको कारवाहीलाई कसरी तुलना गर्नुहुन्छ ?

– यस्ता कमजोरी त नेताहरुले कति गरेका छन्, कति † सार्वजनिक स्थलमै नेताहरुले कति विवादास्पद कुरा बोलेका छन्, त्यो त मैले भनिरहनै परेन । तर, शेरबहादुर एउटा जनजाति, सोझो र इमान्दार भएकै कारण पदबाट हटाइयो । सम्माननीय प्रधानमन्त्रीज्यूलाई भेटेर भनेका छौं, ‘उहाँले थालेका कदम पूरा गर्नुस् । ती अति महŒवपूर्ण छन्, देशका लागि । भ्रष्टाचार अन्त्य गर्नुस् । तपाईं सफल हुनुभयो भने राष्ट्र सफल हुन्छ । तर, सल्लाहकारहरुले कस्तो सल्लाह दिँदै हुनुहन्छ ? राजीनामा दिनु कुनै मुस्किलको कुरा होइन । पार्टीले भन्छ भने बलिदान हुन तयार भएर यो आन्दोलनमा होमिएका हौँ । तर, राष्ट्र बन्नुप¥यो । मुखले मात्र बनाएर भएन । कामले, व्यवहारले समृद्ध मुलुक बन्नुप¥यो । अहिले अर्बौं अर्ब भ्रष्टाचारका कुरा उठिरहेका छन् । लोकतन्त्रमा जनता ठग्न पाइँदैन ।’

० तपाईंले तारन्तार प्रधानमन्त्री ओलीलाई भेट्न खोज्नुभएको, तर भेट््छु भनेर पनि समय नदिनुभएको भन्ने सुनियो । कत्तिको सत्य हो ?

– सत्य हो । कति पटक भेट्न खोज्दा भेट्न नपाएको अवस्था हो । उहाँ एकखालको घेरामा हुनुहुन्छ । कस्ता कस्ता सल्लाहकारहरु हुनुहुन्छ ? कस्तो सल्लाह, सुझाव दिनुहुन्छ ? त्यही कारण पार्टीका अध्यक्ष, सम्माननीय प्रधानमन्त्री समक्ष पुग्नैपर्ने मान्छे पनि छुटिरहेका होलान् । त्यसमाथि सही सल्लाह दिनै पाइँदैन । दिइएका सल्लाह, सुझाव कत्तिको सुनुवाई हुन्छ भन्ने हो । हामी अत्यन्त साधारण व्यक्ति, जनताका मान्छे । भुइँ, धुलोमा काम गर्ने । हामीले यही भुइँको, गरिबीको कुरा बुझेका छौं । हामीले भनेका कुरा सम्बन्धित निकायले सुन्नुपर्ने, सोच्नुपर्ने विषय हो ।

० पार्टीमा महिला नेतृको अवस्था कस्तो छ ?

– मुखले मात्र हो महिला अधिकारको कुरा गर्ने † व्यवहारमा पूरै विभेद छ । महिलालाई हेर्ने दृष्टिकोण हिजो जस्तो थियो, आज पनि उस्तै छ । महिला सहभागिता ३३ प्रतिशतबाट बढाएर ५० प्रतिशतसम्म पु¥याउनुपर्छ भनेर हामीले आवाज उठाएका थियौं । तर, के हाम्रो संसदमा त्यस्तो उपस्थिति छ ? स्थानीय तहमा उपमेयर वा उपप्रमुख मात्र बनाउन सक्यौं । महिलालाई टिपेर ल्याउने र ठाउँ दिनेमात्र काम भयो । ठाउँ ओगट्नका लागि मात्र महिलालाई कुर्सी छुट्टयाउने होइन । पुँजी, जीवन र राष्ट्र निर्माणमा साझेदार बनाउनुपर्ने हो ।

० पार्टीको केन्द्रीय सचिवालयमा महिलाको उपस्थिति शून्य, क्याबिनेटमा ३३ प्रतिशत छैन, जिल्ला इञ्चार्ज १२ दशमलव ५ प्रतिशतमात्र । ३३ प्रतिशत नाराचाहिँ अक्षरमा मात्र सिमित हुने स्थिति किन आयो ?

– महिलाको ३३ प्रतिशत सहभागिता कार्यान्वयन हुनै सकेको छैन् । राष्ट्रिय सत्ता र पार्टीको सत्ता पुरुषकै हातमा छ । महिलालाई दोस्रो दर्जाकै रुपमा हेरिन्छ । क्षमतावान होइन, जसले पुरुषलाई खुशी पार्नसक्छ, त्यसको मात्र दिन खुल्छ । तर, कतिपय क्षमतावान महिला आफ्नो शक्तिको भरमा, आफ्नो खुट्टामा उभिएका छन् । र, अघि बढिरहेका छन् ।

० तपाई बारम्बार गुटको शिकार हुनुभएको पात्र । १ नं. प्रदेशमा सभामुख बनाउने चर्चा थियो । यस्तो घटनाले कत्तिको मन दुख्छ ?

– असाध्यै । संघीय सांसद बनिसकेको व्यक्ति । संविधानसभामा महŒवपूर्ण भूमिका निर्वाह गरिसकेको, पार्टीको इमान्दार कार्यकर्ता । मेरो माग थियो प्रत्यक्ष टिकटको । चुनावमा उठेर, जितेरै देखाँउछु भन्ने हिम्मत थियो । टिकट दिएनन्, लगेर तिम्रो ठाउँ यही हो भन्दै प्रदेशमा थन्क्याइयो । पार्टीले दिएको ठाउँमा अनुशासित ढंगले बस्नुपर्छ, बसेँ । सभामुखमा नाम दर्ता गरेकी थिएँ । आफ्नो चासो र चाहना व्यक्त गरेको थिएँ । तर, अनुरोधको सुनुवाई भएन । पार्टीमा अनेकखालका टिम हुन्छन् । अहिले जो सभामुख आउनुभएको छ, उहाँ अत्यन्त राम्रो, इमान्दार मान्छे, उहाँप्रति केही गुनासो छैन । तर, पनि पुरुषको नाममा टिमहरुमा महिलालाई फ्याँक्ने सहमति हुँदोरहेछ † त्यहाँ मलाई फ्याँक्ने सहमति भयो । के महिलाहरु आज पनि फ्याँकिनका लागि, हेपिनका लागि, अनि भूमिका संकुचन पार्नका लागि उभ्याइने पात्र हुन् ?

० पार्टी र सरकार सञ्चालन कत्तिको विधिसम्मत पाउनुभएको छ ?

– तालमेल मिलिरहेको छैन । संक्रमणकालको अवस्था, दुईवटा बृहत पार्टी मिलेको, कहिल्यै नभएको दुई अध्यक्षको अभ्यास गरेकोलगायतका संरचना मिलाउनुपर्ने गम्भीर कामहरु बाँकी थिए ।

० पहिलो संविधानसभामा धेरै प्रकारका ककस निर्माण भए । जनजातिको ककसले पार्टी नै फुटायो । तपाईंमाथि चार्ज छ कि, पहिलो संविधानसभा असफल हुनुको कारणमध्ये एक महिला ककसको भूमिका पनि हो । के भन्नुहुन्छ ?

– त्यो पूर्वाग्रही दृष्टिकोण हो । जनजाति, महिला, मुस्लिम, दलित, मधेसीलगायतका ककस निर्माण भएका थिए । त्यो समयमा राष्ट्रका आधा अंग महिलाको कुरा आउने नै भयो । ०६४ को संविधानसभाभित्र २५ वटा दल थिए । १९ वटा दलमा मात्र महिला थिए । महिला सांसदहरु, जनक्रान्ति, जनआन्दोलनबाट आएका थिए । त्यहाँ चानचुने महिलाहरु थिए र ? नयाँ इतिहास रच्न लागेको समयमा महिला अधिकारको कुरा उठाउन नमिल्ने ? महिलामाथि विभेद गरेर कताको लोकतन्त्र–गणतन्त्र फस्टाउँछ र सम्वृद्धि निर्माण हुन्छ ? त्यो अवस्थामा महिला ककस बनेको थियो । आफ्नै नियमावली बनाइएको थियो । नयाँ संविधानमा के लेख्दा अहिलेसम्म महिलाले भोगेको विभेद अन्त्य हुन्छ र समतामुलक समाज निर्माण हुन्छ भन्ने बिषयमा ठूलो बहस भएकै हो । त्यसकै उपज अहिलेको संविधानमा वंशजको अधिकार, आमाको नाममा नागरिकता, महिला सशक्तिकरणका कुरा लेख्न सकियो । त्यो सबै महिला ककसको काम थियो । त्यसमा पार्टीले गर्व गर्नुपर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*