बहालवाला मन्त्रीलाई पूर्वमन्त्रीको ९ बुँदे सुझाव

बहालवाला मन्त्रीलाई पूर्वमन्त्रीको ९ बुँदे सुझाव
सुन्नुहोस्

पूर्वमन्त्री सुदन किरातीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलाई नौं वटा सुझाव दिएका छन् । 

नेकपा माओवादी केन्द्रका सांसदसमेत रहेका किरातीले आफू मन्त्री हुँदा देखेका, अनुभव गरेका र तयार पारेका कार्ययोजनाहरु अघि बढाउन आग्रह गर्दै लिखित सुझाव पेश गरेका हुन् । यसअघि सोही मन्त्रालयको जिम्मेवारी सम्हालेका उनले आफूले अघि सारेका योजनालाई निरन्तरता दिन मन्त्री तामाङको ध्यानाकर्षण पनि गराएका छन् । 

'प्रकृति र संस्कृतिको समायोजन गरी स्थानीय स्वाद र स्वामित्वसहित पर्यटनको विकास गर्नुपर्छ भन्नेमा मतैक्यता छ', ९ बुँदे सुझावको पृष्ठभूमिमा लेखिएको छ, 'यद्यपि नेपाली पर्यटनको विकासलाई तीव्रता दिन, पर्यटन क्षेत्रलाई अझै प्रभावकारी र अर्थतन्त्रको दह्रो खम्बा बनाउनका लागि सूत्र निर्माण गरेर मात्रै सम्भव हुने मेरो ठम्याई रहेको छ ।'

पूर्वमन्त्री किराँतीले नेपालको पर्यटन क्षेत्रको समग्र विकास गर्न दुई वटा सूत्रमा सूत्रबद्ध गर्न सकिने सुझाएका छन् । संघीय संस्कृति नीति यथाशीघ्र मन्त्रीपरिषद्बाट पारित गराउनुपर्ने, पर्यटन ऐन संशोधन, २०८० तत्काल संसदमा पठाई अघि बढाउनुपर्ने, अन्तर्राष्ट्रिय विमानस्थलहरु व्यवसायिक रुपले सञ्चालन गर्न तथा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पीपीपी मोडेलमा लैजानुपर्ने उनको सुझाव छ । 

त्यस्तै, वायु सेवा निगमको पुर्नसंरचना गर्दै करार व्यवस्थापनमा लैजानुपर्ने, दुर्गम क्षेत्रको विमानस्थलमा उड्ने साना, क्षेत्रीय विमानस्थलमा उड्ने मझौला र अन्तर्राष्ट्रिय उडान गर्ने ठूला जहाजहरु थप्ने प्रकिया अगाडि बढिसकेकोले निरन्तरता दिनुपर्ने पनि पत्रमा उल्लेख गरिएको छ । 

किरातीले हिन्दु, पर्यटन र रैथाने विश्वविद्यालय निर्माणको बाँकी काम अघि बढाउन, पशुपतिमा विद्युतीय निःशुल्क शव वहन गराउने कार्य अन्तिर चरणमा पुगेकोले तत्काल कार्यान्वयन गराउन, लुम्बिनीमा मायादेवी प्रसुति अस्पताल निर्माणको कामलाई अघि बढाउन र विश्व सम्पदा निर्माणको रुपमा अघिल्लो वर्ष प्रारम्भ गरिएको अभियानलाई निरन्तरता दिन पनि मन्त्री तामाङको ध्यानाकर्षण गराएका छन् ।

टिप्पणीहरू