एमाले अधिवेशनमा पूर्वमाओवादीको लफडा

सुन्नुहोस्

केही साताअघि सम्पन्न एमाले रुकुम पश्चिमको अधिवेशनमा लफडा भएको छ । अतिथि बनेर आएका एमाले केन्द्रीय नेताहरूले धेरै सम्झाइबुझाई गरेका कारण थप अप्रिय घटना भने हुन पाएन । द्वन्द्वकालमा हत्या गरिएका एमाले रुकुमका नेता यदु गौतमको कुरा उठाउँदा पूर्वमाओवादी नेताहरूले लफडा गरेका थिए । 

अधिवेशनमा माओवादीबाट प्रवेश गरेका र संस्थापन एमाले नेताहरूबीच दुई गुट देखिएको थियो । माओवादीबाट प्रवेश गरेकाहरूले अध्यक्षमा नारायण शाहलाई अगाडि सारेका थिए भने संस्थापनको तर्फबाट यसअघिकै अध्यक्ष नन्दराम देवकोटा उठेका थिए । जसमा अधिवेशनकै उद्घाटन सत्रमा नन्दराम देवकोटाले बोलेको विषय विवादित बन्न पुग्यो । 

उनले यदु गौतमलाई माओवादी आततायीले मारेको भए पनि अहिले माओवादीले उनैले अँगालेको जबजको छहारीमा आत्मसर्मपण गरिरहेको भनाइ राखेलगत्तै माओवादीबाट प्रवेश गरेकाहरूले विरोध जनाएका थिए । नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य रचना मल्ल, गंगाराम चनारा, शिव रसाइली र गणेश चिन्तनलगायतले यो भनाइबाट अपमान र आत्मसम्मानमा ठेस लागेको भन्दै अधिवेशन रोक्नेसम्मको प्रयास गरे । विगतको राजनीति र यदुको हत्याको विषय अब कोट्याइरहन नहुने, पूर्व माओवादी भनेर विभेद गर्न नहुनेदेखि आफूहरू आत्मसमर्पण गरेर नभई नेकपाको एकीकरणसँग जोडिएर सम्मानजनक रूपमा धु्रवीकरण भएको कुरा उनीहरुले उठाएका थिए । 

यी र यस्तै कारणले अधिवेशन लम्बिएर ३ दिनपछि मात्र समापन भएको थियो । केन्द्रबाट पूर्व माओवादी नेता तथा हाल एमाले कर्णाली प्रदेश इञ्चार्ज लेखराज भट्ट, माआवोदीबाटै प्रवेश गरेका हाल प्रतिनिधिसभा सांसद चन्द्रबहादुर विकलगायतलाई मञ्चमा देखेपछि माओवादीबाट प्रवेश गरेका नेता झन् हौसिएका थिए । 

प्रमुख अतिथिको रूपमा आएका एमाले उपाध्यक्ष युवराज ज्ञवालीसहितको छलफल र आत्मालोचनापछि विषय केही सामसुम भएको हो । पछि सर्वसम्मत रूपमा देवकोटाकै नेतृत्वमा नयाँ कार्यसमिति बनेर अधिवेशन सम्पन्न भयो । तर, माओवादीबाट प्रवेश गरेका तीन दर्जनभन्दा बढी नेता–कार्यकर्ता प्रमुख अतिथि बसेको खलंगास्थित होटलमा पुगेर अध्यक्ष देवकोटाले आफूहरूलाई अपमान गरेको विषयमा आत्मआलोचना नगरेसम्म अधिवेशन हुन नदिनेदेखि सामूहिक राजीनामा दिने धम्कीसमेत दिएका थिए ।

(साभार:जनआस्था साप्ताहिकबाट)
 

टिप्पणीहरू