दोषी कर्मचारी

दोषी कर्मचारी

सहकारीको पैसा झिकेर गृहमन्त्री रवि लामिछानेको खातामा जम्मा गरिदिने कर्मचारी रोशनी गुरुङ प्रहरी हिरासतमा छिन् । पत्रिकामा यही खबर छ । वास्तवमा अहिले गृहमन्त्री एवं रास्वपाका सर्वशक्तिमान अध्यक्ष श्री रवि लामिछानेका सम्बन्धमा जति पनि सहकारी काण्डहरू बाहिर आएका छन् त्यो जम्मैको कारण यिनै कर्मचारी हुन् ।

किनभने उनले त्यतिबेला सहकारीको पैसा निकालेर रवि लामिछानेको बैंक खातामा नहालेको भए यो काण्डै हुने थिएन । उनले पैसा हालेकै कारण यो सारा काण्ड बन्न गएको हो । त्यसैले दोष उनकै हो । बिचरा रवि लामिछानेलाई त के छ र ? उहाँले पैसा हालेको पनि होइन । हाल भनेको पनि होइन ।

आफ्नो खातामा कसले, किन, कहाँ, कुन बेला, कसरी, के कारण पैसा हालेको छ त्यो उहाँलाई थाहा हुने कुरा पनि होइन । कसैले आएर खातामा खुरुक्क पैसा हाल्छ भने त्यो त उहाँको दोष होइन नि, दोष त पैसा हाल्नेको हो । अब पैसा हाल्ने अरु अनि दोषचाहिँ उहाँलाई ?

सबैलाई थाहा भएकै कुरा हो, पैसा हाल्ने मूल मान्छे रोशनी गुरुङ थिइन् । भौचरमा उनकै नाम छ । भनिन्छ, उनी सुप्रिम सरकारीकी सामान्य कर्मचारी हुन् । एउटी सामान्य कर्मचारी भएर यति असामान्य पैसा हाल्न पाइन्छ ? त्यसैले कारवाही त उनैलाई गर्ने हो । त्यसमाथि अहिले रवि त गृहमन्त्री हुनुहुन्छ । उहाँले जसलाई चाह्यो कारवाही उसैलाई हुन्छ । कुरा बुझ्या हो नि आईजी वसन्त कुँवर साहेब !

टिप्पणीहरू