‘बा’ भन्दै बाझाबाझ

‘बा’ भन्दै बाझाबाझ

एमालेमा मात्र होइन ‘बा’ का छोराछोरीहरूको पेलान माओवादी केन्द्रतिर पनि देखिन थालेको छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष तथा प्रचण्डलाई ‘बा’नाता लगाउने साहित्यकारका कारण नेपाल प्रज्ञा प्रतिष्ठानतिर पानी बाराबारको स्थिति छ ।

भाषा, साहित्यका श्रीवृद्धिका लागि खोलिएको नेपाल प्रज्ञा प्रतिष्ठान । जहाँ ११ जनाको प्रज्ञापरिषद् छ । परिषद्मा ३ महिला छन् । बाबा बस्नेत, डा.कौशिला रिसाल र हंशवती कुर्मी । यी तीन बीच नै अहिले पानी बाराबार छ । एकले अर्काेलाई देख्दा मुन्टो बटारेर हिँड्ने, एक प्रज्ञा परिषद् सदस्यको विभागले आयोजना गरेको कार्यक्रममा अर्काे महिला प्रज्ञापरिषद् सदस्यले बहिष्कार गर्ने ।

जहाँ प्रमुख, साहित्य (पद्य–काव्य) विभागको प्रमुख छिन् बाबा बस्नेत, सामाजिक शास्त्र विभागको प्रमुख डा कौशिला र हंशावतीचाहिँ अनुवाद विभागको प्रमुख छिन् । यी एउटा विभागले आयोजना गरेको कार्यक्रम अर्काे विभागका प्रमुख रहेका महिला बहिष्कार गर्ने गरेको प्रज्ञा प्रतिष्ठान स्रोतले जनाएको छ । यसो हुनुको खास कारण चाहिँ, बाबाको आनीबानी प्रमुख हो भनिन्छ ।

बाबा प्रधानमन्त्री प्रचण्डलाई बाबाकै रूपमा सम्बोधन गर्ने साहित्यकार हुन् । प्रचण्डका आशीर्वादका कारण उनले अरु प्रज्ञापरिषद् सदस्यलाई मान्छे नै नगन्ने गरेको एकेडेमी स्रोतले जनाएको छ । केही अगाडि पोखरामा आयोजना गरिएको एउटा कार्यक्रममा सँगै रहेको प्रज्ञापरिषद् सदस्य डा कौशिलालाई आसन ग्रहण नगराएका कारण बाबा र कौशिलाको सम्बन्ध चिसिएको भन्दै छन्, प्रतिष्ठानतिर । यो विषयमा प्रज्ञापरिषद् सदस्य बाबासँग जिज्ञासा राख्न खोज्दा सम्पर्कमा आइनन् ।

टिप्पणीहरू