खरिदार सरकारी जग्गा हडप्ने, सडकमा उपाध्यक्षको बदमासी

खरिदार सरकारी जग्गा हडप्ने, सडकमा उपाध्यक्षको बदमासी

महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन भ्रष्टाचारमा तानिएका छन् । उनीसहित छ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको छ । 

उपाध्यक्ष खातुनले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख महेन्द्रकुमार मण्डल, असिस्टेन्ट सब–इञ्जिनियर संजयकुमार मंडल र जानकी कन्स्ट्रक्सनका प्रोप्राइटर राकेशकुमार रायसँग मिलेर सडक आयोजनामा भ्रस्टाचार गरेको आयोगको दाबी छ । 

उनीहरुको मिलेमतोमा आर्थिक वर्ष २०७९–०८० मा एकडारा गाउँपालिका–१, अन्तर्गतका स–साना सडक ढलानका लागि विनियोजित रकमबाट गुणस्तरहीन कार्य गरी रकम हिनामिना गरेको दाबीसहित अख्तियारले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

सडक ढलान योजनाको खरिद प्रक्रियामा तयार गरिएको गुणस्तरसम्बन्धी मापदण्ड पालना नगरी सम्झौताबमोजिमको काम सम्पन्न गरेको गलत प्रतिवेदन बनाएर उपाध्यक्षले आठ लाख ६५ हजार १४५ रुपैयाँ भुक्तानी दिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ । उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम आठ लाख ६५ हजार १४५ रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको माग गरिएको छ । 

मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध पनि आजै भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले उनीसहित नापी कार्यालयका तत्कालिन अमिन टंकप्रसाद निरौला, खुम्बु पासाङल्हामु गाउँपालिका–१ का बुद्धमाया थापा मगर, उनका नाती रामकृष्ण थापा मगरविरुद्ध मुद्दा दर्ता गरेको हो । 

त्यस्तै, फुर गेल्जे शेर्पा, ङिम याङजी शेर्पा, ल्हाक्पा दिकी शेर्पा, पेम्बा शेर्पा, ल्हाक्पा गेल्जेन शेर्पा, शर्मिला राई र स्वर्गीय मिङमा ल्हामु शेर्पालाई पनि प्रतिवादी कायम गरिएको छ । 

उनीहरुले आपसी मिलेमतोमा तत्कालिन श्री ५ सरकारको नाममा कायम भएको सोलुखुम्बुको साविक जुभिङ्ग गाविस–५ को कित्ता नम्बर ६२०, ६२२ र ६२४ को क्रमशः तीन हजार एक सय, दुई हजार पाँच सय र चार हजार सात सय वर्गमिटर जग्गा बदनियतपूर्वक गैरकानूनी तवरले व्यक्तिको नाममा दर्ता गराएको अख्तियारको आरोप छ । 

आरोप पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम छ लाख १८ हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबी गरिएको छ ।

टिप्पणीहरू