जहाँ गुराँस रातो मात्र फुल्दैन

जहाँ गुराँस रातो मात्र फुल्दैन
सुन्नुहोस्

-आलोककुमार शाह 

चुनु गुरुङको एउटा गीत छ–

‘तिम्रो निम्ति बरु यो ज्यान गए गैजाला
तिमीसँग गहिरो माया बस्यो जलजला’

गायक कुलेन्द्र विश्वकर्माको पनि अर्को गीत छ–
‘माया बस्न एकैछिन काफी छ जलजला
छहराले नबोलाउ, तिर्खाएको मन एतै अल्झेला’

अभिनेत्री रेखा थापाको झन् एउटा चलचित्रको नाम नै छ, ‘जलजला’ । कलाका विभिन्न आयामहरुमा प्रयोग भइरहने विम्ब, शब्द र भूगोल हो– जलजला । तर, यो कहाँ पर्छ ? यसको महत्व के हो ? यो कसरी चर्चामा आयो ? यसबारे भने कमैलाई थाहा छ । 

वास्तवमा जलजला नेपालको पश्चिमी जिल्ला रोल्पामा पर्ने ऐतिहासिक पहाड हो । जुन थवाङ (गाउँपालिका)मा पर्छ । ०३८ सालको जनमत संग्रहमा मतपेटिका रित्तै फर्किएपछि थवाङ पहिलो पटक केन्द्रीय राजनीतिको आँखामा परेको थियो । त्यसयता थवाङले नयाँ परिचय पाया, ‘विद्रोही गाउँ’ । त्यतिबेला जलजला पहाड भने खासै चर्चामा आएन । 

०५२ साल फागुन १ गते माओवादीले जनयुद्धको घोषणा गरेपछि जलजलाले पनि राम्रै चर्चा पायो । कारण हो, जनयुद्धलाई नेतृत्व गर्ने पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, मोहन वैद्य, वर्षमान पुन, रामबहादुर थापा, कृष्णबहादुर महरा, नेत्रविक्रम चन्द, नन्दकिशोर पुनलगायतले त्यतिबेला थवाङ र जलजलासँग हिमचिम बढाए । 

त्यतिबेला उनीहरुले यही भूगोलमा पार्टी निर्माण, सैन्य तालिम र आक्रमणका योजनाहरु तयार गरे । यसैकारण अहिले थवाङ र जलजलालाई ‘युद्ध पर्यटन’को गन्तव्य मानिन्छ । 

त्यसो त, जलजलाको पौराणिक नाम ‘गामा’ हो । समुद्री सतहबाट ३२९५ मिटर उचाइमा रहेको जलजला करिव ४७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यहाँबाट सिस्ने, पुथा, धवलागिरी, नीलगिरी, अन्नपूर्ण, माछापुच्छ््रे हिमालको दृश्य देख्न सकिन्छ । 

यहाँ सतुवा, पदमचाल, पाँचऔंले, चिराइतो, सुनगाभा, सुगन्धवाल, सुनाखरी, समायो, चुत्रो, गरेली फूल, दालचिनी, तेजपात, बोजो, कचुर, पुदिना, टिमुर, सिल्टिमुर, धम्पे, ढुंगेफूल लगायतका जडीबुटीसमेत पाइन्छ ।

यहाँ करिब तीन हजार प्रकारका फूल फुल्छन् । तीमध्ये १३ प्रजातिका त गुराँस मात्र छन् । यहाँ फरक–फरक रङका गुराँसहरु फुल्ने गरेको पाइन्छ । कहिलेकाँही फूलहरुको अत्यधिक सुगन्धले पर्यटकहरु लठ्ठिएका उदाहरण पनि छन् ।

सोही जलजला र थाप्का  क्षेत्रमा फुलेका गुराँसका केही दृश्यहरु हेरौँ :

 

टिप्पणीहरू