‘रवि र निकिताले बिहे खर्च लगेको, ढाकाले त्यो ऋण तिरेर सांसद बनेको’

‘रवि र निकिताले बिहे खर्च लगेको, ढाकाले त्यो ऋण तिरेर सांसद बनेको’
सुन्नुहोस्

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी कान्छी पत्नी निकिता पौडेलले आफू उपाध्यक्ष रहेको राजधानीको सत्य साई सहकारीबाट बिना धितो ५० लाख रुपैयाँ ऋण लिएको बलियो तथ्य खुलेको छ । सहकारीका तत्कालीन अध्यक्ष भरत जंगमले नै उक्त कुरा स्वीकारेका छन् ।

सहकारीको नियमानुसार पदाधिकारीले त्यसरी ऋण लिन पाईंदैन । पूर्व पतिलाई छाडेर नयाँ श्रीमान् रविसँग विवाह गर्न पर्याप्त रकम नभएपछि निकिताले उपाध्यक्ष बनेर ऋण लिने उपाय अपनाएको अब जगजाहेर भइसकेको छ । शाही शासनकालमा चर्कैसँग भ्रष्टाचारविरोधी अभियान चलाएर चर्चित उनै जंगमले त्यो कुराको अहिले खुलासा गरेका हुन् ।

‘ऋण निकिताले नै बुझेकी हुन् । तर पछि ऋण तिरेको ढाकाकुमारले हो । ढाकाकुमार कहिल्यै देखा परेनन् । तिर्ने बेलामा पनि निकिता र रवि दुबैजना आएका थिए ।’

ग्यालेक्सी फोर के टेलिभिजनमा गरिएको सहकारीको रकम लगानीबारे चर्चा हुन थालेपछि तीन वर्षपश्चात् सत्य साईबाट पनि क्लिन चिट लिन निकिताले उपाध्यक्ष छाडेको तथ्य खुलिसकेको छ । २०७६ देखि २०७९ सालसम्म उक्त सहकारीमा आवद्ध उनको राजीनामा गत असारमा स्वीकृत भएको पत्र अहिले आएर बल्ल सफाइका रुपमा पेश गरिनु आफैंमा अचम्मको कुरा हो । त्यहाँ काठमाडौं महानगरपालिकाले पीडितहरुको उजुरीका आधारमा गतसाता छापा मारेको थियो ।

ऋण लिएको दुई वर्षपछि समानुपातिक सांसद बनेका डा.ढाकाकुमार श्रेष्ठमार्फत् साँवा–ब्याजसहित करिब ७५ लाख सहकारीलाई नै फिर्ता गरिएकोमा चित्त दुखाउनेमध्येका हुन् भरत जङ्गम । ‘पैसा पाउने, सांसद हुने र पति पाउने उनीहरू, दुःख पाउने म !’ भन्दै भरतले जनआस्थासँगको कुराकानीमा धेरै दुःखेसो पोखेका छन् ।

‘निकिताले फोनमा कुरा गर्छिन्, रविले गर्दैन । एक वर्षअघि निकिता मेरै अफिसमा आएकी थिइन् । रविले उनी आउनुअघि फोनमा कुरा गरेका थिए । निकिताको राजीनामा स्वीकृत नभएकाले होला ‘मलाई दुःख दिने बुबा ?’ भने  । त्यसपछि निकिता उपाध्यक्षबाट बाहिरिएकी हुन् ।’

जंगमसँगको कुराकानी र सहकारीको पछिल्लो अवस्थाले गम्भीर प्रश्नहरु उब्जाएको छ । सहकारी ऐन र सहकारी विनियमावली अनुसार साधारण सभाबाट सहकारी संस्थाको सञ्चालक समिति र लेखा समिति बन्दछ । जुन सभाले सञ्चालक समिति बनाउँछ उसले नै राजीनामा स्वीकृत गर्छ । अध्यक्षले उपाध्यक्ष बनाउन मन लागेको दिन उपाध्यक्ष र राजीनामा दिँदा स्वीकृत हुँदैन । अध्यक्षले चाहेर हर्जाना मिनाहा गर्ने कुरा असम्भव हुन्छ । एकाएक सहकारी अध्यक्षविहीन वा परिवर्तन कसरी हुन्छ ? सञ्चालक समितिका अन्य पदाधिकारी र समितिहरु कहाँ छन् ? किन साधारण सभा नगरेको ? भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने भएको छ । 

प्रस्तुत छ उनीसँगको कुराकानी :

५० लाख ऋण लिने निकिता,तिर्ने ढाकाकुमार भन्छन् नि ?

-हो भन्या । 

निकिताले रविसँगको दोेस्रो विवाहका लागि ऋणको जोहो गरेकी हुन् ?

-हो,लगभग कुरो त्यही हो । उनले ऋण लिएकै हुन् । तर त्यो रकम कहाँ खर्च गरे,कसलाई तिरे,के के गरे भनेर डिटेल जान्ने कुरो भएन । ऋण निकिताले नै बुझेकी हुन् । तर पछि ऋण तिरेको ढाकाकुमारले हो । ढाकाकुमार कहिल्यै देखा परेनन् । तिर्ने बेलामा पनि निकिता र रवि दुबै जना आएका थिए ।रवि र निकिताले चेकबाट बुझाएका थिए कि नगदबाट भन्ने ठ्याक्कै याद भएन । धेरै अघिको कुरो हो । तर तिर्न आफैँ आएका थिए । ढाकाकुमारले तिरिदिएको भनिन्थ्यो ।

निकिताले सहकारीसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएकी छन् । कुरो के हो ?

-सहकारीका व्यवस्थापक दिलबहादुरले नै भनेका छन् दुई वर्षअघि राजीनामा दिएको र त्यो राजीनामा लामो समयपछि स्वीकृत भएको हो भनेर । यतिखेर म, निकितालगायत धेरैजना उक्त सहकारीमा छैनौं । त्यतिबेला उनी उपाध्यक्ष थिइन् ।

संस्था डुबाउनेमा तपाईंको नाम पनि जोडिएको छ नि ?

-सहकारीमा उल्टै मेरो ८० लाख फसेको छ । मेरो सोही रकम फिर्ता गर्ने कुरो उठाएपछि नै त्यहाँभित्रको बदमासी पर्दाफास भएको हो । अहिले सहकारी लगभग बन्द अवस्थामा छ । स्टाफ छन् तर बन्द छ । अलि अलि सकेको उठाउँदै सानो सानो बचत रकम फिर्ता गरिएको छ । 
२ करोड २२ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा सिआइबीले रामहरि अधिकारी,शंकर उपाध्याय,जनक गौतमविरुद्ध मुद्दा चलाएको छ । शंकर सचिव हुन् । सहकारी बिगारेकै यो फटाहा ग्रुपले हो ।

सबैभन्दा धेरै रकम डुबाउने हाइ प्रोफाइलमा को को छन् ? 

-पीडित हाइ प्राेफाइल भनेको म मात्रै हुँ । 

निकिता पदमा हुँदाको अपचलन र कमजोरीको जिम्मेवारीे लिन पर्दैन ? 

-किन नपर्नु ! लाज भए पर्छ । पदमा रहँदाको अन्य कमीकमजोरीको जिम्मेवारी लिनैपर्छ । म स्वयम् ८० लाख फसाएर पूर्व अध्यक्षको जिम्मेवारीमा बाँधिएको छु । तर,मैले पदाधिकारी भएर ऋणचाहिँ  लिएको छैन ।
भ्रष्टाचार विरोधी अभियन्ता अहिले यो लफडामा परेको छु । भोलिका दिनमा छानबिनपछि सबै वास्तविकता खुल्नेमा ढुक्क छु ।

सहकारीको सदस्य नै नबनेर ऋण लिन सकिन्छ ?

-निकिता ऋण लिने शर्तमा उपाध्यक्ष बनेकी हुन् । पाँच सात हजार रुपैयाँको सेयर हालेर सदस्य बनिन् । लिएको लोन जसो तसो तिरिन् । उपाध्यक्ष भएर लोन लिनु गैरकानुनी हो । 

रवि दम्पतीसँग सम्पर्क हुन्छ कि हुँदैन अचेल ?

-निकिताले फोनमा कुरा गर्छिन्, रविले गर्दैन । एक वर्षअघि निकिता मेरै अफिसमा आएकी थिइन् । रविले उनी आउनुअघि फोनमा कुरा गरेका थिए । निकिताको राजीनामा स्वीकृत नभएकाले होला ‘मलाई दुःख दिने बुबा ?’ भने  । त्यसपछि निकिता उपाध्यक्षबाट बाहिरिएकी हुन् ।

टिप्पणीहरू