इरानद्वारा इजरायलमाथि भीषण आक्रमण, नेपालीलाई घरभित्रै बस्न नेपाली दूतावासको आग्रह

इरानद्वारा इजरायलमाथि भीषण आक्रमण, नेपालीलाई घरभित्रै बस्न नेपाली दूतावासको आग्रह
सुन्नुहोस्

इजरायलस्थित नेपाली राजदूतावासले अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन त्यहाँ रहेका नेपालीलाई आग्रह गरेको छ । इजरायलमाथि इरानी हमला शुरु भएपछि दूतावासले सतर्क रहन सूचित गराएको बताइएको छ ।

दूतावासले स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाको बारेमा जानकार रहन, आफ्नो सुरक्षामा विशेष ध्यान दिन र सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपास रहन सल्लाह दिएको छ ।

‘आवश्यक सुरक्षाका लागि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाका बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं’, सूचनामा उल्लेख छ । 

त्यस्तै, कुनै जानकारी चाहिएमा वा अप्ठेरो परेमा दूतावासका द्वितीय सचिव कुमारबहादुर श्रेष्ठको फोन नम्बर ०५२८२८९३०० वा सहचारी सञ्जयकुमार साहको फोन नम्बर ०५४५५८२०७७ मा सम्पर्क गर्न जानकारी दिइएको छ । 

इरानी हमला शुरु भएपछि हालै इजरायली होम फ्रन्ट कमाण्डले सर्वसाधारणका लागि नयाँ निर्देशनहरु जारी गरेको छ । भोलि राति ११ बजेसम्म शैक्षिक गतिविधिमा रोक लगाइएको छ भने ठूला स्तरको सभा–भेला नगर्न भनिएको छ ।

इजरायली सेनाका अनुसार इरानले दुई सयभन्दा बढी ड्रोन र मिसाइल प्रहार गरिसकेको छ ।
 

टिप्पणीहरू