ठेगाना नखुलेका लामिछानेको तलब कति ?

ठेगाना नखुलेका लामिछानेको तलब कति ?
सुन्नुहोस्

झुटो र असत्य कुरा पनि सयौं पटक दोहोर्‍याएपछि सत्य बनाउन सकिन्छ भन्ने गोयवल्सको मान्यतामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने खरो उत्रिएका छन् ।

ग्लोबल आईएमई बैंकबाट त्यो एक दिनमा एक करोड ८० लाख रूपैयाँ नलिएको बैंकको पत्र देखाउनसक्ने उनले वर्षभरिको बैंक स्टेटमेन्ट, आफ्नो सम्पत्ति विवरण र जागिरे हुँदाको तलब र खर्चको विवरण भने देखाएका छैनन् । स्पष्ट वतन नखुलेको भनी बुटवलबाट उम्काइएका रवि लामिछाने पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम ऋण तथा काठमाडौंको सुवर्णलक्ष्मी बचत सहकारी संस्थालगायत बैंकमा करोडौं रकम सदस्य नै नभए पनि ऋणीका रूपमा देखिएका थुप्रै प्रमाण छन् । 

ग्लोबलको पत्र सार्वजनिक गर्न सक्ने हैसियत भएका उनले ग्यालेक्सी फोर के, न्युज–२४ र नेपाल टेलिभिजनमा कार्यक्रम सञ्चालन गरेवापत लिएको तलब र खर्चको हिसाबकिताब देखाएको खै ? उनले यी संस्थाहरूमा काम गरेबापत लिएको तलब र त्यसबापत तिरेको कर कति ? अमेरिकाको विभिन्न अदालतमा ७÷८ हजार डलर तिर्न नसकेर खेपेका आधा दर्जन लेनदेनका मुद्दाहरू एकातिर छन् भने नेपाल बसेपछि करोडौं सम्पत्ति आर्जन गरेका छन् ।

यी सबै सम्पत्तिका स्रोत उनले नेपालमा अमेरिकी नागरिक हुँदाहुँदै अवैध काम गरेर कमाएका रकम हुन् ? सम्पत्ति शुद्धिकरण, अख्तियारलगायत भ्रष्टाचार निवारण गर्ने संस्थाको ध्यान खै यतातिर गएको ? प्रहरी प्रशासनले गर्ने सहकारी ठगीका छानबिनमा वतन स्पष्ट नखुलेका ‘रवि लामिछाने’ मात्रै भेटिने गरेका छन् । विधिविज्ञानलगायत विविध परीक्षक संस्थाको बोसका रुपमा जिम्मेवारी प्राप्त उनले खै त आफू ती सहकारीमा संलग्न ‘रवि लामिछाने’ हैन भन्न सकेको ? नक्कली रविलाई पक्रन सकेको ?

लामिछानेले केही बैंकबाट ऋण लिएको र तिरेर चोखिएको दाबी गरे पनि वार्षिक आम्दानी खर्चको बैंक सार्वजनिक गर्न सकेका छैनन् । उनको अहिलेको सम्पत्ति र वास्तविक कमाइलाई तुलना गर्दा सोझै सत्यतथ्यको नजिक पुग्न सकिन्छ । तर यसका लागि उनी तयार छैनन् । पछि त्यहाँको व्यवस्थापन हेरेकी चारु चड्डाका अनुसार ग्यालेक्सी टेलिभिजनमा काम गर्दा लामिछानेले प्रतिमहिना ८ लाख रूपैयाँ तलब लिन्थे ? सो रकम बराबर कति रकम करबापत तिरेर राज्यलाई योगदान पुर्‍याए ? अहिले सांसद हुँदा आयकर र सामाजिक सुरक्षा करलगायतका करकट्टी गरी तलव पाउने गरेजस्तै ग्यालेक्सी र न्युज २४ को आम्दानीबाट सरकारलाई कर बुझाइयो कि बुझाइएन ? कि यस मामिलामा पनि ‘हुँदै हैन’ भन्ने चर्को राग हो ? 

– वीरभद्र जोशी, कञ्चनपुर

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू