बाधैबाधाबीचबाट बढेको प्रेमबन्धन

राजेन्द्र स्थापित

सत्यजित रे (राय) हिन्दी चलचित्र जगतका एक मात्र त्यस्ता धरोहर हुन्, जो पद्मश्री, पद्मभुषण, भारत रत्न, ओस्कार अवार्ड, दादासाहेब फाल्के पुरस्कारलगायत ३२ पटक राष्ट्रिय फिल्म पुरस्कार जित्न सफल भए । चलचित्रसम्बन्धी १ सय ३४ पुरस्कार पाए । युगोस्लाभिया, फ्रान्स, सोभियत संघ र बेलायत सरकारले दिने उच्च कोटिको सम्मान लिए । म्याग्सेसे पुरस्कार जिते । दर्जनौं विश्वविद्यालयले मानार्थ विद्यावारिधि दिए । सत्यजितलाई आजसम्मकै महान् चलचित्र निर्माता मानिन्छ । उनले चलचित्र निर्देशन र निर्माण गरे, कथा, पटकथा लेखे, गीत लेखे र संगीत भरे । ३६ वटा चलचित्र निर्देशन गरे ।

दुईवटा उपन्यास लेखे– फेलुदा र प्रोफेसर सोन्कू । फेलुदा जासुसी उपन्यास हो भने प्रोफेसर सोन्कू विज्ञानमा आधारित । ललितकला उनको शोख । युवावस्थामा एउटा वृत्तचित्र बनाए– ‘दि इनर आइ ।’ त्यसपछि विज्ञापन एजेन्सीमा काम थाले । मासिक ८० भारु पाउँथे । विज्ञापनको डिजाइन गर्थे । पछि प्रेसमा काम थाले । दर्जनौं पुस्तकको मुखपृष्ठ र भित्री चित्रहरु सिर्जना गरे । चिदानन्द दासहरुसँग मिलेर सन् १९४७ मा कलकत्तामा ‘चलचित्र समाज’गठन गरे । त्यसबेला उमेर थियो २६ वर्ष ।

बिजोया रे सत्यजितभन्दा चार वर्ष जेठी । धेरै नजिकको नातेदार, त्यसैले सत्यजितकी दिदी । सँगसँगै एउटै घरमा हुर्किए । तर, जब दुवै युवावस्थामा पुगे, अझ भनौं सत्यजित १९ का र बिजोया २३ की भइन्, एकअर्काप्रति आकर्षित भए । सँगै बसेर प्रेमका गीतहरु सुन्न थाले । बिजोया प्रेमले सत्यजितलाई मणिक भनेर बोलाउँथिन् । दुवै प्रेममा यतिधेरै डुबे कि छुट्टिनै नसक्ने भए तर दुवैलाई थाहा थियो– बिहे सम्भव छैन । एक त बिजोया उमेरले जेठी, अर्को दुवैको नाता यति नजिकको कि समाजले बिहेलाई स्वीकार्ने सम्भावनै थिएन । त्यसमाथि दुवैका परिवार यसको खिलाफमा । त्यसैले प्रण गरे कि अरु कोहीसित बिहे नगर्ने, बरु जस्तो चलेको छ, जिन्दगीभर त्यसरी नै चल्न दिने । दिनहुँ भेट्ने, मीठो गफ, प्रेमिल कुरा गर्दै जाने ।

बिजोया मीठो स्वरको धनी । परिवारका प्रायः सबै सदस्यमा गायनको प्रतिभा । उनी परिवारकी कान्छी छोरी । जेठी दिदी सतिदेवीपछि ख्यातिप्राप्त बंगाली गायिका नै बनिन् भने उनकी छोरी रुमा गुहालाई गायक किशोरकुमारले पत्नी बनाए । बिजोयाकी काकी कनकदास पनि चर्चित गायिका । वकिल बिजोया दास र पत्नी चारु चन्द्रदास कान्छी छोरी बिजोयालाई पेरिस पठाउन चाहन्थे । गायन कलादेखि अत्यन्त प्रभावित उनीहरु छोरीलाई सोप्रानो (एक किसिमको शास्त्रीय गायन, जुन हाइनोट्समा मात्र गाउन सकिन्छ) र पश्चिमी शास्त्रीय संगीतमा पारंगत देख्न चाहन्थे । त्यसबेला उनीहरु पटनामा बस्थे तर अचानक सन् १९३१ मा बिजोया दासको निधन भयो । चारु चार छोरीलाई लिएर कलकत्ता फर्किन् । त्यो बेला बिजोया १४ वर्षकी थिइन् । कलकत्ता फर्केको केही दिनमै उनको भेट भाइ सत्यजितसित भयो । सत्यजित १० वर्षका । पहिलो भेटपछिको केही दिनमै दुवै मिल्ने साथी भए । दुवै नजिकिनुको कारण थियो, चलचित्र हेर्न र पश्चिमी शास्त्रीय संगीत सुन्न मन पर्नु । बिजोयाले छात्राहरु मात्र पढ्ने जोगमायादेवी कलेजबाट स्नातक गरिन् र कमला छात्रा विद्यालयमा पढाउन थालिन् । पछि सरकारी कार्यालयमा अस्थायी नोकरी गरिन् । सत्यजितले पनि सन् १९४० मा अर्थशास्त्र विषयमा स्नातक गरे । सत्यजितका बाबु सुकुमार रायको निधन भइसकेको थियो । सत्यजितकी आमा सुप्रभा कवि रवीन्द्रनाथ टैगोरबाट निकै प्रभावित थिइन्, त्यसैले छोरालाई टैगोरले स्थापना गरेको शान्ति निकेतनअन्तर्गत कलेज भिस्भा भारती विश्वविद्यालयमा पढाउन चाहिन् । यथार्थमा सत्यजित त्यहाँ पढ्न चाहँदैनथे तर आमाको ढिपीका अगाडि केही सीप चलेन र ललितकला पढ्न थाले । उनले त्यहाँ प्रसिद्ध कलाकारद्वय नन्दलाल बोस र विनोदबिहारी मुखर्जीबाट कला सिके । उनले निर्माण गरेको पहिलो वृत्तचित्र ‘दि इनर आइ’ उनै गुरु मुखर्जीको जीवनी थियो ।

सन् १९४३ मा सत्यजितले अंग्रेजहरुले खोलेको विज्ञापन एजेन्सी डिजे केमरमा काम थाले । त्यसबखतसम्ममा सत्यजित र बिजोया गहिरो प्रेममा डुबिसकेका थिए । दुवै दिनहुँ भेट्थे, गफ गर्थे । त्यतिले पनि मन नबुझाएकाले छुट्टिँदा प्रेमपत्र आदानप्रदान गर्थे । कोठामा पुगेर दुवैले पत्र पढ्थे, प्रत्युत्तर तयार पार्थे । यद्यपि दुवै एउटै घरमा थिए । बिजोया संगीत र अभिनयमा रुचि राख्थिन् । प्रायः आफू सानो छँदा गुरु रवीन्द्रनाथ टैगोर आफैंले गाउने गीत गुन्गुनाउँथिन् । त्यसबाहेक सिम्फोनी, च्याम्बर, ओपेराको संगीत सुन्थिन् । विशेषतः मोजार्ट र विथोवेनको संगीत उनलाई मन पथ्र्यो । प्रायः समय सत्यजित सुसेल्थे अनि विजया त्यसैको लयमा गुन्गुनाउँथिन् । दुवै पश्चिमा संगीतका दिवाना नै थिए । पश्चिमी चलचित्र हेर्थे । सोही विषयमा विचार विमर्श गर्थे । विजया हलिउडमा निर्मित केटाकेटीको फिल्म हेर्थिन् । एडगर एलन पो र कानन डायलका जासुसी उपन्यास पढ्थिन् । प्रेममा आधारित चलचित्र हेर्थिन् ।

यसबीच बिजोयामा चलचित्र अभिनय गर्ने शोख चढ्यो । उनी जागिर छाडेर मुम्बईतर्फ लागिन् । उनले त्यहाँ शेषरक्षा, सन्ध्या, गाचाजस्ता दुई–चार चलचित्रमा काम गरिन् तर आशातित सफलता हासिल गर्न सकिनन् तर पनि कोसिस छाडिनन् । एकातिर क्यारियर, अर्कोतिर प्रेम । उनलाई मुम्बईमा बसिनसक्नु हुन्थ्यो र दगुरेर कलकत्ता पुग्थिन्, सत्यजितलाई भेट्न । एकजना कलकत्ता र अर्को मुम्बईमा हुँदा प्रेमपत्र आदानप्रदान हुन्थ्यो । सत्यजितले विभिन्न चर्चित पुस्तकको कभर डिजाइन गर्ने मौका पाए । बंगाली साहित्यकार विभूतिभुषण बन्दोपाध्यायको चर्चित उपन्यास ‘पाथेर पाञ्चाली’ को बाल संस्करणमा स्केच लेख्ने जिम्मा प्रकाशकले उनैलाई सुम्पिए । ‘पाथेर पाञ्चाली’ को बाल संस्करण ‘अम अंतिर भेपू’ मा काम गर्ने सिलसिलामा उक्त उपन्यास धेरैपटक पढे । उक्त उपन्यासबाट अत्यन्त प्रभावित बने ।

उता बिजोया र सत्यजितको प्रेम उत्कर्षमा पुगिसकेको थियो । नियमित भेटघाट र प्रेमपत्रको आदानप्रदानपछि दुवै अब त्यत्तिकै बस्न नसक्ने निश्कर्षमा पुगे । तर, बिहेको निम्ति दुवै परिवार तयार नहुने थाहा थियो । त्यसैले मुम्बईको मजिस्ट्रेट कार्यालयमा गई ‘दर्ता विवाह’ गर्ने सोच बनाए । यो कुरा बिजोयाकी आमाले थाहा पाइन् र बिहे नगर्न छोरीलाई आदेश दिइन् । तर प्रेममा पागल उनीहरू अडानमा टसमस भएनन् र परिवारजनलाई थाहै नदिई बिजोयाकी दिदीको घरमा पुगेर बिहे गरे । यो सन् १९४८ अक्टोबर २० को दिन थियो । बिहेको उपलक्ष्यमा घरैमा सानो पार्टीको आयोजना गरियो, जसमा चलचित्रजगतका कलाकारहरुलाई निमन्त्रणा दिइएको थियो । रात्रिभोजमा पृथ्वीराज कपुर पत्नीसहित सहभागी भए ।

बिहे भए पनि पति–पत्नीसरह सँगै बस्ने स्थिति थिएन । कलकत्ता फर्केपछि सत्यजितले पारिवारिक मित्र नोसो बाबुलाई सबै कुरा बताए । नोसोले सत्यजितकी आमाको जन्मदिन पारेर घरैमा एउटा कार्यक्रमको आयोजना गरिदिए । कार्यक्रमकै बीच सत्यजितले आमालाई सुनाए, ‘म बिजोयाबाहेक अरुसित बिहे गर्दिन ।’

सत्यजितकी आमाले छोराको प्रस्तावमा सहमति जनाउन धेरै समय लगाइन् र अन्त्यमा मञ्जुर गरिन् । करिब ७ महिनापछि सत्यजित र बिजोयाको दोस्रोपटक बिहे भयो । यसपटक सबै कार्यक्रम बंगाली परम्पराअनुरुप गरियो । त्यसबखत बिजोया निकै प्रसन्न थिइन् । उनले भनिन्, ‘मैले त सत्यजितलाई जीवनसाथी बनाउन सक्छु भन्ने कल्पनै गरेकी थिइनँ तर हामीले बिहे ग¥यौं, त्यो पनि एकपटक होइन, दुई–दुईपटक ।’

सत्यजित बिजोयालाई मोन्कु भन्थे । यसैबीच फ्रान्सिसी चलचित्र निर्माता जीन रेनर आफ्नो चलचित्र ‘दि रिभर’ छायांकनको सिलसिलामा कलकत्ता पुगे । सत्यजितले ‘पाथेर पञ्चाली’ को कहानी सुनाए र सोही उपन्यासमा आधारित चलचित्र निर्माण गर्ने इच्छा जाहेर गरे । जिनले टाउको मात्रै हल्लाए । सन् १९५० मा डिजे केमर कम्पनीले सत्यजितलाई ६ महिनाका लागि लण्डन पठायो । सत्यजितले त्यहाँका ९९ वटा चलचित्र हेरे । एकदिन तिनै जीन रेनरले उनलाई इटालियन निर्माता निर्देशकको चलचित्र ‘बाइसाइकल चोर’ देखाए । उक्त चलचित्र हेरेपछि उनको विचारधारामा ठूलो परिवर्तन आयो र ‘पार्थर पाञ्चाली’ बनाउने निधो गरी पटकथा लेख्न थाले । तर, चलचित्र क्षेत्रमा उनी नितान्त नयाँ थिए । कोही निर्माता उनको फिल्ममा लगानी गर्न तयार भएनन् । उनले बिजोयाको गहना धितो राखेर सन् १९५२ मा फिल्म निर्माण शुरु गरे । त्यो पैसाले सुटिङ धेरै दिन चलेन । छायांकन ठप्प भयो । सत्यजित लगानीकर्ता खोज्दै हिँड्न थाले । लगानीकर्ताले कथामा फेरबदल गर्ने भए लगानी गर्छु भन्थे तर सत्यजित त्यसो गर्न तयार भएनन् । उनी हरेस खाइसकेका थिए तर यसैबीच पश्चिम बंगालका तत्कालीन मुख्यमन्त्री विधानचन्द्र राय राज्य सरकारलाई उक्त फिल्मको निर्माता बनाउन तयार भए । त्यसपछि पुनः काम शुरु भएर बल्ल तीन वर्षपछि चलचित्र रिलिज भयो । चलचित्रलाई सबैले मन पराए । राष्ट्रिय पुरस्कारलगायत कूल १८ वटा पुरस्कार प्राप्त भयो । फ्रान्समा आयोजित कान्स चलचित्र महोत्सवले ‘सर्वश्रेष्ठ मानव डकुमेन्ट’ प्रदान ग¥यो । उनले एकपछि अर्को, अपुरी संसार, चारुलता, महानगर, सतरंजके खिलाडी, आगन्तुकजस्ता कालजयी चलचित्रहरु बनाउँदै गए ।

फिल्मी समीक्षक जापानका अकिरा कुरासोवा भन्छन्, ‘सत्यजित रेको चलचित्र कसैले हेरेको रहेनछ भने सम्झँदा हुन्छ, ऊ सूर्य र चन्द्रमाबिनाको संसारमा बाँचिरहेको छ ।’ भारतको चलचित्र जगतमा विश्व सिनेमाको अवधारणा भिœयाउने र भारतीय चलचित्रलाई आधुनिकतातर्फ डोहो¥याउने पहिलो व्यक्ति उनैलाई मानिन्छ । उनी चलचित्रमा महिला पात्रलाई प्रमुखता दिन्थे । गाउँले जीवनलाई सरल ढंगले प्रस्तुत गर्थे । रवीन्द्रनाथ टैगोर र विभूतिभूषबन्दोपाध्यायजस्ता उच्चस्तरीय साहित्यकारको उपन्यासलाई चलचित्रमा रुपान्तरण गरे । बिजोयाका अनुसार सन् १९६५ र १९६६ तिर सत्यजित एकजना महिलाको नजिक पुगे । बिजोया ती महिलाको नाउँ लिन चाहँदिनन् र त्यसलाई एउटा नराम्रो सपनाको रुपमा भुलिन् । सत्यजित सन् १९९२ मा थला परे । अवार्ड लिन जान असक्षम भएपछि ओस्कारको टोली उनको घरैमा पुरस्कार दिन आयो । यो अवार्ड थापेको केही दिनपछि नै ७२ वर्षको उमेरमा उनको निधन भयो । रियलमा सत्यजितलाई र रिलमा नायक उत्तमकुमारलाई ‘हिरो’ मान्ने र बंगलादेश स्वतन्त्रताको पक्षधर बिजोयाको निधन सन् २०१५ मा भयो । एक छोराकी आमा उनी ९८ वर्षकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*