विप्लवको आँट : प्रतिबन्धको वर्षगाँठ

नारायण नेपाल

माओवादीबाट विद्रोह गरेर नेकपा गठन गरेका विप्लव नेतृत्वको दल प्रतिबन्धित भएको एक वर्ष पुगेको छ । यो अवधिमा के पायो र के गुमायो प्रतिबन्धित नेकपाले ? यो आलेखमा समीक्षा गरिनेछ ।

राणा शासनपछि प्रजातन्त्रको उदयसँगै असन्तुष्ट मुक्ति सेनाले २००९ माघ ९ गते रामप्रसाद राईको नेतृत्वमा सिंहदरबार कब्जा गरे । त्यो विद्रोहको नेतृत्व डा. के आई सिंहले गरे पनि यसैलाई निहुँ बनाएर २००९ माघ ११ गते नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाइयो । त्यतिबेला प्रजातन्त्रवादी मातृका कोइराला नेतृत्वको सरकारमा समाजवादी बिपी कोइराला गृहमन्त्री थिए । २०१७ सालमा राजा महेन्द्रले शाही कूमार्फत सत्ता हत्याएपछि सबै दलमाथि प्रतिबन्ध लाग्यो ।

०४२ मा रामराजाप्रसाद सिंहको नाममा भएको बमकाण्डलाई आधार बनाएर पञ्चायती सत्ताले देशभर कम्युनिष्ट मास्ने अभियान चलायो । बम पड्काउने रामराजाप्रसाद तर शिकार कम्युनिष्ट समर्थक शिक्षक भए । त्यही समयमा शिक्षक दिलीप चौधरी बेपत्ता पारिए, साकेतचन्द मिश्र, पदम लामा, ईश्वर लामालगायतको हत्या गरियो । राज्य दमन र उकुस मुकुसको शिकार भएकाहरूले विद्रोहको रूपमा सेक्टर काण्ड २०४३ घटाए । नेपाली कम्युनिष्ट राजनीतिमा कमरेड मोहन वैद्य किरणको महामन्त्रीबाट राजीनामा नैतिकताको उच्चतम नमूना थियो । पाएको पद छाड्ने पहिलो नेपाली कम्युनिष्ट नेता किरणपछि उदय भयो कमरेड प्रचण्ड अर्थात् पुष्पकमल दाहालको ।

२०५२ बाट जनयुद्ध थालेको माओवादी २०५८ पछि प्रतिबन्धित आतंककारी बन्न पुग्यो । हिजो टाउकाको मूल्य तोकिने तिनै पूर्वमाओवादी नेताको आदेशमा अर्को विद्रोही चेत बोक्ने नेकपा प्रतिबन्धित भएको छ । जसको निमित्त कारण बनेको थियो एनसेल मुख्यालयमाथिको बमकाण्ड २०७५ । यो अवधिमा लगभग ४ हजार जनाले जेल यातना र मुद्दाको सामना गरेका छन् । १००० जनाले पार्टी परित्याग गरेको सरकारी दाबी छ । राज्यले कुमार पौडेल लगायत आधा दर्जन युवाको रगत बगाएको छ । उच्च नेताहरूको पलायन, कार्यकर्ताको आत्मसमर्पण र भागदौडको शृंखला एक तहसम्म चलेको छ । नेकपा छापामार युद्धको बाटोमा पुग्ला कि एकीकृत जनक्रान्तिको मोडल प्रयोग गर्ला, समयले बताउनेछ तर सीमित मानव जीवन र क्रान्तिका असीमित यात्राबारे कमरेड माओले लेखेको कविता उस्तै सान्दर्भिक छ आजका नेपाली माओवादीलाई

मानव जीवन सीमित छ
तर, क्रान्ति असीमित
मैले शिखरमा पुग्न कोसिस गरेको थिएँँ
विफल भएँ
तिमी शिखर चढ्न सक्नेछौ ।
तर विफल भयौ भने
शरीर छियाछिया हुनेछ
सेनाले साथ नदिए छापामार युद्ध लड्नु पर्नेछ ।
त्यसका लागि फेरि यातनाको पहाडमा
शरण लिन किन नपरोस् !

विद्रोहीहरूका लागि चिनियाँ जनक्रान्तिमा माओको लङमार्चको एक किस्सा प्रेरणादायी छ । अक्टोबर १९३४ मा पहिलो मोर्चाका कूल ८५००० सिपाही र सरकारी कर्मचारीसहित एक लाख जना कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रत्यक्ष नेतृत्वमा केन्द्रीय आधार क्षेत्रबाट लामो अभियानमा निस्केका थिए । जतिबेला दुश्मनका सेना ४ लाख थिए ।

नाकाबन्दीदेखि अनेकौं खतरा झेलेको यो सेना आफैंले खतरनाक अवस्थाको सामना गरेको थियो । पहिलो सेनाले १९३५ मा चुनाइ पुग्दा ६० प्रतिशत अर्थात् करिब १५ हजार सैनिक गुमायो । दुश्मनको चौथो घेरामा पर्ने अभियानलाई असफल पार्न चौथो मोर्चाका एक नेता चाङ क्वो थाओ अक्षम भएपछि पलायन र अवसरवादी नीति अनुसरण गरे । नक्कली पार्टी केन्द्र बनाएर पार्टीलाई गद्दारी गरे (लेखक ः छङ छाङ फङ ,लङमार्चमा अध्यक्ष माओको साथ) । नेपाली माओवादीको आधुनिक लङमार्चमा हिँडेका विप्लवले नेपाली चाङ क्वो थाओका घेराहरू तोड्लान् कि बुर्जवा हेडक्वाटरमा बम बार्डिङको ऐलान गर्लान् त्यो अग्निपरीक्षामै छ । हुन त रामायण कथामा वर्णित रावणको राज्यमा विभिषण पनि थियो र त रामराज्य बन्यो ।

०५२ सालताका अखिल (क्रान्तिकारी) को केन्द्रीय नेता रहेका विप्लव जनयुद्ध उत्कर्षमा पुग्दा रोल्पा, रुकुमसहितको आधार इलाकाको इञ्चार्ज थिए । उनले प्रचण्डको सचिवालयमा समेत लामो समय काम गरे । यस दौरान प्रचण्डलाई नजिकबाट नियालेका उनी माओवादी आन्दोलनमा प्रचण्डले धोका दिएको भन्दै अलग संगठन निर्माण र गतिविधि सञ्चालनमा छन् । सही राजनीतिका लागि ठूलो भीड होइन विचार र नीति नै सही चाहिन्छ ।

नेपालमा शान्ति प्रक्रिया शुरु भएपछि विभिन्न माओवादी नेता समस्या र गुटको संघर्षमै अल्मलिए । अमेरिकाले आफ्नो सुरक्षा प्रतिवेदनमा नेपालको घरेलु आतंकवाद भन्नु त्यही अर्थ हो । राजनीतिक समस्या साधनबाट होइन साध्यबाट हल हुनुपर्छ । तर, हतियारलाई मात्रै आधार बनाएर तर्क गर्ने हो भने मान्छेको दिमागमा भएको हतियार कसरी बिसाउने त ? त्यही भएर होला माओले भनेका थिए तिमीसँग साहस छ भने सब चिज हतियार बन्छ । अब कमरेडहरूले पनि ओखलमा टाउको हालेपछि मुसलको के डर मान्नु ? प्रतिबन्धले कि गर कि मर, कि यता कि उता, कि छेउ लाग कि हेलिन तयार हौ भन्ने सन्देश दिएको अवस्था हो यो । त्यसैको उपजस्वरुप प्रतिरोधात्मक संघर्ष, भागदौड र आत्मसमर्पणको लहर जारी छ । हिजो पञ्चायतमा जेल सार्ने बहाना भएपछि राज्यले सफाया गथ्र्यो, आजभोलि चाहिँ जेल सारेर थकाउने र गलाउने गरिएको छ ।

हिजो जे रोपियो त्यही फल्यो, हलेदो रोपेर बेसार फल्दैन दुवै पहेंलो हो तर सुनैचाहिँ होइन कि कामरेड ! गाउँतिर बाह्र वर्षमा खोला फर्किन्छन् भन्थे हजुरबाहरू तर कामरेडहरूचाहिँ ६ वर्षमा फर्किएको कथा गफगाफ अलि लोकले नपचाउने खालका छन् । हिजोको लालगद्धारको आरोप र आजको सत्ताको भजनमण्डली आची गर्नेलाई भन्दा हेर्नलाई लाजको पसारो । आजसम्म विद्रोही पार्टी नै बन्न नसकेको अवस्था हो भन्ने त प्रतिबन्धले छर्लंगै भयो । एकथान बम पचाउन नसक्नेहरूले अरू के पचाउलान् ? माओले भनेका थिए, आलोचनात्मक चेत भएका कार्यकर्ता पार्टीका पुँजी हुन् तर नेपालमा आलोचनात्मक चेतलाई बन्ध्याकरण गर्दै दुश्मन ठान्ने संस्कार छ । रचनात्मक आलोचना जरुरी छ तर निषेधात्मक शैली जरुरी छैन । नेकपाको आर्थिक अभियान र तल्लो तहमा भ्रष्टाचारले हैरान छ । रूपचन्द्र विष्टको भाषामा गद्दारी गर्ने अवसर नपाएर इमान्दार बनेका भातेहरू यहाँ धेरै छन् ।

नयाँबाटोमा हुने यात्रा अलमलको जात्रा नै हो, पक्कै पनि मूलबाटो पहिल्याउन समय लाग्न सक्छ । प्रतिबन्धले नेता, जनता र कार्यकर्ताको दूरी पक्कै बढेको छ, खुला संघर्षको मैदानमा उपस्थिति शून्य छ । आजको नेपाली समाज जुन प्रकार आर्थिक, सामाजिक र राजनीतिक भ्रष्टीकरणतर्फ जाँदै छ त्यसविरुद्ध एक सशक्त सामाजिक जागरण अभियान जरुरी थियो, त्यतातिर कमरेडहरूलाई उति जाँगर नचल्नुचाहिँ उदेकलाग्दो पक्ष हो ।

जनयुद्धताका एक माओवादी कार्यकर्ताले सिठी फुकेको भरमा सातगाउँ तह लगाउँथे, जनसत्ताको हैकम थियो । आज एउटा पुलिस आयो भने कामरेडहरू सातगाउँ दगुर्छन् । शहर र सामाजिक सञ्जालमा सूर्य थापाले जनसेनाका ब्रिगेडियरहरूलाई हकार्छन् र कमाण्डरहरू फेसबुकमा रोइलो गर्छन् । माक्र्सले भनेका थिए, इतिहासको पुनरावृत्ति एकपटक दुःखद र अर्को पटक मजाकको रूपमा हुन्छ, यो कुन घडी हो कमरेडहरू नै जानुन् । प्रतिरक्षात्मक लडाइँ हरेक सशस्त्र विद्रोहको काल हो भन्ने माओको ठहर थियो । लेनिनले दुईकदम पछाडि, एक कदम अगाडि भन्ने बहस किन छेडे होलान् ? त्यता पनि ध्यान दिने कि ? माओले आफैँसँग रहेका लिन प्याओलाई चिन्न साँस्कृतिक क्रान्तिकालसम्म आइपुग्नुपरेको थियो । आजको समाज र राजनीतिमा देखापरेका भ्रष्टीकरण, दलालीकरण र मजाकविरुद्ध विप्लवले नगरे कसै न कसैले जल्ने आँट गर्नुपथ्र्यो । त्यो नयाँ सामाजिक जागरण अभियानको रूपमा उदाउला कि फिरन्ते छापामार युद्ध हुँदै गोन्जालो पथतिर पुग्ला, समयले देखाउनेछ । निराशा र कुण्ठाभन्दा विद्रोही आशावाद नै सकारात्मक प्रेरणाको स्रोत हो । माओले भनेका थिए, सबै गुमाएको भए पनि भविष्य तिम्रो साथमा छ । लुटको साम्राज्यमा गुरुबाले रछ्यानमा मिल्काएको झण्डा उचाल्दै विद्रोह बोल्ने आँट र साहसको लागि कवि नाजिम हिक्मतको कवितांशसहित प्रतिबन्धको वर्षगाँठ मनाउन हार्दिक शुभकामना कमरेड विप्लवलाई !!

म जलिन भनँे
तिमी पनि जल्ने छैनौ
हामी कोही जलेनौँ भने
अँध्यारो रात कसरी हट्ला ?

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*