झण्डै सय किलो सुन यसरी आइपुग्यो विमानस्थल बाहिर

झण्डै सय किलो सुन यसरी आइपुग्यो विमानस्थल बाहिर

मंगलबार राति हङकङबाट क्याथे प्यसिफिकको उडानमा ल्याइएको कार्गोभित्र सुन रहेको सूचना हिजो बिहान मात्र सार्वजनिक हुन सक्यो । रातभर उक्त कार्गोबारे न भन्सार कार्यालय,न राजश्व न त प्रहरीले नै केही बताए ।

हालसम्मको प्रारम्भिक छानबिनअनुसार गाडी र स्कुटरको ब्रेक सुको खोलभित्र राखेर ल्याइएको एक सय केजी सुन काठमाडौं न्यूरोडका ब्यापारी दयाको हुनसक्ने आशंका प्रहरीको छ । दयाको पूरा विवरण खुलाइएको छैन ।

उक्त सुन सम्भवतः बैंकक,हङकङ,सिंगापुर र मलेसिया भिजिट भीसामा घुम्न गएका व्यक्तिलाई प्रयोग गरेर डलरमा किनी जम्मा गरिएको प्रहरीको आशंका छ । हिजो दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म कार्गोको हिसाब राफसाफ गरेर निस्केका तीन वटा भाडाको गाडीलाई सिनामंगलको चक्रपथ नजिकैबाट नियन्त्रणमा लिइएको थियो ।

ती सवारी साधनमा बा.१६ च ७७१९, बा. ६ च ४७५ र बा. २४ च १७०४ नम्बरका हुन् । ती सवारी साधन स्कुटरको स्पेयर पार्टस बोकेर बिजुली बजारतर्फ जाँदै थिए । अस्ति राति आएको कार्गो स्क्यान गर्ने जिम्मेवारी सरोज श्रेष्ठसहित दुई जनाको थियो । उनीहरुले सामानमा रिचेक लेखिदिएका थिए । 

कर्मचारीले रिचेक लेखेपछि सामान छुटाउन राजेन्द्र राई,पशुपति गुरुङ,सुमन निरौला र परिवर्तन राईको समूह भन्सार कार्यालयमा पुगेको थियो । एक सय केजी भनिए पनि सुनको यकिन परिमाण पत्ता लागिसकेको छैन ।

 

टिप्पणीहरू