रोकिएन तस्करी, पछिल्लो समय अर्बौंको

रोकिएन तस्करी, पछिल्लो समय अर्बौंको

सोमबार जिल्ला प्रहरी कार्यालय, बारा मातहतबाट खटिएको प्रहरी टोलीले झण्डै डेढ करोडको अवैध सामान बरामद गर्यो । जीतपुरसिमरा उपमहानगरपालिका–२१, अमलेखगञ्जमा दुई वटा ट्रक चेकजाँच गर्दा एक करोड ४६ लाख ७९ हजार ७६८ रुपैयाँ बराबरको भन्सार छलीका सामान प्रहरीले बरामद गरेको जनाइएको छ ।

वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेको ना. ५ ख ७९२७ र वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना. ८ ख २७१९ नम्बरको ट्रकलाई उक्त सामानसहित नियन्त्रणमा लिइएको थियो । दुवै ट्रकलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया पठाइएको छ ।

यसअघि प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना.६ ख ८०३२ नम्बरको ट्रक जीतपुरसिमरा उपमहानगर–१, पथलैया चोकस्थित चेकजाँच गर्दा झण्डै ५० लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको थियो । 

ट्रकले बिल भरपाईभन्दा बढी सामानको स्रोत खुलाउन नसकेपछि ४८ लाख ४९ हजार २१६ रुपैयाँ बराबरको हार्डवेयर पार्ट्स र अन्य खुद्रा सामान प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाहीका निम्ति सम्बन्धित राजस्व अनुसन्धान कार्यालयमा पठाएको हो ।   

जिल्ला प्रहरी कार्यालय, धनुषाअन्तर्गत जानकी चौकीबाट खटिएको टोलीले गत वैशाख १४ गते जनकपुरधामस्थित महावीर चोकबाट भन्सार छलीका सात लाखभन्दा बढी मूल्यको सामान बरामद गरेको थियो । भारतबाट आउँदै गरेको दुई वटा मोटरसाइकल चेकजाँच गर्दा भन्सार छलिएका सात लाख २० हजार ९५० रुपैयाँ बराबरको लत्ताकपडा र किराना सामान बरामद गरेर भन्सार कार्यालय जनकपुरमा बुझाएको प्रहरीले बताएको छ 

जिल्ला प्रहरी कार्यालय, रुपन्देही मातहतबाट खटिएको टोलीले पनि वैशाख १९  गते भारतबाट भन्सार छलेर ल्याइएका साढे चार लाख मूल्य बराबरको सामान बरामद गरेको थियो । लत्ताकपडा, औषधि, तरकारीलगायत विभिन्न सामान भन्सार कार्यालय भैरहवामा बुझाइएको हो ।

केही वर्षयता नेपालमा चोरी पैठारी वा भन्सार छलेर सामान ल्याउने क्रम बढ्दो छ । भारतलगायत विभिन्न मुलुकबाट भन्सार छलेर व्यापक मात्रामा सामान तस्करी हुन थालेको पाइएको छ । यसबाट करोडौंको राजस्व चुहावट भइरहेको सरकारी अधिकारीहरुको भनाइ छ । 

नेपाल–भारत खुला सीमाका कारण भन्सार बिन्दुबाहेकका स्थानबाट अनधिकृत रुपमा मालवस्तु ओसारपसार हुने गरेको छ । भारतसँगको सीमा क्षेत्रबाट हुने तस्करी झन् बढ्न थालेको पाइन्छ । खुला सीमानालाई व्यवस्थित गर्न नसक्दा तस्करहरुको मनोबल बढेको हो ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा (३) मा कुनै पनि व्यक्तिले राजस्व चुहावट गर्न नहुने व्यवस्था छ । 

सोही ऐनको दफा (४) मा कुनै पनि मालवस्तुको निकासी पैठारी गर्दा सम्बन्धित भन्सार कार्यालयमा प्रचलित कानूनबमोजिम तिर्नुपर्ने राजस्व नुबझाएमा राजस्व चुहावट गरेको मानिने उल्लेख छ । यस्तो कसुर गर्ने व्यक्तिलाई बिगोको शतप्रतिशत जरिवाना र एक महिनादेखि पाँच वर्षसम्म कैद सजाय हुने ऐनको दफा (२३) मा भनिएको छ । 

यस्तै, भन्सार ऐन, २०६४ को दफा (३८) कुनै व्यक्तिले मालवस्तुको प्रज्ञापनपत्र वा निस्सा पेश गर्न नसकेमा चोरी पैठारी वा चोरी निकासी गरेको मानिने उल्लेख छ । सोही ऐनको दफा (५७) मा त्यस्तो कसुर गर्नेउपर बिगोबमोजिम जरिवाना र एक महिनादेखि चार वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको छ । यद्यपि, कडा कानूनी व्यवस्थाका बाबजुद भन्सार छलेर सामान ल्याउने क्रम रोकिएको छैन । 

नौ महिनामा डेढ अर्बको तस्करी 

भन्सार छलेर, चोरी पैठारी वा तस्करी गरेर सामान भित्र्याउने क्रम बढेको नेपाल प्रहरीको तथ्याङ्कले नै देखाएको छ । 

प्रहरी हेडक्वार्टरको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को चैत मसान्तसम्म भन्सार छलेर ल्याइएका एक अर्ब ५३ करोड ९३ लाख १५ हजार २७५ रुपैयाँ बराबरको सामान बरामद गरिएको छ । 

पछिल्लो पाँच वर्ष (२०७५÷०७६ देखि ०७९÷०८०) को अवधिमा चार अर्ब १८ करोड ३० लाख ५१ हजार ९१९ रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको जनाइएको छ । गत वर्ष एक अर्ब ५३ करोड २६ लाख ६६ हजार ९५७ रुपैयाँ बराबरको त्यस्ता सामान बरामद भएको प्रहरीको भनाई छ ।

आर्थिक वर्ष २०७८÷०७९ मा ९६ करोड ९६ लाख २१ हजार ३२६ रुपैयाँ बराबरको भन्सार छलिएका सामान बरामद गरिएको थियो । आर्थिक वर्ष २०७७÷०७८ मा ८५ करोड ५५ लाख ५१ हजार ३१९ रुपैयाँ बराबरको तस्करीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

आर्थिक वर्ष २०७६÷०७७ र २०७५÷०७६ मा भने भन्सार छलेर ल्याइएका क्रमशः ६४ करोड १२ लाख ६१ हजार ६७० र १८ करोठ ३९ लाख ५० हजार ६४७ रुपैयाँ बराबरको सामान बरामद भएको देखिन आएको छ ।

सबैभन्दा बढी के तस्करी हुन्छ ? 

भारतलगायत विभिन्न मुलुकबाट भन्सार छलेर ल्याइएका विभिन्न सामानमध्ये सबैभन्दा धेरै लत्ताकपडा पाइएको छ । चालु आर्थिक वर्षको चैत महिनासम्म मात्र ६५ करोड ५५ लाख ११ हजार ९२ रुपैयाँ बराबरको अवैध लत्ताकपडा प्रहरीले बरामद गरेको छ । 

त्यस्तै, पछिल्लो पाँच वर्षमा ७४ करोड ४७ लाख ८५ हजार २४४ रुपैयाँ बराबरको भन्सार छलीका लत्ताकपडा बरामद गरिएको छ । तीमध्ये गत वर्ष ४७ करोड ५६ लाख ४० हजार ४९ रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरिएको थियो । 

यस्तै, आव २०७८÷०७९ मा २८ करोड २ लाख ४३ हजार २०२, ०७७÷०७८ मा १७ करोड ८२ लाख ४७ हजार ९५८, ०७६÷०७७ मा १३ करोड ५३ लाख ३५ हजार ७२४ र ०७५÷०७६ मा ५ करोड ८४ लाख ९८ हजार ३६५ रुपैयाँ बराबरको भन्सार छलेर ल्याइएका लत्ताकपडा प्रहरीले बरामद गरेको तथ्याङ्कमा उल्लेख छ । 

लत्ताकपडापछि सबैभन्दा धेरै सवारीसाधन र तिनका पार्टपूर्जा भन्सार छलेर ल्याइने गरेको छ । चालु आवको चैत मसान्तसम्म साढे ३६ करोडको सहित पछिल्लो पाँच वर्षमा एक अर्ब ७२ करोड ५७ लाख १९ हजार ४१३ रुपैयाँ बराबरको त्यस्ता सामान प्रहरीले बरामद गरेको जनाएको छ ।

किराना सामग्री पनि भन्सार छलेर ल्याउने गरिएको पाइन्छ । चालु आवको चैत महिनासम्म झण्डै ३१ करोडसहित विगत पाँच वर्षमा एक अर्ब ४० करोड ३ लाख ९६ हजार ३३६ रुपैयाँ बराबरको त्यस्ता सामग्री बरामद भएको छ । 

यता, गत साउनयता करिब ११ करोडको विद्युतीय सामग्री नियन्त्रणमा लिएकोमा पछिल्ला पाँच वर्षमा २६ करोड ७ लाख ३२ हजार ९८६ रुपैयाँ बराबरको बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी, ९१ करोड १४ लाख ३० हजार ६९ रुपैयाँ बराबरको अन्य अवैध सामान पनि प्रहरीले सोही अवधिमा बरामद गरेको छ । 

प्रहरीको सक्रियता र तस्करीका सामान बरामद

नेपाल प्रहरीका प्रवक्ता भीमप्रसाद ढकाल प्रहरी सक्रियताका कारण भन्सार छलीका सामान र तस्करीमा संलग्न व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेको बताउँछन् । उनले भने, ‘सीमा, नाकाहरुमा प्रहरीले निकै कडाई गर्दै आइरहेको छ । त्यहाँका हरेक गतिविधिमा निगरानी राखिएको छ । चोरी पैठारी गरी सामान ल्याउनेलाई प्रहरीले कारबाही गरिरहेको छ ।’

‘राजस्वसम्बन्धी काम प्रहरीको होइन । तैपनि हामीहरु यस्ता कार्य गरिरहेका छौं । राज्यलाई कुनै पनि किसिमको हानिनोक्सानी हुन नदिन हामी सचेत छौं,’ उनले थपे । प्रवक्ता ढकालका अनुसार भारतबाट भन्सार राजस्व छलेर नेपालमा सामान भित्र्याउने गरिएको छ । 

उनले खुला सीमानाका कारण भन्सार छलेर सामान ल्याउने क्रम बढिरहेको समेत बताए । अर्कोतर्फ, रातारात पैसा कमाउन पनि मानिसहरु यस्तो गैरकानूनी कार्यमा संलग्न हुने गरेको उनको भनाइ छ । 

के गरिन्छ बरामद सामान ? 

प्रवक्ता भीमप्रसाद ढकालका अनुसार प्रहरीद्वारा बरामद सामान आवश्यक कार्यालयका लागि सम्बन्धित भन्सार कार्यालय वा राजस्व अनुसन्धान कार्यालय पठाइन्छ । त्यसपछिको बाँकी काम सम्बन्धित निकायले गर्ने उनको भनाइ छ । भन्सार ऐन, २०६४ को दफा (४७) मा चोरी पैठारीका जफत र भन्सारबाट नछुटाएको मालवस्तु सरकारको हुने व्यवस्था छ । 

जसअनुसार भन्सारमा रहेको मालवस्तु सम्बन्धित धनीले तोकिएको अवधिभित्र महसुल तिरेर छुटाउनुपर्नेछ । त्यसो नगरेमा सम्बन्धित भन्सार अधिकृतले मालवस्तु जफत गर्ने र सरकारको हुने प्रावधान छ । 

यसरी जफत भएका मालवस्तु सरकार आफैंले प्रयोग गरेकोमा बाहेक सम्बन्धित भन्सार अधिकृतले तोकिएबमोजिम लिलाम बिक्री गर्न सकिने ऐनको दफा (५०) मा उल्लेख छ ।

टिप्पणीहरू