मुख्यमन्त्री जमकट्टेललाई नर्भिक लगियो

मुख्यमन्त्री जमकट्टेललाई नर्भिक लगियो
सुन्नुहोस्

रामेछाप जाँदै गर्दा बाटोमा बिरामी परेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई सैनिक हेलिकोप्टरमा राखेर काठमाडौँ ल्याइएको छ ।  

नेपाली सेनाको एनए-०५७ एमआई-१७ कलसाइन भएको हेलिकोप्टरमा केही बेरअघि उनलाई काठमाडौँ ल्याइएको हो । काठमाडौँबाट उद्धारका लागि गएको हेलिकोप्टर दिउँसो २ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको र मुख्यमन्त्री जमकट्टेललाई एम्बुलेन्समा राखेर साढे २ बजे थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको बताइएको छ । 

आज बिहान रामेछापको मन्थलीमा खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा जाँदै गर्दा उनी बाटैमा अस्वस्थ भएका थिए । उनलाई तत्काल सिन्धुलीको सुनकोशी गाउँपालिकाको खाल्टेस्थित आत्मीय अस्पतालमा उपचार गराइएको थियो । 

चिकित्सकले थप उपचारका लागि काठमाडौं लैजान रिफर गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले गृह मन्त्रालयलाई पत्र लेखेर हेलिकप्टर मगाएको थियो । गृहले रक्षा मन्त्रालयलाई आग्रह गरेबमोजिम सैनिक हेलिकोप्टर सिन्धुली पठाईएको हो ।
 

टिप्पणीहरू