पत्र लेखेर किन बाहिरिए पन्थी ?

पत्र लेखेर किन बाहिरिए पन्थी ?
सुन्नुहोस्

सर्वाेच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थीले वैशाख ९ गते मन्त्रिपरिषद् कार्यालयमा लगेर गुपचुप राजीनामा बुझाए । १३ गते स्वीकृत भयो । स्वीकृतिको पत्र पन्थीले आइतबार मात्रै बुझेका छन् । मुख्य रजिष्ट्रार रहेका लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि उक्त पदमा पुस १८ गते न्यायपरिषद्का सचिव देवेन्द्र ढकाल नियुक्त भएदेखिनै पन्थी असन्तुष्ट रहँदै आएका थिए । राजीनामा स्वीकृतिको पत्र बुझेलगत्तै कानुनव्यवसाय शुरु गरेका छन् । उनी रजिष्ट्रार रहेकाले मुख्य रजिष्ट्रारको रोलक्रममा थिए । पन्थीले आफूलाई अन्याय गरी रोलक्रममा पछि रहेको व्यक्तिलाई तानिएको गुनासो पोखेका छन् । राजीनामा दिएपछि उनले कुँवर न्यायाधीश बन्दैदेखि आफूलाई फाल्ने षड्यन्त्र भएको बताएका छन् । प्रधानन्यायाधीशसँग विमति राख्दै २०५९ सालमा तत्कालीन रजिष्ट्रार श्रीप्रसाद पण्डितले पनि यही शैलीमा राजीनामा गरे । 

सर्वोच्चका प्रायः सबै रजिष्ट्रार न्यायाधीश पदमा नियुक्त भए पनि पण्डित, डा.रामकृष्ण तिमल्सेना र पन्थी अपबाद बनेका छन् । पन्थीलाई उनका सहकर्मी र कानुनव्यवसायी न्यायक्षेत्रमा रुखो र अनुदार व्यक्तिको रूपमा लिने गर्दछन् । घुस र अनियमिततामा भने उनीविरुद्ध कसैको उजुरी, गुनासो थिएन । हालका मुख्य रजिष्ट्रार ढकाल र पन्थी २०५२ सालमा एकसाथ न्याय सेवाको अधिकृत नियुक्त भएका थिए । अर्को संयोग, दुबैजना द्वितीय श्रेणी (उपसचिवस्तर)मा पनि एकै दिन २०५९ चैत २१ गते बढुवा भए । तर, ढकाल २०६६ चैत १७ मा सहसचिव भए भने पन्थी २०६८ माघ १५ मा मात्र उक्लिए । सचिवमा पनि ढकाल नै पहिला बढुवा भएको आधारमा मुख्य रजिष्ट्रार बनाइएको थियो । पन्थी २०७६ वैशाख १७ गते रजिष्ट्रार (सचिव) मा बढुवा भएका हुन् । 

मुख्य रजिष्ट्रारका लागि ढकाल र पन्थीसँगै कानुनसचिव उदयराज सापकोटा र सरकारी वकिल समूहका विश्वराज कोइराला पनि प्रतिस्पर्धामा थिए । ढकालको सर्वोच्च अदालतमा बसेर काम गरेको धेरै लामो अनुभव भने छैन । अरुभन्दा पन्थी तुलनात्मक रूपमा बढी अनुभव भएका प्रशासक मानिन्छन् । मुख्य रजिष्ट्रार नियुक्तिप्रति असन्तुष्ट पन्थीले ढकाल नियुक्त हुने बेलै पुसमा राजीनामा नदिएर किन चार महिनापछि ‘नैतिकता’ देखाए भनी सर्वोच्च अदालतभित्र चर्चाको विषय बनेको छ । उनी निकटस्थ सहकर्मीले सेवा अवधि तन्किँदा पेन्सनपट्टा बढ्ने कारण अन्तिम घडीमा आएर राजीनामा दिएको हुनसक्ने लखसमेत काटेका छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू