लमजुङको ठूलो माछामा छापा

लमजुङको ठूलो माछामा छापा
सुन्नुहोस्

प्रायः साना तथा खुद्रे पसलतिर अनुगमनका नाममा छड्के हानेर हैरानी खेलाउने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले यसपटक भने जिल्लाको ठूलै माछामा हात हालेको छ ।

जिल्लाकै पहिलो र एक मात्र रिसोर्टका रूपमा परिचित प्रदेश सांसद तथा कांग्रेस पूर्व जिल्ला अध्यक्ष भेषबहादुर पौडेलको हिमालयन गेटवे रिसोर्टमा समेत छापा मार्न मारिएको छ । १२ र १३ गते जिल्लाका होटल,  रेस्ट्रो तथा खानेपानी उद्योगमा संयुक्त अनुगमन निरीक्षण गर्दा हिमालय गेटवे रिसोर्टसमेत कारबाहीमा पर्‍यो ।

नाम चलेको सो रिसोर्टले दर्ता प्रक्रियामै झेल गरेको,  किचन सरसफाइमा ध्यान नदिएको, लेभल मिलाएर नराखेको भन्दै आवश्यक निर्देशनसहित दश हजार जरिवाना तिराइएको छ । केही दिनअघि मात्र राष्ट्रपति रामचन्द्र पौडेलले आराम गर्नुभएको सो रिसोर्ट जिल्लाभित्र राम्रै पाहुना थुपार्ने होटलमा पर्छ। 

त्यस्तै १० हजार जरिवाना तिर्नेमा आकर्षक साजसज्जाले भरिएको बरण्डा रेस्ट्रो र निकै पुरानो गंगा पूर्ण होटल छन् । पछिल्लो समय एमालेका स्थानीयदेखि बडे नेताहरूको रोजाइको केन्द्र बनेको बरण्डाले पनि दर्ता प्रक्रिया पूरा नगरेको र किचन व्यवस्थापन भद्रगोल भएको पाइयो । 

अनुगमनका क्रममा बेसीशहर नगरपालिका –७ स्थित गाउँशहर कालिका सप्लायर्स तथा खानेपानी उद्योग,  बेनपा –२ को लमजुङ पानी उद्योग र राइनास नपा–७ को स्प्रिङको पानी उद्योग दह्रो कारबाहीमा परेका छन् । ती उद्योग जारको लेवलमा उत्पादन मिति, ब्याच नं. नराखेको, बिक्री बिल नभएको भन्दै ऐन नियम अनुसार कारवाहीमा परेका छन् । भने स्पिङ्गो पानी उद्योगले बोतलको पानी प्रशोधनमा लापरवाही गरेको,  अनुज्ञापत्र नविकरण नगरेकोले तत्काल ५० हजार जरिवानामा परेको छ । ती तीनवटै खानेपानी उद्योगको पानी गुणस्तर परिक्षण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

गएको दशैँ तिहारताका जिल्लाका सबै प्रकारका व्यवसायी पसल अनुगमनका क्रममा झण्डै ४ लाख हाराहारीमा राजश्व संकलन भएको थियो । अनुगमनका क्रममा जिल्लाका सम्पूर्ण व्यवसायीलाई व्यवसाय दर्ता गर्न, खाद्य स्वच्छता,  गुणस्तर र सरसफाइमा विशेष ध्यान दिन भनिएको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू