काठमाडौँका अधिकांश फार्मेसी मापदण्डविपरीत

काठमाडौँका अधिकांश फार्मेसी मापदण्डविपरीत

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले औषधी पसलहरुको अनुगमनलाई तीव्रता दिएको छ । औषधी व्यवस्था विभागसँग समन्वय गरेर प्रशासनले काठमाडौँमा सञ्चालित फार्मेसीको अनुगमन बढाएको हो । 

गत आइतबार र सोमबार सात वटा फार्मेसीको निरीक्षण गरेको प्रशासनले जनाएको छ । तीन वटा अस्पताल फार्मेसी र चार वटा अन्य फार्मेसीमा अनुगमन गर्दा एउटाले मात्र मापदण्ड पालना गरेको पाइएको प्रशासनले जानकारी दिएको छ । 

प्रशासनका अनुसार ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको परिसरमा रहेको विभुविस्त्रा फार्मेसी प्रालिले ‘अस्पताल फार्मेसी निर्देशिका, २०८०’ बमोजिम फार्मेसी सञ्चालन नगरेको पाइएको हो । 

त्यस्तै, सहिद मेमोरियल अस्पताल फार्मेसी र बयोधा हस्पिटल फार्मेसीले २–८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने औषधी तथा भ्याक्सिनहरु उक्त तापक्रममा नराखेको भेटिएको जनाइएको छ । 

ओम हस्पिटल आसपास रहेको ओमतारा फार्मेसी, कलश फार्मेसी र मिरोन फार्मेसीले विभागद्धारा उत्पादन, सञ्चय, बिक्री तथा सिफारिस गर्न रोक लगाइएको औषधी बेचेको पाइएको छ । 

सो क्रममा विभागले सबै खाद्यपुरक सामाग्री र रोक लगाइएका प्रतिजैविक औषधीका समिश्रणहरु जफत गरेको छ । चाबहिलस्थित अमन फार्मेसी मात्रै मापदण्डबमोजिम सञ्चालनमा रहेको प्रशासनले जानकारी दिएको छ । 

प्रशासनले कैफियत देखिएका फार्मेसी सञ्चालकलाई २४ घण्टादेखि ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
 

टिप्पणीहरू