रास्वपामाथि भूकम्प पीडितको रकम कुम्ल्याएको आरोप

रास्वपामाथि भूकम्प पीडितको रकम कुम्ल्याएको आरोप

माओवादीको एकछत्र शासन चलेको ठाउँ हो रुकुम । जनयुद्धको आधारभूमि रुकुममा नयाँ पार्टी रोज्नेहरु बढिरहेका बेला रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसमेत चलमलाउन थालेको छ । तर, सभापति लामिछाने विभिन्न काण्डमा मुछिएपछि देशभर ‘ओरालो लाग्न थालेको’ रास्वपा रुकुममा पनि उदाउन नपाउँदै अनेक अप्ठेरोमा पर्न थालेको बुझ्नमा आएको छ । 

रास्वपा रुकुम पश्चिमको जिल्ला संयोजक मानबहादुर शाही र एनजीओकर्मी पुस्तक चन्द सक्रिय भएर लागेका छन् । उनै शाही र चन्दविरुद्ध भूकम्प पीडितको टहरा बनाउने नाममा लाखौँ रकम हिनामिना गरेको आरोप लागेपछि टुसाउन खोज्दै गरेको रास्वपा ‘माटोमै कुहिने’ खतरा देखिएको हो । 

शाही माओवादी नेता एवम् कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माका विश्वासपात्र भनी चिनिएका व्यक्ति हुन् । चुनावमा शर्मालाई जिताउन उनी २४ सै घण्टा खटिएका थिए । कतिसम्म भने शाहीको गाडी चुनाव अवधिभर शर्माको चुनावी प्रचारको मुख्य साधन बनेको थियो । 

तर, शर्मा मुख्यमन्त्री बनेपछि के स्वार्थ नमिलेर हो शाहीले माओवादी त्यागे र रास्वपा रोजे । माओवादीको प्रभाव क्षेत्रमा माओवादीकै  प्रभावशाली नेताले रास्पपाको बाटो समातेपछि रुकुममा राम्रैसँग घण्टी बज्ने आकलन गरिएको थियो । तर, भूकम्प पीडितको नाममा रकम कुम्ल्याएको आरोपले शाहीमात्र होइन रास्वपा पनि थला पर्ने देखिएको छ । 

गत कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि रास्वपाले अस्थायी आवास बनाउने काम शुरु गर्यो । रुकुम पश्चिमका आठविसकोट र सानीभेरी गाउँपालिका दर्जन बढी र जाजरकोटमा केही अस्थायी आवास बनाएको मिडियाबाजी त्यसबेला मज्जैले गरियो । त्यसले राष्ट्रियरुपमै चर्चा पायो भने ‘गुड लक रवि दाई’ भन्दै सामाजिक सञ्जालमा धेरैले तारिफ पनि गरे । 

तर, अहिले त्यो काण्ड बनेर अख्तियारसम्म पुगेको छ । बेलायतका विभिन्न व्यक्तिबाट भूकम्प पीडितका नाममा उठाएको करिब ९० लाख रुपैयाँ हिनामिना गरेको आरोपसहित सुर्खेतस्थित अख्तियार कार्यालयमा रास्वपाका संयोजक शाही र सदस्य चन्दविरुद्ध उजुरी परेको हो ।

अख्तियारका अनुसार अहिले उक्त उजुरीको छानबिन चलिरहेको छ । स्थानीयस्तरमा रास्वपाले गरेका काम र खर्चको लेखाजोखा गरिँदैछ । यता, यो विषय अख्तियारसम्म पुर्याएको आरोप भने रास्वपाकै मान्छेमाथि लगाएको छ । नेपाली काँग्रेस छोडेर रास्वपा रोजेका नरेन्द्र केसीले अख्तियारमा मुद्दा दिएको भनिएको छ । उनले जिल्ला संयोजक हुन चाहेको तर पार्टी केन्द्रले मानबहादुर शाहीलाई संयोजक बनाएपछि रिसको झोंकमा मुद्दा दर्ता गराएको रास्वपा स्रोतले बतायो । 

शाहीले पार्टीविरुद्ध लागेको भन्दै नरेन्द्रउपर कारबाहीको माग गर्दै केन्द्रमा सिफारिस गरेको र त्यस आधारमा छानबिन भैरहेको उक्त स्रोतले दाबी गरेको छ । नरेन्द्र रुकुम जिल्लामा स्थापित नागरिक अगुवा हुन् । उनी भ्रष्टाचार विरोधी अभियानमा समेत लामो समयदेखि सक्रिय रहँदै आएका छन् ।

टिप्पणीहरू