सामाजिक संस्थाका चुनावमा पार्टीको प्रतिनिधित्व गराउनेलाई रास्वपाले कारवाही गर्ने

सामाजिक संस्थाका चुनावमा पार्टीको प्रतिनिधित्व गराउनेलाई रास्वपाले कारवाही गर्ने
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सामाजिक संघ संस्थाको चुनावी प्रतिस्पर्धामा पार्टीको प्रतिनिधित्व हुनेगरी सहभागी नहुन निर्देशन दिएको छ । 

जनस्तरका सामुदायिक संघसंस्थाको नेतृत्व छनौटमा हुने दलीय स्वार्थ प्रेरित प्रतिस्पर्धाको सदैव विपक्षमा रहेको भन्दै उसले कार्यकर्तालाई त्यस्तो निर्देशन दिएको हो । महामन्त्री एंव प्रवक्ता डा.मुकुल ढकालले आज विज्ञप्ति जारी गर्दै सामुदायिक संस्था स्थापना तथा सञ्चालनको उद्देश्य गैरराजनीतिक र समुदाय केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

 

त्यस्ता संस्थाहरुमा दलीय प्रतिनिधित्व गराउने कुसंस्कारको बाछिटा रास्वपामा पनि पार्न खोजिएको उनको आरोप छ । राजनीतिक दललाई आफ्नो सीमामा बाँध्नुपर्छ भन्ने सन्दर्भमा पार्टीले कुनै सम्झौता नगर्ने विज्ञप्तिमा जनाइएको छ । 

यद्यपि, पार्टीका सदस्य व्यक्तिगत रुपमा त्यस्ता गतिविधिमा सहभागी भएको हुनसक्ने भनेर बचाऊ पनि गरिएको छ । तर, व्यक्तिगत उम्मेदवारीका क्रममा पार्टीको संस्थागत प्रतिनिधित्वका रुपमा प्रचारप्रसार नगर्न, प्यानल बनाउने, भोट माग्ने तथा अन्य दलहरुसँग राजनीतिक अभिप्रायले समूह बनाएर विरोध, समर्थन, वक्तव्य नगर्न/नगराउन निर्देशन दिइएको छ । 

पार्टीको नीति विपरीत त्यस प्रकारको क्रियाकाप कुनैपनि सदस्यबाट गरेको वा गराइएको पाइए कडा कारबाही गरिनेसमेत रास्वपाले चेतावनी दिएको छ । 

हालै रुपन्देहीको सैनामैनामा 'सैनामैना खानेपानी तथा सरसफाई उपभोक्ता संस्था'मा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा दलीय प्रतिष्पर्धा भएको थियो । चुनावमा रास्वपाका उम्मेदवारले अध्यक्ष जितेका थिए ।

टिप्पणीहरू