अमेरिका उड्नुअघि सरकार नढाल्ने सल्लाह, अध्यक्ष नफर्कंदै पार्टी छिन्नभिन्न

अमेरिका उड्नुअघि सरकार नढाल्ने सल्लाह, अध्यक्ष नफर्कंदै पार्टी छिन्नभिन्न
सुन्नुहोस्

दुई साता अघिसम्म राजनीतिक दलहरुको आन्तरिक छलफलको निश्कर्ष हिजो दिउँसोको भन्दा ठीक उल्टो थियो । सरकार अहिल्यै नढल्ने, मन्त्रिपरिषदमा सहकारी ठगीबारे लामो छलफल भएको, माधव नेपालले बोलेअनुसार भाग पाउँदै गएको र रञ्जिता चौधरी छिट्टै मन्त्री हुने चर्चा गरिएको थियो । 

त्यस्तै निचोड निकाले अमेरिका उडेनका जसपा अध्यक्ष उपेन्द्र यादव आज राति काठमाडौं आइपुग्दै छन् । तर, उनी स्वदेश फर्कने क्रममा हिजो कतारको राजधानी दोहा आइपुग्दा नपुग्दै यता पार्टी औपचारिक रुपमा विभाजनमा गएको छ । 

अमेरिका जानुअघि महाधिवेशन तयारीका निम्ति दुई साताअघि सम्पन्न कार्यकारी समितिको बैठकमा उपेन्द्रले ढुक्कका साथ परिस्थिति आफ्नो अनुकूलमा रहेको रिपोर्टिङ गरेका थिए । उनले सरकार सञ्चालनमा अहिले खासै समस्या नभएको कारण यही सरकारलाई टिकाएरै जानुपर्ने धारणा राखेको बताइन्छ । बाहिर चर्चा भएजस्तो वाह्य हस्तक्षेप वा आन्तरिक चलखेलका कारण सरकार अहिले नै धरापमा परिहाल्ने त्यस्तो केही नभएको आफ्ना सहकर्मीसँग सुनाएका थिए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता समीकरण धेरै अगाडि जाने कुरामा शंका व्यक्त गर्दै गर्नुभएका भाषण ‘बार्गेनिङ पावर बढाउनमात्रै हो’ भन्दै उनले थपे, ‘उहाँको धेरैजसो कुरा मिलिसकेको छ ।’ बरु, सहकारी ठगीमा मुछिएका रवि लामिछानेका कारण सरकार र स्वयं रवि पनि समस्यामा परेको भन्ने उक्त बैठकमा चर्चा भयो । कांग्रेसले फेरि पनि संसद अवरुद्ध गर्ने र त्यसबाट बजेट ल्याउने काम प्रभावित हुने हुँदा रविलाई गृहबाट हटाउने वा उनले सरकार छोड्ने सम्भावनाबारे चर्चा भएको जसपाका नेताहरुले त्यतिबेला बताएका थिए ।

बैठकमा चलेको चर्चाअनुसार, पार्टीभित्र प्रधानमन्त्री प्रचण्डलाई पनि समस्या छ । एमालेलाई खुशी पार्न नसके केही उपलब्धी नहुने कारण गत उपनिर्वाचनमा कतै पनि दावी गर्ने अवस्था भएन । त्यसमाथि प्रचण्ड प्रधानमन्त्री भएकै बेला लगालग आफ्नो पार्टीका कृष्णबहादुर महरा, कालिबहादुर खाम, दिपेश पुनसहितका नेताहरु विभिन्न अभियोगमा समातिने क्रम बढ्यो । यसले प्रचण्डलाई निराशा र तनाव दुबैमा पारेको चर्चा गरियो ।

अर्कातिर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले उपयुक्त मन्त्रालय खाली गरिदिए आफू सरकारमा सामेल हुने सन्देश दिएकी छन् । बिहीबारको मन्त्रिपरिषद् बैठक लम्बिनुको कारण थियो, सहकारी ठगीका मामिलालाई कसरी हल गर्ने भन्नेबारे घनीभूत छलफल चल्नु । उपप्रधानमन्त्री रवि लामिछानेसहित मुछिएको सहकारी ठगीका अनेकन आरोप र उजुरी छन् । तिनलाई हल गर्नका निम्ति अलग्गै कानुन चाहिने वा मौजुदा कानुनअनुसार अगाडि बढ्ने भन्ने विषयमा मन्त्रीहरुले धारणा राखेको कुरा बैठकमा उपेन्द्रले सुनाएका थिए ।

उपेन्द्र पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्र श्रेष्ठलाई दिएर अमेरिका गएका हुन् । कार्यकारी समितिको बैठकमा महाधिवेशन प्रतिनिधि छनौटसम्बन्धी मापदण्ड तयार भएको थियो । पार्टी सदस्य १ लाख ४५ हजार छन् । दुई सयबराबर एकजना प्रतिनिधि छानिने भएको छ । दुई सयभन्दा मुनि सदस्य भएको जिल्ला समितिलाई दुईदेखि बढीमा अधिकतम् तीन जना प्रतिनिधि ल्याउन दिइनेछ ।

राष्ट्रिय समितिबाट तीन, प्रदेश समितिलाई पाँचका दरले थप प्रतिनिधि तोकिएको छ । जनसंगठनका केन्द्रीय कमिटीलाई तीनदेखि सातसम्म प्रतिनिधि ल्याउन भनिएको छ । कूल प्रतिनिधिमध्ये पाँच प्रतिशत प्रतिनिधि मनोनीत हुनेछन् ।

तर, उनै कावा अध्यक्ष श्रेष्ठसहितको समूहको पहलमा पार्टी विभाजित भएको छ । नेता अशोक राईलाई समूहले नयाँ पार्टीको अध्यक्षमा अघि सारेको छ । यता, यादव समूहले विभाजनबारे छलफल गर्न भोलि बिहान संसदीय दलको बैठक डाकेको छ । यादव मध्यरातमा काठमाडौं ओर्लंदै छन् ।

टिप्पणीहरू