माधव नेपालद्वारा कृषि, पर्यटन र जलविद्युतको चर्चा

माधव नेपालद्वारा कृषि, पर्यटन र जलविद्युतको चर्चा

पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभएको छ । 

आज राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले नेपालमा कृषिको प्रचुर सम्भावना भए पनि त्यसअनुसार उत्पादन हुन नसकेकोमा अध्यक्ष नेपालले चिन्तासमेत व्यक्त गर्नुभएको छ ।

‘नेपालको अर्थतन्त्र उँभो लगाउनु छ भने सबैभन्दा पहिला कृषि उत्पादनमा आत्मनिर्भर हुनुपर्छ । कृषिजन्य वस्तुहरु नेपालमा उत्पादन गर्नसक्ने यहीँ गर्ने, विदेशबाट आयात गर्नेकुराको अन्त्य गर्नुपर्छ’, उहाँले जोड दिएर भन्नुभयो, ‘सकिन्छ भने निर्यात गरी देशको राजश्वमा योगदान गर्नुपर्छ । दुध, माछा, मासुमा नेपाल आत्मनिर्भर बन्नुपर्छ । कृषिको विकासलाई देशको अर्थतन्त्रको आधारशीलाको रुपमा लिएर अघि बढ्ने हो भने मात्रै देशको अर्थतन्त्र सबल बन्नेछ ।’

नेपालले कृषिसँगै जलविद्युत र पर्यटन पनि मुलुक विकासको आधारस्तम्भ रहेको उल्लेख गर्नुभयो । पर्यटन विकासको विशाल सम्भावना रहेको जनाउँदै उहाँले सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो । 

पर्यटन क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राख्नुभएका अध्यक्ष नेपालले त्यसका लागि निजगढ विमानस्थल निर्माणमा विशेष जोड दिनुभएको छ । उहाँले नारायणहिटी दरबारलाई ‘ग्राण्ड म्युजियम’को रुपमा विकास गर्न सरकारले लगानी गर्नुपर्ने पनि बताउनुभयो । 

यसका साथै गणतन्त्र संग्रहालय, जनजाति संग्रहालय निर्माण गर्न पनि अत्यन्तै आवश्यक रहेको उहाँको भनाई छ ।

टिप्पणीहरू