राजीनामा नदिने मुख्यमन्त्रीको अडानविरुद्ध नयाँ सरकार गठनको तयारी

राजीनामा नदिने मुख्यमन्त्रीको अडानविरुद्ध नयाँ सरकार गठनको तयारी
सुन्नुहोस्

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ । मध्यरातमा जारी सूचनामा प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गर्नु भएको छ ।

सूचनामा नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नसक्ने कोशी प्रदेश सभाका सदस्यलाई भोलि अपरान्ह ५ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरिएको छ ।

तर प्रदेश मन्त्रिपरिषद् बैठकले हिजै आगामी जेठ ११ गतेदेखि बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई पुनः अनुरोध गर्ने निर्णय गरेको थियो । तर, महान्यायाधिवक्तासँगको कानुनी परामर्शपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको निम्ति आह्वान गर्नुभएको हो ।

यसअघि चैत २६ गते प्रदेशसभाका ५२ जना सदस्यले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएका थिए । वैशाख १० गते मुख्यमन्त्री कार्कीलाई ३० दिनभित्र विश्वासको मत लिन निर्देशन दिएको सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको थियो ।

कार्की मुख्यमन्त्रीमा गत असोज २७ गते नियुक्त भएका हुन् । आफू नेतृत्वको सरकारले २ वर्षसम्म विश्वासको मत लिन नपर्ने र राजीनामा समेत दिन नपर्ने कार्कीको दाबी रहँदै आएको थियो ।
 

टिप्पणीहरू