सेनाका नक्कली क्याप्टेनको विमानस्थलमा चर्तिकला

सेनाका नक्कली क्याप्टेनको विमानस्थलमा चर्तिकला

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो राति एकाएक सेनाका नक्कली सह सेनानी पुगे । साढे ७ बजे विमानस्थलको प्रस्थान कक्षमा रहेको चेकिङ एरियामा ‘ए’ पास लिएर पुगेका उनी नक्कली रहेको प्रमाणित भएपछि पक्राउ परेका छन् ।

क्याप्टेनको दर्ज्यानी चिन्हसहित नेपाली सेनाको ड्रेसमा विमानस्थल पुगेर आफ्नो रवाफ देखाउने व्यक्ति सन्दीप गिरी हुन् । उनलाई नम्बर १४ बाहिनीका वाहिनीपति सहायक रथी नारायण सिलवालले सोधपुछ गरेका थिए । सो क्रममा गिरीले खड्ग दलको ५३ बेसिकको सह सेनानी बताए ।

सिलवालले उक्त गणमा सम्पर्क गर्ने बित्तिक्कै गिरी फरार भएको स्रोतले बताएको छ । त्यसपछि गिरीले साथीलाई पास बुझाउन विमानस्थलमा पठाउँदा उनको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । गिरीलाई प्रहरीले राति साढे १० बजे नियन्त्रणमा लिएको थियो । 

रामेछाप घर भई हाल धुम्बाराहीमा बस्दै आएका २८ वर्षे सन्दीपले आफू सैनिक नभएको बयान दिएपछि प्रहरीले आवश्यक कारवाही तथा थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रहरी प्रशासनमा पुर्याएको थियो । त्यसपछि राति नै महानगरीय प्रहरी वृत्त गौशालामा लगेर थप अनुसन्धान भइरहेको बुझिएको छ ।

टिप्पणीहरू