महालक्ष्मी विकास बैंकका सामाजिक कार्यक्रम

महालक्ष्मी विकास बैंकका सामाजिक कार्यक्रम

महालक्ष्मी विकास बैंकका शाखा कार्यालयहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम सम्पन्न गरेका छन् । नेपाल प्रहरी, युवा क्लव, विद्यालय, नगरपालिका तथा रोटरी क्लबलाई विभिन्न सहयोग गरी कार्यक्रम सम्पन्न गरिएको हो । 

जसअनुसार बैंकको बेलौरी शाखाले इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरलाई लागुऔषधसम्बन्धी जनचेतनामुलक बोर्डहरु हस्तान्तरण गरेको छ । 

बैैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सुनिल कुमार नेपालले इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरका कार्यालय प्रमुख गौरीप्रसाद जैशीलाई उक्त बोर्डहरु हस्तान्तरण गरेका हुन् । 

यस्तै, बैंकको कोटेश्वर शाखाले काठमाडौं महानगरपालिका–३२, कोटेश्वर समाज सुधार युवा क्लवलाई खानेपानीको ट्याङ्की सहयोग गरेको छ । भवनमा खानेपानीको धारा जोडिएपनि ट्याङ्कीको अभाव भएकोले बैंकले सहयोग गरेको जनाएको छ ।

 

कोटेश्वर शाखाका प्रमुख उत्सव मकाजूले युवा क्लवका अध्यक्ष सुवासकुमार रिमाललाई उक्त ट्याङ्की हस्तान्तरण गरेका हुन् । बैंकको इटहरी शाखाले पनि इटहरी उपमहानगरपालिका–२०, तरहरा सुनसरीमा अवस्थित बाल बहुभाषिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्कुल व्याग, कापी तथा अन्य आवश्यक शैक्षिक सामाग्री प्रदान गरेको छ । 

विद्यालयमा न्यून आयस्रोत भएका परिवारका बालबालिकाहरु अध्ययनरत रहेकोले शैक्षिक आवश्यकता पुरा गर्न सहजता मिलोस भन्ने उद्देश्यले उक्त सहयोग गरिएको हो । बैैंकको कोशी प्रदेश प्रमुख दिपककुमार गुप्ताले विद्यार्थीहरुलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

 

त्यसैगरी, बैंकको शिशुवा शाखाद्वारा पोखरा महानगरपालिका–३०, स्थित शिशुवा बजार क्षेत्रलाई समेट्ने गरी सीसीटिभी क्यामेरा जडान गरिएको छ । शिशुवा बजार क्षेत्रभित्र सम्भावित विभिन्न अपराधिक क्रियाकलापका साथै सवारी दुर्घटनामा समेत नियन्त्रण हुने विश्वासका साथ बैंकले उक्त सीसी क्यामेरा जडान गरेको हो ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत ध्रुवराज तिवारीले पोखरा–३०, का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीलाई सिसी क्यामेरा हस्तान्तरण गरेका हुन् । योसँगै बैकको हेटौंडा शाखाले पनि रोटरी क्लब अफ हेटौंडालाई डस्टबिन प्रदान गरेको छ । 

हेटौंडामा अवस्थित टोल, सार्वजनिक बाटो तथा पार्कबाट निस्कने फोहोर व्यवस्थापन गरी स्वच्छ र सफा उपमहानगर बनाउनका लागि बैंकले उक्त सहयोग गरेको बताएको छ । बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका क्षेत्रमा निरन्तर सहयोग गर्ने जनाएको छ ।

टिप्पणीहरू