चुच्चे नक्सा सिक्कामा पहिले, नोटमा राख्दा किचलो अहिले

चुच्चे नक्सा सिक्कामा पहिले, नोटमा राख्दा किचलो अहिले

एक सय रुपैयाँ दरको नोटमा नेपालको नयाँ चुच्चे नक्सा राख्ने सरकारको निर्णयबारे विभिन्न कोणबाट टिकाटिप्पणी भएको छ । वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकले २०७७ जेठ ७ गते सरकारले सार्वजनिक गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सासहित एक सय रुपैयाँको नोट छाप्ने निर्णय गरेपछि मुलुुकभित्र र बाहिर विभिन्न खालका चर्चा भएको हो । 

उक्त निर्णयप्रति छिमेकी मुलुक भारतले असन्तुष्टि जनाइसकेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले ‘एकपक्षीय रुपमा चालिएका कदमले जमिनको यथार्थ नबदल्ने’ प्रतिक्रिया भोलिपल्टै दिएका थिए ।

यता, मुलुकभित्रै पनि दुईथरी धारणा सार्वजनिक भइरहेका छन् । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले केहि दिनअघि सरकारको उक्त निर्णय अनावश्यक ढङ्गको बहस र विवाद चर्काउने कुरा मात्र भएको उल्लेख गर्दै आलोचना गरेका थिए । 

सत्तारुढ दलहरुले भने नेपाली भूमि समेटिएको नयाँ नक्सा नेपालको नोटमा राख्ने विषयमा भारत सरकारले आपत्ति जनाउन आवश्यक नभएको टिप्पणी गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलका सल्लाहकार एवम् नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर डा. चिरञ्जीवी नेपालले भने एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा समावेश गर्ने सरकारको निर्णयप्रति अचम्मसँग विरोध जनाएको पाइएको छ । 

उनले केही दिनअघि बीबीसी नेपाली सेवासँगको कुराकानीमा एक सय दरको नोटमा पुरानो बुच्चेको सट्टा चुच्चे नक्सा राख्ने सरकारको निर्णयलाई असान्दर्भिक र अविवेकी भनेका थिए । नेपालको उक्त भनाइको व्यापक विरोध भएको छ । जबकि २०७६ चैतसम्म गभर्नर पदमा कार्यरत उनि हटेको केही समयपछि नयाँ नक्सा सार्वजनिक गरिएको थियो । उनी गभर्नर छँदै सिक्काको डिजाइन कार्य सम्पन्न भएको थियो ।

२०७७ सालमा निष्कासन गरिएको एक रुपैयाँ र दुई रुपैयाँको सिक्कामा नेपालको नयाँ नक्सा अंकित छ । चार वर्षअगाडि नै कार्यान्वयनमा आइसकेको विषयलाई अहिले आएर विरोध गर्नुको कुनै तुक देखिदैन ।

सिक्कामा लागू भइसकेको विषय नोटमा लागू गर्दा केवल तीललाई पहाड बनाइएको जानकारहरू बताउँछन् ।

टिप्पणीहरू