सडकमा घण्टी पोतेकोमा रास्वपाको क्षमायाचना

सडकमा घण्टी पोतेकोमा रास्वपाको क्षमायाचना

कार्यकर्ताले सार्वजनिक सम्पत्तिलाई पार्टीको प्रचार सामाग्री बनाएको प्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आत्मालोचना गरेको छ । सडकमै पार्टीको चुनाव चिन्ह बनाएर कार्यकर्ताले गरेको भद्दा प्रचारको सबैतिरबाट आलोचना भएपछि उसले क्षमा मागेको हो । 

सुसंस्कृत राजनीतिको नारा दिएर आफूलाई पुराना पार्टीहरुको विकल्प दावी गर्ने तर, कार्यकर्ताले सामाजिक सञ्जालमा देखाएको उग्रता नियन्त्रण नगर्ने दोहोरो चरित्र देखाएको रास्वपामाथि आरोप छ । यसैबीच सभापति रवि लामिछानेको निर्वाचन क्षेत्रसमेत रहेको भरतपुरका सडकमा कार्यकर्ताले घण्टी चिन्ह बनाउन थालेपछि थप आलोचना भैरहेको छ । 

त्यसप्रति प्रवक्ता मुकुल ढकालले आज विज्ञप्ति निकालेर आत्मालोचना गरेका छन् । विज्ञप्तिमा पार्टीको चुनाव चिन्ह र पहिचानसँग सम्बन्धित कुनै पनि सामग्री सार्वजनिक सम्पतिमा नबनाउन आग्रहसमेत गरिएको छ । 

प्रवक्ता ढकालले राजनीतिक वा कुनै पनि बहानामा सार्वजनिक सम्पत्ति दुरुपयोग गर्नु हुँदैन भन्ने पार्टीको स्पष्ट मान्यता रहेको जनाउँदै त्यसविपरित गतिविधि नगर्न नेता,कार्यकर्ता तथा शुभचिन्तकहरुलाई सचेत गराएका छन् ।  

‘पार्टीप्रतिको लगाव वा अन्य कुनै पनि बहानामा चुनाव चिन्ह वा पार्टीको पहिचानसँग सम्बन्धित कुनै पनि सामग्री सार्वजनिक सम्पदाहरुको दुरुपयोग गरेर बनाउने, कार्य नगर्न नगराउनुहुन तथा गरिएको भएमा साविकै अवस्थामा ल्याइदिनु हुन पार्टीको देशैभरका सदस्य, समर्थक तथा शुभेच्छुकहरुमा हार्दिक अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

यसअघि भरतपुर महानगरपालिकाले सडकमा बनाइएको घण्टी चिन्हप्रति आपत्ति जनाउँदै सार्वजनिक सूचना जारी गरेको थियो ।

टिप्पणीहरू