गृहमन्त्रीले अन्तर्राष्ट्रिय विमानस्थलमा गएर यी कुरा हेर्ने कि नहेर्ने ?

गृहमन्त्रीले अन्तर्राष्ट्रिय विमानस्थलमा गएर यी कुरा हेर्ने कि नहेर्ने ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बेला-बेला गम्भिर सुरक्षा लापरबाहीका घटना आइरहन्छ । नेपाली सेना,नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागसहित विभिन्न सरकारी निकायको निगरानी रहने विमानस्थलको सुरक्षालाई लिएर राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रश्न उठ्ने गरेको छ । कुख्यात अपराधी चार्ल्स शोभराजले नेपालको एयरपोर्टबाट हात्ती छिराउन सकिन्छ त्यसै भनेका होइनन् । 

विमानस्थलको समग्र सुधारका लागि पर्यटन मन्त्री सुदन किराँती पनि सक्रिय रहेको देखिन्छ । तर,लापरवाहीका घटना भने रोकिएको छैन । सुरक्षा कमजोरीका कारण यावत प्रश्न उठिरहेका बेला उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भोलि विमानस्थल अध्यागमन कार्यालयको निरीक्षण गर्दै हुनुहुन्छ । निरीक्षणपछि सरोकारवालाहरुलाई राखेर छलफल गर्ने कार्यकम पनि रहेको बताइएको छ । 

हरेक पटक नयाँ मन्त्री आएपछि अनुगमनका नाममा 'हल्लाखल्ला' हुने र निर्देशन दिने विगतदेखिकै अभ्यास हो । त्यसकारण यस्ता निरीक्षणलाई सस्तो लोकप्रियतामा रमाउने प्रोपोगण्डाका रुपमा धेरैले बुझ्ने गरेका छन् । गृहमन्त्री श्रेष्ठको विमानस्थल अनुगमन पनि त्यस्तै कर्मकाण्डमै सीमित रहला कि समस्या समाधानका लागि परिणाममुखी पहलकदमी होला ? मन्त्रीको अनुगमनको पूर्वसन्ध्यामा केही गम्भीर सवाल उठेको छ । 

"प्रहरी कर्मचारीहरुले सुकुटी,रक्सी र प्रतिवन्धित वस्तु तथा सामानहरुको तस्करीमा विमानस्थलमा रहेका क्युरियो र चिया पसलमार्फत लेनदेन गर्ने गरेको आरोप पुरानै हो ।"

नेपालको एयरपोर्ट मानव तस्करीको जालोमा परेको पटक-पटकका घटनाले देखाइसकेको छ । त्यसमा अध्यागमनको भूमिका जोडिने गरेको छ । त्यसकारण हालसम्म त्यसमा संलग्न के-कति अधिकृतमाथि छानविन भएको छ ? भन्ने विषय मन्त्रीको अनुगमनमा उठछ कि उठ्दैन ? त्यस्तै,मानव तस्करबाट हुने उच्चस्तरीय सेटिङ के हुन्छ ?,नेपाल एयरले करारमा राखेको कान्तिपुर सेक्युरिटी गार्ड र अध्यागमन विभागका ६ जना सुरक्षा गार्डमार्फत मुख्य अध्यागमन अधिकृतबाट हुने सेटिङको जालो मजबुत हुन्छ कि कमजोर पारिन्छ ?, बाबु-आमासँग र हजुरबा, हजुरआमासँग विदेश जाने बाल बालिकालाई नाता प्रमाणितको नाउँमा खुला 'लुटपाट' हुने गरेको भन्ने कुरालाई कसरी हेरिन्छ ? 

अध्यागमन कार्यालयको ईमिग्रेसन डेस्कमा अध्यागमन अधिकृत र यात्रु देखिने गरी सिसिटिभी राख्न खोज्दा विभिन्न कारण देखाएर पन्छाउने गरिएको गुनासो छ । यसमा कुन-कुन स्वार्थ समूहले टाङ्ग अड्काएको हो ? मन्त्रीले सोधखोज गरेर आवश्यक कदम चाल्नुपर्छ । 

त्यसैगरी,अध्यागमन विभागको सर्भरमा पटक-पटक हुने साइबर आक्रमण र साइबर सुरक्षा तथा वैकल्पिक सर्भरको विषयमा सरकारले के गर्छ ? लगेज कलेक्सन ईलाकाको सिसि क्यामरा बिगारेर प्रहरी कर्मचारीहरुबाट लोडरको मिलेमतोमा चोरी हुने गरेको गुनासो सम्बोधन गर्न र त्यसको न्यूनीकरणका लागि के-कस्ता कदम चालिन्छ ? यो प्रश्न पनि सरकारमाथि उठेको छ । 

"विमानस्थल सुरक्षा गार्ड प्रमुख (प्रनामनि) डिआइजीको सवारी साधन रन वेबाट आयल निगमको बाटो भएर जाने कुरालाई त्यहाँकै कर्मचारीहरुले शंकास्पद मान्ने गरॆका छन् । यो विषय अनुगमनका क्रममा उठ्छ कि उठ्दैन ?

प्रहरी कर्मचारीलाई चेकजाँच तथा मेटल फ्रि गर्न नपर्ने र नहुने प्रावधानको फाइदा उठाउँदै विशेषत:ड्युटीमा नरहेका कर्मचारीहरुबाट दुबई र कतारबाट आउने व्यक्तिहरुसँगको मिलेमतोमा तस्करी हुने गरेको धेरैले भन्ने गरेका छन् । प्रहरी कर्मचारीहरुले सुकुटी, रक्सी र प्रतिवन्धित वस्तु तथा सामानहरुको तस्करीमा विमानस्थलमा रहेका क्युरियो र चिया पसलमार्फत लेनदेन गर्ने गरेको आरोप पुरानै हो । यी विषय गृहमन्त्रीको अनुगमनमा पर्छ कि पर्दैन ?

अर्को कुरा,वैदेशिक विनिमय मुद्दा चलाउनुपर्ने आरोपितहरुलाई पक्राउ गरेर गोप्य कोठामा पुर्याई कि जेल जाऊ कि रकम छोड भनेर खुलेआम लुटपाट हुने गरेको तथ्यप्रति मन्त्री जानकार छन् कि छैनन् ? प्रहरीले यात्रुहरुबाट फाइनल स्टेरलाइज ईलाकामा जफत गरिएका खाद्यान्न,मदिरा,पर्फ्युम, स्याम्पु,तेललगायतका सामानहरुको खोजबिन के हुन्छ ? उक्त सामानहरु डिआइजीदेखि आइजिपी निवाससम्म पुग्ने गरेको पाइएको छ । गृहमन्त्रीको अनुगमनपछि यो रोकिन्छ ?

विमानस्थल सुरक्षार्थ खटिने प्रहरी अधिकृतबाट व्यक्तिगत सुरक्षार्थ खटाएको पिएसओमार्फत पनि तस्करी र सेटिङ हुने गरेको विभिन्न तथ्यहरुले पुष्टि गरिसकेको छ । त्यसको प्रभावकारी नियन्त्रणमा सरकारको ध्यान नगएको कर्मचारीहरुको गुनासो गृहमन्त्रीलाई जानकारी छ कि छैन होला ? 

विमानस्थल सुरक्षा गार्ड प्रमुख (प्रनामनि) डिआइजीको सवारी साधन रन वेबाट आयल निगमको बाटो भएर जाने कुरालाई त्यहाँकै कर्मचारीहरुले शंकास्पद मान्ने गरॆका छन् । यो विषय अनुगमनका क्रममा उठ्छ कि उठ्दैन ?
 

टिप्पणीहरू