राजमार्गमा असुली धन्दा, उपत्यकाभित्रै सल्लाह

राजमार्गमा असुली धन्दा, उपत्यकाभित्रै सल्लाह

विशेष सम्वाददाता

गृहमन्त्री बनेपछि रवि लामिछानेको स्वर झन् कडा सुनिन थालेको भन्नेहरु धेरै छन् । उनले गल्ती कमजोरीमा कुनै सम्झौता नगरिने दिनहुँ भन्ने गरेका छन् । प्रहरी प्रशासनलाई घुसपैठ गरेको पाइए तत्काल कारबाही गर्ने धारणा गायत्रीमन्त्र झैँ रट्दै आएका छन् । तर औपचारिक कार्यक्रममा जति कडा भाषण गरेपनि फिल्डमा पुरानै गति र मति यथावत देखिन्छ ।

राजधानी काठमाडौं र वरपर खटिएका टफिक प्रहरीले शहर प्रवेशका मुख्य नाकामा गर्दै आएको गैरकानुनी असुलीको खेति पछिल्लो समय राम्रैसँग फस्टाएको पाइन्छ । काठमाडौंको कलंकी चोकमा बसेर एकछिन नियाल्दा पनि कतिपय ट्राफिकले गरेको त्यस्तो धन्दा ठाउँको ठाउँ देख्न सकिने भन्नेहरु प्रशस्त छन् । 

काठमाडौंबाट पोखरा, चितवनतर्फ चल्ने १५ सिटे माइक्रो बसले क्षमताभन्दा आधा दर्जनबढी यात्रु कोच्दा पनि ट्राफिक प्रहरीले नदेख्ने गरेको जोकोहीको अनुभव छ । माइक्रोबसको अगाडि दुई जना र पछाडि १२ जना मात्र राख्न पाइन्छ । यसले थानकोट चेकपोष्ट र नागढुङ्गामाथि पछिल्लो समय असुली पोष्टको रुपमा परिणत भएको आरोप लागेको छ । त्यसैले बढी यात्रु कोचेर हुईंकिने माइक्रो बस ट्राफिक प्रहरीको गोजी तातो बनाउने आधार बनेका छन् । कलंकीको मूल सडममै १५ –२० मिनेट सम्म पार्किङ गरेर सिट क्षमताभन्दा ६ जनाबढी यात्रु कोच्ने छुट त्यहाँका ट्राफिकले दिने गरेको सबैले देखेकै विषय हो ।

अगाडिको साँघुरो सिटमा तीन जना यात्रु राखेपछि थानकोट र नागढुङा चेक पोष्टलाइ नम्बर टिपाएर जानकारी गराउने गरिएको छ । मोबाइल बोकेर असुली पोष्टतिर जाँदा आफूलाई सम्बन्धित माइक्रोबसका चालकले गाली गरेको एक जना यात्रुको अनुभव छ । उनलाई चालकले भनेका थिए, ‘तपाईंहरु यता पोष्टतिर न आउनुस्  हाम्लाइ ट्राफिकले गाह्र्रो पार्छ ।’  

ती यात्रुले भने, ‘सरकार कहाँ छ ? गृहमन्त्री कहाँ छन् ? यता जनताले सास्ती पाइरहेका छन् । जोखिमपूर्ण यात्रा गर्नु जनताको बाध्यता बनेको छ । गृहमन्त्रीले प्रहरी प्रमुखलाई दिने आदेश कस्तो हुन्छ ?’ सुराकी खटाएर ड्युटी सकिएका ट्राफिक पोष्टका प्रहरीको खल्ती र जुत्ता खानतलासी गरेमा बटारिएको अवस्थामा सय र पाँच सयका नोट बग्रेल्ती भेटिने निश्चित रहेको स्रोतको दाबी छ ।

कमाइ हुने राजमार्गका पोष्ट मात्र नभएर प्रदेश कार्यालय, जिल्ला कार्यालय, इलाका र नाका तथा गौंडामा सरुवा चाहनेको तछाँडमछाड हुने गरेको छ । कलंकी, नागढुङा, नौबिसे, गजुरी, मुग्लिन, आँबुखैरेनी, दमौली, पोखराको रामबजार, बैदाम, चितवनको रामनगर, बाराको पथलैया, वीरगन्जलाई ट्राफिक प्रहरीले आकर्षक अड्डाको रुपमा हेर्ने गरेका छन् । त्यहाँ जान प्रहरीका उच्च  अधिकारी वा गृहका प्रभावशालीको आशिर्वाद चाहिने ट्राफिक प्रहरीहरु नै बताउँछन् ।

वर्षौैंदेखि काठमाडौंमा बसेकाहरु कलंकीदेखि नागढुङगा, कोटेश्वरदेखि बनेपासम्म बस्न रमाउने गरेको पाइएको छ । दिनहुँ दशौं हजार असुली हुने उक्त रकम कोसम्म पुग्छ ? त्यसबारे प्रहरीका इमान्दार उच्च अधिकारीले  चाहेमा पहिल्याउन नसक्ने कुरो छैन । रवि लामिछाने गृहमन्त्री भएपछि हाइवेमा असुली चर्किएर जानुले ‘जो आएपनि उस्तै’ भन्ने जनआरोप चाँही पुष्टि भएको छ ।

 

टिप्पणीहरू