वीरगञ्जका पूर्व मेयरद्वारा एमाले परित्याग, आफूलाई निष्क्रिय बनाइएको आरोप

वीरगञ्जका पूर्व मेयरद्वारा एमाले परित्याग, आफूलाई निष्क्रिय बनाइएको आरोप

वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर विजयकुमार सरावगीले एमाले छोडेका छन् । 

गत स्थानीय तहको निर्वाचनमा जसपा छोडेर एमालेमा प्रवेश गरेर वीरगञ्ज महानगरको टिकट हात पारेका उनी दुई वर्षमै उक्त पार्टीबाट बाहिरिएका हुन् । अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उनले लेखेको राजीनामा पत्रमा पार्टीले उचित जिम्मेवारी नदिएका कारण एमाले छोड्नुपरेको उल्लेख छ । 

‘पार्टीको भूमिकाले मलाई राजनीतिमा सक्रियभन्दा पनि निष्क्रिय बनाएर राख्ने खालको देखिएकाले आजैका मितिदेखि लागु हुनेगरी नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा गरेको छु’, उनले अस्ति लेखेको र आज सार्वजनिक गरेको राजीनामा पत्रमा जनाइएको छ । 

सरावगी एमाले केन्द्रीय परिषद् सल्लाहकार सदस्यको भूमिकामा थिए । तर, उक्त जिम्मेवारी आफ्ना लागि उपयुक्त नभएको उनको भनाई छ । 

गत स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा ओलीले सरावगीलाई तामझामका साथ पार्टी प्रवेश गराएरलगत्तै टिकट दिएका थिए । तर, उनले चुनाव भने जितेनन् ।

टिप्पणीहरू