दोलखापछि मकवानपुरमा माधवको उत्साह

दोलखापछि मकवानपुरमा माधवको उत्साह

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी जागरण अभियानले सफलता प्राप्त गरिरहेकोमा खुशी व्यक्त गर्नुभएको छ । नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला कमिटीको नवौं अधिवेशनको हेटौंडामा उद्घाटन गर्दै उहाँले केही दिनअघि दोलखामा सम्पन्न जिल्ला सम्मेलनको प्रसंग कोट्याउँदै खुशी व्यक्त गर्नुभएको हो ।

‘दोलखामा कमरेडहरुलाई उत्साह भर्न भनेर म पनि पुगेँ’ नेपालले भन्नुभयो, ‘अरु प्रतिस्पर्धी दलहरुलाई पनि उद्घाटन कार्यक्रममा निम्तो गरिएकामा कमजोर उपस्थिति हुने डरले उहाँहरु जान डराउनु भएको रहेछ ।’ तर एकपछि अर्को गर्दै जुलुसका हुल कार्यक्रमस्थलमा आउन थालेपछि सबैजना दंग परेको उहाँको भनाइ थियो । 

मकवानपुरले पनि दोलखाकै जस्तै व्यवस्थित अधिवेशन आयोजना गरेको र ठूलो जमातलाई संगठित गरेकामा उहाँले पटक पटक धन्यवाद र बधाई दिनुभएको छ । जिल्लामा ४ हजार सदस्य संख्या बनाएकोमा धन्यवाद दिँदै आगामी २०८४ सम्म पुग्दा पार्टीले अर्कै हैसियत धारण गर्ने उहाँको भनाई छ । राजनीति सेवा हो भन्दै आजीवन सेवामा लाग्न र कमाइ खाने भाँडोको रुपमा नलिन उहाँले कार्यकर्ताहरुलाई निर्देशनसमेत दिनुभयो । 

उप महासचिव डा. गंगालाल तुलाधरले कार्यकर्ताको रगत पसिनाले आर्जेको पार्टीमा केपी शर्मा ओली मालिक बन्न खोजेपछि क्रान्तिकारी विद्रोह गरिएको बताउनुभयो । जिल्ला अध्यक्ष विष्णुप्रसाद दाहालको अध्यक्षतामा भएको उदघाटन समारोहमा पार्टी स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री विरोध खतिवडा, स्थायी कमिटी सदस्य ललित बस्नेत, पोलिट्ब्युरो सदस्य एवम बागमती प्रदेश संसदीय दलका नेता कृष्ण खनाल, केन्द्रीय सदस्य एवम जिल्ला इञ्चार्ज मुनु सिग्देल, प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसाल, नेकपा माओवादी केन्द्र जिल्ला संयोजक भीम पाख्रिन, नेपाली काँग्रेस सभापति बुद्ध लामालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

टिप्पणीहरू