सयको नयाँ नोट विवाद - केपी ओलीद्वारा राष्ट्रपतिसँग जवाफ माग

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०० को नयाँ नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयमा राष्ट्रपतिका विज्ञ सल्लाहकार चिरञ्जिवी नेपालको विरोधप्रति आपत्ति जनाउनुभएको छ । 

आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले उक्त धारणा राष्ट्रपति रामचन्द्र पौडेलको हो कि होइन? भनेर प्रश्नसमेत गर्नुभयो । देशको सर्वोच्च संस्था राष्ट्रपति निवासबाटै राष्ट्रियतामाथि विद्धेष फैलाइएको जनाउँदै ओलीले यो विषयलाई एमालेले त्यतिक्कै नछोड्ने चेतावनीसमेत दिनुभएको छ ।  

'नेपालको नक्सा नेपालको नोटमा छापिने भन्दा राष्ट्रपति निवास कराउँछ, कस्तो राष्ट्रपति निवास ? कस्ता सल्लाहकार ? के भएको यो देश ? हामी नेपाली ट्वाँ परेर हेरेका छौँ', ओलीले भन्नुभयो, 'नेपालको यतिसम्म अहित चिताउने, राष्ट्रिय भावनामा विद्वेष भएका व्यक्तिहरु राष्ट्रपति निवासमा गुँड बनाउने ? सर्वोच्च निकाय, सर्वोच्च संस्था राष्ट्रपति कार्यालय त्यहाँ सर्पको गुँड ? के भएको यो । हामी दरैगरी यस कुराको छिनोफानो खोज्नेछौँ । विज्ञ सल्लाहकार राष्ट्रपतिको बोली बोल्नका लागि त्यहाँ राख्ने हो । आवाजका लागि त्यहाँ राखिन्छ, यो राष्ट्रपतिको आवाज हो की होइन, हामी सोध्न चाहान्छौँ ।’

राष्ट्रपति पोडेल स्वयं र सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालले यसबारे जवाफ दिनुपर्ने उहाँको माग छ । संसदको बैठकमा एमालेको तर्फबाट सो विषयमा आवाज उठाउन पनि ओलीले सांसदहरुलाई निर्देशन दिनुभयो । 'राष्ट्रपति कार्यालयमा राष्ट्रहित विपरित बोल्ने व्यक्तिहरु किन राखेको ?', उहाँले आक्रोशित हुँदै सोध्नुभयो । 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले सबै नोटमा र सिक्कामा अनिवार्य नयाँ नक्सा राख्नुपर्नेमा समेत जोड दिनुभएको छ । उहाँले नेपालले आफ्नो नोटमा नेपालको नक्सा राख्ने कुरालाई कुनैपनि देशले आपत्ति जनाउनुपर्ने विषय नरहेको पनि  बताउनुभयो ।

सल्लाहकार नेपालले केही दिनअघि बीबीसीसँगको एक अन्तर्वार्तामा १०० दरको नोटमा अबदेखि पुरानो बुच्चेको सट्टा चुच्चे नक्सा राख्ने सरकारको निर्णयलाई असान्दर्भिक र अविवेकी भनेका थिए । उनी पूर्व गभर्नरसमेत हुन् ।

टिप्पणीहरू