पूर्वकर्मचारीले काँग्रेसको सिद्धान्तअनुसार काम गरेकोमा देउवा प्रसन्न

पूर्वकर्मचारीले काँग्रेसको सिद्धान्तअनुसार काम गरेकोमा देउवा प्रसन्न
सुन्नुहोस्

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राजनीतिक आन्दोलनमा कर्मचारीहरुले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ ।

पूर्वकर्मचारी समाजको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनको आज काठमाडौँमा उद्धघाटन गर्दै उहाँले राजनीतिक परिवर्तनमा कर्मचारी वृत्तको सहयोगप्रति खुशी व्यक्त गर्नुभएको हो । त्यसक्रममा सभापति देउवाले पूर्वकर्मचारी समाजले कांग्रेसको सिद्धान्तअनुसार काम गरेकोमा धन्यवादसमेत दिनुभएको छ । 

'नेपालकाे हरेक आन्दोलनमा कर्मचारीहरुकाे साथ सहयोग रहेकोले म धन्यवाद दिन चाहन्छु', उहाँले भन्नुभयो, 'पूर्वकर्मचारी समाजका साथीहरूले नेपाली कांग्रेसकाे सिद्धान्तअनुसार काम गर्नुभएकोमा पनि धन्यवाद दिन चाहन्छु । साथै याे पार्टीलाई अझ बलियो बनाउनकाे लागि क्रियाशील रहुनु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।' 

नयाँ बानेश्वरस्थित आनन्द भूमि विजनेस सेन्टरमा भर्खरै सम्पन्न अधिवेशन उद्धघाटन समारोहमा लाेकसेवा आयाेगका पूर्वअध्यक्ष उमेश प्रसाद मैनाली, समाजका पूर्वअध्यक्ष वटुकृष्ण पौडेल, वरिष्ठ उपाध्यक्ष विनोद भट्टराई, उपाध्यक्ष अर्जुन प्रसाद आचार्य, महासचिव बालकृष्ण दाहाल, सचिव माेहन बहादुर थापामगर र कोषाध्यक्ष नारायण प्रसाद नेपाललगायत उपस्थित थिए । 

 पूर्वकर्मचारी समाज निजामती, संस्थान, वित्तीय संस्था, विश्वविद्यालय एवं कम्पनीहरुबाट सेवानिवृत्त भएका प्रजातन्त्रवादी कर्मचारीहरुको साझा संस्थाका रुपमा क्रियाशील छ ।

टिप्पणीहरू