एमालेमा मिसिन आतुर वामदेवलाई ओलीको जवाफ : यसबारे छलफल बिस्तारै गरौंला

एमालेमा मिसिन आतुर वामदेवलाई ओलीको जवाफ : यसबारे छलफल बिस्तारै गरौंला
सुन्नुहोस्

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफू एमालेमा फर्किन आतुर रहेको बताएका छन् । राष्ट्रिय सभा सांसदसमेत रहेका उनले आफूलाई छिटोभन्दा छिटो एमालेमा प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिन सो पार्टीका नेता–कार्यकर्तालाई आग्रहसमेत गरेका छन् ।

वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रमका लागि आज एमाले मुख्यालय च्यासल पुगेका गौतमले आफू नमर्दासम्म काम गर्ने अवसर दिन ओलीलाई सार्वजनिक रुपमा अनुरोध गरेका छन् । पटक–पटक एमालेमा भित्रिन इच्छा जाहेर गरेका उनले ओलीको आलोचना गर्न र कसैको खुट्टा तान्न एमालेमा मिसिने आफ्नो योजना नभएको प्रष्टीकरण पनि दिए ।

आगामी २०८४ सालको निर्वाचनमा ६० लाख मत हासिल गर्ने योजनासहित एमालेमा आउन चाहेको बताएका गौतमले त्यसका निम्ति सो अभियानको कमाण्डर आफूलाई बनाउनुपर्ने प्रस्ताव राखेका छन् । 

एमालेका तत्कालीन उपाध्यक्षसमेत रहेका उनले आफू एउटा शक्ति भएको उल्लेख गर्दै त्यसलाई एमालेले प्रयोग गर्दा भलाई हुने बताए । अध्यक्ष ओलीसँगका पुराना क्षण स्मरण गर्दै उनले भने, ‘तपाईंलाई ढलाउनका निम्ति, तपाईंको आलोचना गर्नको निम्ति, तपाईंलाई खुट्टा तान्नको निम्ति म तपाईंको पार्टीमा आउने होइन । म तपाईंलाई सहयोग गर्न आउने हो । तपाईंले जति उपलब्धि हासिल गर्नुभएको छ । त्योभन्दा बढी उपलब्धि हासिल हुनेगरी म आउँछु ।’ 

जवाफमा अध्यक्ष ओलीले पार्टी प्रवेश गर्ने गौतमको प्रस्तावलाई आफूले सकारात्मक रुपमा लिएको बताए ।

‘वामदेव कमरेडले कतिपय कुराहरु उठाउनुभएको छ । तर छलफल गर्ने यो थलो होइन । त्यसकारण म त्यसमा प्रवेश गर्दिनँ । पछि हामी अर्को समयमा छलफल गर्नसक्छौं । म यति भन्न सक्छु–वामदेवजीको अहिले जुन भावना अभिव्यक्त भएको छ एकताको भावना । त्यो सकारात्मक भावना हो’, ओलीको जवाफ छ ।

टिप्पणीहरू