सन्दिप लामिछानेको मुद्दा 'हेर्न नमिल्ने'मा, अदालतमा आगो बाल्ने चेतावनी

सन्दिप लामिछानेको मुद्दा 'हेर्न नमिल्ने'मा, अदालतमा आगो बाल्ने चेतावनी
सुन्नुहोस्

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । पाटन उच्च अदालदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा आज पहिलो नम्बरमा पेसी तोकिएको मुद्दा हेर्न नमिल्नेमा परेको हो ।

जबरस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका सन्दीपले त्यसप्रति असन्तुष्टि जनाउँदै गत फागुन १० गते उच्च अदालतमा पुनरावेदन गरेका थिए । अघिल्लो पेसीमा यस मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएबमोजिम अग्राधिकार पनि पाएको थियो ।

तर, यसअघि पटक-पटक हेर्न  नभ्याइनेमा पर्दै आएको यो मुद्दा आज हेर्न नमिल्नेमा राखिएको हो । मुद्धामा सुनुवाइ भएर सफाइ पाएको खण्डमा सन्दीपले टी-२० विश्वकप खेल्ने सम्भावना थियो । 

सन्दिपलाई राष्ट्रिय टोलीमा संग्लन गराउने गरी गृहकार्य गरिरहेको नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार सोल्टी होटलमा आयोजित राष्ट्रिय टीमको बिदाइ कार्यक्रममा उनलाई सहभागी गराएको थियो । तर, मुद्दाको सुनुवाई रोकिएसँगै राष्ट्रिय टोलीमा फर्किएर विश्वकप खेल्ने सन्दिपको सपनामा 'ब्रेक' लागेको छ । 

यता, अदालतले जालझेल गरेर सन्दिपलाई अप्ठेरोमा परेको भन्दै क्रिकेट समर्थकहरु आक्रोशित बनेका छन् । केही युवाहरुले अदालतको कदमविरुद्ध आन्दोलनको चेतावनीसमेत दिएका छन् । 

युवा अभियन्ता भनिने डा. निकोलस भुसालले अदालतले जालझेल गरेको दाबी गर्दै भोलिदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् । 'आज सन्दिप लामिछानेको मुद्दा १ नम्बरमा छ, १ नम्बरमा भएर पनि हेर्न नमिल्ने पूरा जालझेल  साजिस छ', उनले फेसबुकमा लेखेका छन्, 'यदि आज खेल्न दिएन भने भोलिदेखि अदालतमा आगो बाल्नू पर्छ है । कलंकीमा भोलि १२ बजे भेटौ है । आन्दोलन देशभर ग़रौ ।'

त्यसो त सन्दिपले पनि आफूलाई षड्यन्त्र गरेर फसाइएको दाबी गर्दै आएका छन् । विश्वकप खेल्ने नेपाली टोली घोषणा भएलगत्तै उनले फेसबुकमा स्टाटस लेखेर आफू षड्यन्त्रको शिकार भएको बताएका थिए ।

टिप्पणीहरू