बस बिसौनी एकातिर, यात्रु झर्ने र उक्लिने अर्कैतिर

बस बिसौनी एकातिर, यात्रु झर्ने र उक्लिने अर्कैतिर
सुन्नुहोस्

सरिता गुरुङ्ग भक्तपुरको जगातीमा बस्छिन् । ललितपुरको सातदोबाटोस्थित एक कम्पनीमा कार्यरत उनलाई सँधै आउने–जानेकै चिन्ताले पिरोल्ने गर्दछ । उनी सँधै सार्वजनिक यातायातमा यात्रा गर्छिन् । बस रोक्ने निश्चित ठाउँ नहुँदा उनलाई चढ्न र ओर्लन समस्या पर्ने गरेको छ । सातदोबाटो ओर्लनुपर्ने उनी कहिलेकाँही चापागाउँ दोबाटो पुग्ने गरेकी छिन् । 

ट्राफिकले चापागाउँ दोबाटोमा पनि रोक्न नदिने उनको अनुभव छ । ‘यात्रु चढेपछि झर्नुपर्छ । ठाउँठाउँमा बसस्टप बनाइदिनुपर्यो । तर स्टप पनि छैन । ट्राफिकले लखेटेको लखेट्यै गर्छ । झर्न नपाउँदै गाडी दौडिन्छ । यात्रुलाई केही भयो भने त्यसको जिम्मेवारी कसले लिन्छ । कहाँ झार्ने, कतिञ्जेल रोक्ने यो एउटा नियम हुनुपर्ने हो । यात्रु चढेपछि ओर्लन त पर्यो नि’, उनले आक्रोश पोख्दै भनिन् । 

सातदोबाटो झर्नुपर्नेमा चापागाउँ दोबाटो पुग्दा समय खेर गइरहेको उनी बताउँछिन् । यस्तो पीडा भोग्ने सरिता मात्रै होइनन्, अन्य धेरै छन् । काठमाडौंको त्रिपुरेश्वरकी सम्झना चौधरीको पनि समस्या उस्तै छ । बानेश्वरस्थित एक कलेजमा अध्ययनरत उनी प्रायः नेपाल यातायात प्रयोग गर्छिन्। 

त्रिपुरेश्वरमा बसस्टप छ तर बस रोकिँदेन । त्यहाँ पनि उस्तै समस्या छ । ट्राफिकले रोक्न नदिँदा सहचालकले गाडी दौडिरहेको समयमा यात्रु ओराल्ने गर्छन् । उषा नेपाली ललितपुरको नयाँबाटोस्थित एक कम्पनीमा कार्यरत छिन् । त्यहाँ पनि बस बिसौनी छैन । नयाँबाटो ओलिर्नुपर्ने उनी कहिले स्टार अस्पताल र कहिले धोबीघाट पुग्ने गरेकी छन् । 

दमका रोगी ६३ वर्षीय सुशील महर्जन उपचारको निम्ति काठमाडौंको मीनभवनस्थित सिभिल अस्पताल पुग्ने गरेका छन् । उनी कोटेश्वरमा बस्छन् । वृद्ध महर्जन राम्ररी हिँड्न समेत सक्दैनन् । लौरोको सहारामा हिँडडुल गर्ने उनी पनि बस स्टप नहुँदा मीनभवन अगाडि झर्नुपर्नेमा बानेश्वरसम्म पुग्ने गरेका छन् । 

‘अस्पतालअगाडि ट्राफिकले रोक्न दिँदैन, चिट काट्छ भनेर जहिल्यै बानेश्वर ओलिर्नुपर्छ,’ उनी भन्छन् । काठमाडौं उपत्यकाभित्र पर्याप्त बस बिसौनी छैनन् । जसका कारण यात्रुले सास्ती खेप्दै आएका छन् । बस स्टप नहुँदा एक ठाउँमा झर्नुपर्ने यात्रु अर्को ठाउँमा ओलर्नु परिरहेको छ । 

बस स्टप भएपनि ट्राफिकले रोक्न दिँदैनन् । यता, ट्राफिक नभएको ठाउँमा सहचालक घण्टौंसम्म गाडी रोकेर बस्छन् । कहाँ गाडी रोक्ने ? कति बेर गाडी रोक्ने ? यो नियम बनाउनुपर्ने आम सर्वसाधारण बताउँछन् । पर्याप्त बस बिसौनी नहुँदा सहचालकले जथाभावी यात्रु चढाउने र ओलार्ने गरेका छन् । 
यसबाट दुर्घटनाको जोखिम बढेको छ । केही महिनाअघि बारामा बसबाट झर्ने क्रममा २ वर्षीया बालिकाले ज्यान गुमाइन् । सुवर्ण गाउँपालिका–३, सतगञ्जमा झार्ने क्रममा कलैया उपमहानगरपालिका–८, मदर्सा टोलकी ती बालिकाको ज्यान गएको हो ।  उनी आमासँगै मामाघर जान लागेकी थिइन् । ना.३ ख ९९९० नम्बरको बस चढेकी उनको आमासँगै झर्ने क्रममा अर्को बसले ठक्कर दिँदा निधन हुन पुगेको हो । 

यता, कपिलवस्तुको वाणगंगा नगरपालिका–७, मोतीपुरकी २६ वर्षीया सिर्जना गिरीको पनि बसबाट झार्ने क्रममा लडेर मृत्यु भयो । गत कात्तिक १५ गते लु. १ ख ८६७७ नम्बरको बसबाट झर्ने क्रममा लडेर उनको ज्यान गएको थियो । यी प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । यस्ता थुप्रै घटना छन् । बस स्टप नहुँदा यात्रुले मात्र सास्ती व्यहोर्नुपरिरहेको छैन, सहचालक, चालकहरु पनि मारमा परिरहेका छन् । 

बस कता रोक्ने ? भन्नेमा सहचालक, चालक नै अन्यौलमा पर्ने गरेका छन् । सम्बन्धित निकायले बस स्टप नतोकिदिँदा यात्रु झार्न र ओलार्न समस्या हुने गरेको उनीहरु बताउँछन् । भक्तपुर–कलंकी रुटमा यात्रुवाहक बस चलाउने सिन्धुलीका एक चालक भन्छन्, ‘यो ठाउँमा यात्रु झार्ने र चढाउने भनेर तोकिएको छैन । अनि यात्रुले भनेको ठाउँमा झार्न खोज्दा ट्राफिक चिट काट्छ । दिनभरको कमाई एउटा चिटले नै सकिन्छ ।’

उनले आक्रोशित हुँदै भने, ‘सम्बन्धित निकाय बस स्टप तोक्दैन । अनि जथाभावी गाडी रोक्यो भनेर ट्राफिकले चिट काट्छ । बस स्टप तोके हामी पनि सोहीअनुरुप चलिहाल्छौं नि ।’

बस बिसौनी बनाउँदै महानगर

यात्रुहरुको सहजता र दुर्घटना न्यूनीकरणका लागि काठमाडौं महानगरपालिकाले अढाई सय बढी स्थानमा बस बिसौनी निर्माण गर्न लागेको छ । महानगरले दुई सय ६४ स्थानमा बस बिसौनी निर्माण गर्न लागेको हो । महानगरका प्रवक्ता नवीन मानन्धरले यसका लागि प्रक्रिया अघि बढिसकेको जानकारी दिएका छन् ।

उनले भने, ‘हामीले बस बिसौनी निर्माणका लागि काम थालिसकेका छौं । एउटा नमूना पनि बनिसकेको छ । अब छिट्टै सबै स्थानमा बस स्टप बनाउँछौं ।’ यता, महानगरका ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठ पनि आगामी चार÷पाँच दिनमै काम अघि बढ्ने बताउँछन् । 

उनका अनुसार महानगरले बस रोक्न निश्चित स्थान नै तोकेर बस स्टप बनाउन लागेको हो । बस कता रोक्ने ? भन्नेमा सहचालक, चालक नै अन्यौलमा पर्दा वा उनीहरुलाई थाहा नहुँदा जथाभावी रोक्ने क्रम बढेकोले महानगरले निश्चित स्थान तोकेर बस बिसौनी बनाउन लागेको उनले जानकारी दिए । 

श्रेष्ठले भने, ‘अहिले सहचालक, चालकलाई बस कता रोक्ने र यात्रुलाई कता ओर्लने ? भन्ने नै थाहा छैन । जथाभावी रोक्ने क्रम बढ्यो । ट्राफिक जाम पनि अस्तव्यस्त बन्यो र दुर्घटनाको सम्भावना पनि उत्तिकै निम्तिएको छ । यसैले, महानगरले निश्चित स्थान नै रोकेर बस स्टप बनाउन लागेको हो ।’

टिप्पणीहरू