समाजवादीको अडानपछि सुदूरपश्चिममा नयाँ ‘ट्विस्ट’

समाजवादीको अडानपछि सुदूरपश्चिममा नयाँ ‘ट्विस्ट’

सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री पाउने सम्भावना बढेको छ । 

प्रदेश प्रमुख नाजिर मियाँले दिएको १० दिनको समयसीमा चैत २ गते सकिएको र उन्मुक्ती विवाद र एकीकृत समाजवादी फरक धारमा लागेकाले मुख्यमन्त्री नबनेपछि फेरि नयाँ आह्वान गर्ने र समाजवादीका दलका नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्री बन्ने सम्भावना धेरै भएको बताइन्छ ।
समाजवादीले मुख्यमन्त्रीको दाबेदारीका लागि नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ आह्वान हुन लागेको हो । समाजवादीको संसदीय दलका नेता सोडारीले प्रदेश प्रमुख मियाँलाई भेटेर लक्ष्मणकिशोरलाई मुख्यमन्त्रीको दावेदारीका लागि दिएको समर्थन फिर्ता लिएका छन् ।

सङ्घीय सरकारको समीकरणअनुसार नै अघि बढ्न प्रदेश सरकार गठनका लागि सोडारीले मुख्यमन्त्रीमा दावेदारीका लागि यसअघि चौधरीलाई दिएको समर्थन फिर्ता लिएको बताए ।  एकीकृत समाजवादीले मुख्यमन्त्रीका दावेदारीका लागि दिएको समर्थनले प्रदेश सरकार बनाउन आवश्यक प्रदेश सभा सदस्यको संख्या पुग्ने थियो । तर सङ्घीय सत्ता समीकरणको दवाव खेप्न नसक्ने र मुख्यमन्त्री प्राप्तीपछि सो दलले मुख्यमन्त्रीका दावेदारीका लागि दिएको समर्थन फिर्ता लिएको हो ।

लक्ष्मणकिशोर नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरी निकट हुन । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले भने सोही पार्टीका कैलाश चौधरीलाई नेकपा (एमाले) का १०, नेकपा (माओवादी केन्द्र) १०, स्वतन्त्रका एक र उन्मुक्तिका दुई जनाको समर्थनमा मुख्यमन्त्रीका दावेदारीका लागि अगाडि सारेकी थिइन् । कैलाश मुख्यमन्त्री बन्नका लागि चार मत कम थियो । मत कम भएकै कारण एकीकृत समाजवादीलाई समर्थन फिर्ता लिन लगाइएको हो । 

लक्ष्मणकिशोरलाई नेपाली काँग्रेसका १८, उन्मुक्तिका पाँच, एकीकृत समाजवादीका चार र राप्रपाका एक गरेर सरकार बनाउन मिल्ने संख्या २७भन्दा बढी ३० जनाको समर्थन थियो । 

मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत नपाउने अवस्था आएपछि चैत २२ गते पदबाट राजीनामा गरेका हुन् । त्यसपछि प्रदेश प्रमुखले चैत २३ गते नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दावेदारी गर्न १० दिनको समयसीमा दिएका थिए । सो समयसीमा सकिन लाग्दा वैशाख २ गते उन्मुक्तिका दुई जनाले मुख्यमन्त्रीमा दावेदारी प्रस्तुत गरे ।

अब लक्ष्मणकिशोर र कैलाश दुबैले मुख्यमन्त्रीमा दावेदारीका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन पाउन नसक्ने भएपछि फेरि प्रदेश प्रमुख मियाँले अर्को आह्वान गर्ने बताइएको छ । उहाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा अर्को दावेदारी गर्ने अनुमान छ ।

टिप्पणीहरू