मुख्यमन्त्रीमा नाउपाका दुवै दाबेदार अस्वीकार, पुनः दाबी पेश गर्न आह्वान

मुख्यमन्त्रीमा नाउपाका दुवै दाबेदार अस्वीकार, पुनः दाबी पेश गर्न आह्वान
सुन्नुहोस्

सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि पेश गरिएको दुवै दाबी अस्वीकृत गरेका छन् । 

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई प्रदेश सभा सदस्यले पेश गरेको दाबीलाई अस्वीकार गर्दै उनले मुख्यमन्त्रीमा पुनः दाबी पेश गर्न आह्वान गरेका हुन् । मुख्यमन्त्रीमा दाबी पेश गर्नका लागि दुई दिनको समय थप गरिएको छ । प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम वैशाख ६ गते बेलुका ५ बजेभित्र दाबी पेश गरिसक्न भनेको छ । 

‘सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०८१–०१–०२ गते बेलुका ५ बजेभित्र दाबी पेश गर्न आह्वान गर्नुभएकोमा नागरिक उन्मुक्ति पार्टीका दुई जना माननीय प्रदेश सभा सदस्यबाट दाबी पेश हुन आएको सन्दर्भमा दुवै दाबीको आधारमा निष्कर्षमा पुग्न नसकिएको हुँदा माननीय प्रदेश प्रमुख नजिर मियाँज्यूले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि स्पष्ट दाबीसहित मिति २०८१–०१–०६ गते बेलुका ५ बजेभित्र दाबी पेश गर्न आह्वान गर्नुभएको छ’, विज्ञप्तिमा उल्लेख छ । 

सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरी र रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले गत आइतबार छुट्टा-छुट्टै दाबी पेश गरेका थिए ।

टिप्पणीहरू