दिल्लीका मुख्यमन्त्रीलाई तिहाड जेल पुर्याइयो

दिल्लीका मुख्यमन्त्रीलाई तिहाड जेल पुर्याइयो
सुन्नुहोस्

भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई तिहाड जेल लगिएको छ । स्थानीय एक अदालतले आज उनलाई १५ अप्रिलसम्म थुनामा राख्न अनुमति दिएपछि तिहाड जेल लगिएको बताइएको छ । 

तिहाड भारतकै सर्वाधिक सुरक्षा व्यवस्था रहेको जेल हो । उनलाई जेलभित्रको २ नम्बर सेलमा राखिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अबदेखि उनलाई बिहान साढे ६ बजे ब्रेकफास्ट दिइने छ । जसमा चिया र पाउरोटी हुने छ । 

साढे १० देखि ११ बजेको बीचमा दाल, तरकारी र उनको रुची अनुसारको भात वा रोटी उपलब्ध गराइनेछ । अपरान्ह साढे ३ बजे चिया र दुई वटा विस्कुट जेल प्रशासनले उपब्ध गराउने नियम छ । साँझ ६ बजेको डिनरमा दाल, तरकारी र भात वा रोटी उपलब्ध गराइन्छ । 

जेलमा उनलाई १८ वटा च्यानल प्रशारण हुने टेलिभिजन हेर्न दिइने समाचारमा उल्लेख छ । आफ्नो वकिलसँग चाहेको दिनमा एक घण्टा भेट्न पाउँछन् । हप्तामा दुई दिन परिवारका सदस्यहरुसँग पनि भेट्न पाउँछन् । मधुमेहका रोगी भएकाले हरेक दिन स्वास्थ्य परीक्षण गराइन्छ । सुरक्षाको लागि जेलको आन्तरिक प्रशासनले एक जना सहयोगी दिने नियम पनि छ ।

प्रहरी हिरासतबाटै मुख्यमन्त्रीको कार्यभार सञ्चालन गर्दै आएका उनले तिहाड जेल जानुअघि लोकसभाको निर्वाचनपूर्व प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले गरेको कदमको चाँडै गतिलो जवाफ दिइने बताएका छन् । उनले पदबाट रानीनामा नदिने यसअघि नै बताइसकेका छन् । 

केजरीवाल मदिरासम्बन्धी नीति निर्माणको क्रममा एक अर्ब ४० करोड भारु अनियमितता गरेको आरोपमा गत २१ मार्चमा पक्राउ परेका हुन् ।

टिप्पणीहरू