रास्वपाले जातीय राज्यका पक्षधरलाई उम्मेदवार बनाउने चर्चा

रास्वपाले जातीय राज्यका पक्षधरलाई उम्मेदवार बनाउने चर्चा

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ मा पहिचान पक्षधर मिलन लिम्बूलाई उम्मेदवार बनाउने तयारी गरेको छ । माओवादी केन्द्रसँगको आवद्धता परित्याग गरेपछि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका लिम्बू पहिचान पक्षधर हुन् । पूर्वका जातिवादी संघ संगठनहरुले कोशी प्रदेश नामांकरणविरुद्ध गरेको आन्दोलनमा उनले समर्थन जनाउँदै आएको बताइन्छ ।

माओवादी केन्द्र निकट प्रेस सेन्टरमा आवद्ध  लिम्बू आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिवसमेत हुन् । शुरुमा पहिचानवादीको तर्फबाट साझा उम्मेदवार बन्ने उनको प्रयास थियो । तर, ‘कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समिति’ले डकेन्द्रसिंह थेगिम लिम्बूलाई उम्मेदवार बनाएपछि उनी स्वतन्त्र उम्मेदवारका रुपमा प्रचार–प्रसारमा जुटेका थिए ।

चुनाव जित्न चर्चित र युवा अनुहार खोजिरहेको रास्वपाले लिम्बूलाई पार्टीमा भित्र्याएर उम्मेदवार बनाउन कसरत भइरहेको सो पार्टी स्रोतले जनाएको छ । यद्यपि आधिकारिक रुपमा भने लिम्बूलाई उम्मेदवार बनाउनेबारे अहिलेसम्म रास्वपाका नेताहरुले मुख खोलेका छैनन् । 

लिम्बूले विगतमा रवि लामिछानेसँगै न्युज २४ मा काम गरेका थिए । त्यसकारण उनलाई उम्मेदवार बनाउन रविको समेत चाहना रहेको कतिपयको अनुमान छ । तर, रास्वपाको तल्लोपंति भने संघीयताको समेत विपक्षमा रहँदै आएको पार्टीले जातीय राज्यको वकालत गर्दै आएका व्यक्तिलाई उम्मेदवार बनाउन हुँदैन भन्नेमा देखिन्छ ।  

निर्वाचन आयोगले उपचुनावको मिति घोषणा गरेलगत्तै रास्वपाले इलाम–२ को वस्तुस्थिति बुझ्न केन्द्रबाट टोली खटाएको थियो । कविन्द्र बुर्लाकोटी नेतृत्वको टोलीले स्थानीय मतदाताको मनोविज्ञान बुझेर त्यसअनुसार उम्मेदवार बनाउन पार्टीमा सिफारिस गरेको थियो । तर, स्थानीयस्तरमा भिजेका र लोकप्रिय अनुहार पार्टीमा नभेटेपछि अन्य पार्टी वा संघ संस्थामा आवद्ध व्यक्तिलाई उम्मेदवार बनाउने तयारीमा रास्वपा रहेको बताइन्छ । 

सोहीअनुसार सुवास नेम्वाङका छोरा सुहाङ पनि रास्वपाको रोजाईमा परेका थिए । तर, एमालेले उनलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

रास्वपाले १७ चैतमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने जनाएको छ । त्यसअघि सभापति लामिछानेसहितको टोली इलाम पुगेर उम्मेदवारका आकांक्षीहरुबीच छलफल गराउने तयारी छ ।

टिप्पणीहरू