विमानस्थलबाट किन हटाइयो मानव बेचबिखन ब्यूरोको टोली ?

विमानस्थलबाट किन हटाइयो मानव बेचबिखन ब्यूरोको टोली ?

विदेशमा नेपाली बेचिने क्रम अझै पनि रोकिनसकेको छैन । भिजिट भिसामा पठाउने नाममा मानव तस्करी गर्ने काम जारी रहेको आरोप लागिरहेकै छ । नक्कली प्रमाणपत्र पेश गरेर पनि विभिन्न मुलुक पठाउने गरिएको छ । गृह मन्त्रालय र नेपाल प्रहरीले यसअघि गरेको विभिन्न अनुसन्धानले पनि भिजिट भिसाको नाममा मानव तस्करी हुँदै आएको निश्कर्ष निकालेको छ । 

विमानस्थलमा भिजिट भिसाको सेटिङ्गको जालो सरकारको कैयौं प्रयासले पनि भत्किन नसकेको अवस्था छ । भिजिट भिसाको सेटिङ्ग अझै पनि कायम नै छ भने नेपालीले दुःख पाउने क्रम जारी नै छ । भिजिट भिसामा गएका अधिकांश नेपाली अलपत्र परेका छन् । त्यस्तै,कतिपय बन्धक छन् । 

विशेषतस् महिलाहरुको खाडी मुलुकमा बेचबिखन भइरहेको छ । उनीहरु घरेलु हिंसा,श्रम शोषण,यौन दुर्व्यवहारको शिकार हुँदै आएका छन् । मानव तस्करी रोक्न गृहले विभिन्न प्रयास गरिरहेको छ । तर पनि त्यसले खासै प्रभावकारी भूमिका खेल्न सकेको देखिँदैन । विमानस्थलमा भएको कडा व्यवस्थाका बाबजुद पनि मानव तस्करी हुनुले भित्रभित्रै चलखेल भएको पुष्टि गर्छ । 

त्यस्तै खालको गुनासो आएपछि गृहले विमानस्थलमा खटिएको मानव बेचबिखन अनुसन्धान ब्यूरोको विशेष टोलीलाई हटाएको छ । भिजिट भिसामा नेपालबाट विदेश पठाएर हुने मानव बेचबिखन रोक्न विमानस्थलमा खटिएको प्रहरी टोली हिजो रातिबाट हटेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका डिआइजी अर्जुन चन्द ठकुरीको कमाण्डमा खटिएको टोलीलाई हटाएर अर्कै टोली ल्याइएको स्रोतले बतायो । गृहको ठाडो आदेशपछि पुरानो टोलीलाई हटाइएको स्रोतको भनाइ छ । 

स्रोतका अनुसार मानव बेचबिखन रोक्न खटिएको टोली ‘बार्गेनिङ’ मा व्यस्त भएको भनी व्यापक गुनासो आएपछि गृहले हिजो ठाडो आदेश दिएको हो । ‘त्यहाँ धेरै चलखेल भएको गुनासो आएकाले टोलीलाई हिजो रातिदेखि हटाइएको रहेछ । गृह मन्त्रालयको निर्देशनले हटेको भन्ने छ’, स्रोतले भन्यो ।

डिआइजी चन्दले भिजिट भिसामा जाने यात्रुको विवरण संकलन गर्नका लागि त्यहाँ दुई–तीन जना प्रहरी खटाएका थिए । प्रहरी टोलीले ल्यापटपमा यात्रुहरुको अभिलेख राख्दै आएको थियो । गृहले यसअघि पनि सो टोलीलाई त्यहाँबाट हटाएको थियो । अध्यागमन कटेपछि यात्रुसँग सोधपुछ गर्न नमिल्ने भन्दै विरोध भएपछि हटाइएको टोली पुनः त्यसरी नै बस्न थालेको थियो । 

हाल गृहले त्यहाँ सईको कमाण्डमा असईसहितको टोली राखेको छ । पुरानो टोलीले गैरकानुनी रुपमा विदेश जान लागेकालाई रोक्नुको साटो म्यानपावर र ट्राभल्स कम्पनीसँग चलखेल गरेर धमाधम छाडेपछि गृहले ‘एक्सन’ लिएको स्रोतको दाबी छ । 

स्रोत भन्छ,‘मानव बेचबिखन रोक्न हवल्दार,असई खटाइएको थियो । उनीहरुले अनुगमन गर्ने नाममा आएर प्रतिव्यक्ति २० हजार रुपैयाँको दरले उठाउँदै आएका थिए । म्यानपावर र आठ–१० वटा कम्पनीसँग यसरी पैसा लिएर छोडिदिने गरेका थिए । त्यसैले गृहले उक्त टोलीलाई यहाँबाट हटाएको हो ।’

मानव बेचबिखन रोकेबापत हाकिमले पाँच हजार रुपैयाँ पाउँदै आएका थिए । जुन कट्टा भएको छ । हाल सईको कमाण्डमा घुमुवा टोली खटिएको छ । उक्त टोलीले पनि त्यस्तै हर्कत दोहोर्याउन सक्ने आशंका गरिएको छ ।

टिप्पणीहरू