प्रचण्डविरुद्ध मुद्दा चलाउने सुइँको पाएपछि चोलेन्द्रमाथि महाभियोग दर्ता भएको माओवादी बैठकमा खुलासा

प्रचण्डविरुद्ध मुद्दा चलाउने सुइँको पाएपछि चोलेन्द्रमाथि महाभियोग दर्ता भएको माओवादी बैठकमा खुलासा

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई षड्यन्त्रपूर्वक मुद्दा चलाउन खोजिएपछि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता गरेको खुलासा गर्नुभएको छ । 

१७ साउनदेखि जारी केन्द्रीय समिति बैठकमा आज सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै उहाँले आफ्नो पार्टी नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजेकै कारण जबराविरुद्ध महाअभियोग दर्ता गर्नुपरेको खुलाउनु भएको हो । 

माओवादी पार्टी र नेतृत्वविरुद्ध अहिले पनि घेराबन्दी भइरहेको भन्दै प्रचण्डले यस्ता षड्यन्त्र परास्त गर्न अन्य राजनीतिक दलले पनि सहयोग गरेको जानकारी पनि बैठकमा गराउनुभयो । जसअनुसार जबराविरुद्ध महाअभियोग दर्ता गरेको र यसमा अन्य राजनीतिक दलले सहयोग गरेको उहाँको भनाइ छ ।

 माओवादी केन्द्र र नेताहरुमाथि मुद्दा लगाउन खोज्नुको पछाडि विचार वर्ग पक्षधरता रहेको भन्दै प्रचण्डले जारी केन्द्रीय समिति बैठकबाट भने पार्टी मुख्य नेतृत्वको वरिपरि एकतावद्ध हुने स्थिति बनेको दावी पनि गर्नुभएको छ ।

 १ फागुन २०७८ मा माओवादी, कांग्रेस, एकीकृत समाजवादीसहित तत्कालीन पाँच दलीय गठबन्धनका ९८ जना सांसदले तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग दर्ता गराएका थिए । महाअभियोग लगाउँदा जबराविरुद्ध २१ बुँदे आरोप लगाइएको थियो । २७ मंसिर २०७९ मा अवकाश पाएका जबराले आफूविरुद्धको महाअभियोगको अवस्था स्पष्ट नहुँदा निवृत्तिभरणलगायतका सुविधाबाट बन्चित छन् ।

टिप्पणीहरू