विमानस्थलका सफाइ मजदुर भुईंमा,बदमासी गर्ने कुन ठेकेदार ?

विमानस्थलका सफाइ मजदुर भुईंमा,बदमासी गर्ने कुन ठेकेदार ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सफाई कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थल परिसर अनि बगैंचासमेत चिटिक्क पार्ने ती कर्मचारी महिनौंदेखि पूर्वशर्त बमोजिमका अधिकांश सुविधा नपाइएपछि आजदेखि अनिश्चितकालीन आन्दोलनमा उत्रिएका हुन् ।

अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ सफाई कार्यमा खटिएका १ सय ५८ जनालाई ठेकेदार कम्पनी सुनगाभा श्रेष्ठ–सगरमाथा ९जेभी० ले विमानस्थल कार्यालयसँग गरेको यसअघिको सम्झौताविपरित सुविधाबाट वञ्चित गराइएको भन्दै उनीहरु भुर्ईंमा बस्न बाध्य भएको नागरिक उड्डयन प्राधिकरणको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको  छ  । 

कार्यालयले विमानस्थल सफाइको निम्ति कामदारहरुको व्यवस्थापन ठेकेदार कम्पनीहरुमार्फत् गर्दै आएको छ । आन्तरिकतर्फ सम्पूर्ण सरसफाइको जिम्मा रमेश ढकाल,प्रकाश ढकाल,सुनगाभा श्रेष्ठलगायतको संयुक्त लगानीमा सञ्चालित सुनगाभा सगरमाथालाई यसअघि नै दिइएको थियो । कम्पनीले हरेक सफाई कर्मचारीलाई काममा लगाउनुअघि गरेको सम्झौतामा महंगी भत्ता,बिदा,सामाजिक सुरक्षा कोषमा जम्मा गरिने रकमबारे प्रष्टसँग उल्लेख गरी हस्ताक्षर गरिएको बताइन्छ । तर एक वर्षदेखि कम्पनीले सम्झौतापत्रमा उल्लेखित अधिकांश आधारभूत सुविधा नदिएपछि उनीहरु आन्दोलनको प्रारम्भिक चरणमा धर्नामा बसेका हुन् । 

यससम्बन्धमा सम्झौता गरेको कम्पनीका सञ्चालक र उड्ययन प्राधिकरणका अधिकारीहरुले एक अर्कालाई आरोप लगाएर आफूहरुलाई आन्दोलनमा धकेल्ने वातावरण बनाइरहेको सफाई कर्मचारीहरुको भनाई छ । काममा लगाएको कम्पनीका तर्फबाट मेनेजरहरु नरोत्तमराज श्रेष्ठ र कमला नेपालले ठेकेदारहरुलाई उक्साएर सफाई कर्मचारीलाई दुःख दिएको एकथरिको आरोप छ ।  

आन्तरिक विमानस्थलतर्फ सरसफाईको सम्झौता कोभिड अगाडि भएको हो । नयाँ ठेक्का आह्वान गर्ने क्रममा चित्त नबुझेपछि उक्त कम्पनी अदालत गएको थियो । यसअघिको ठेक्का सम्झौतामा कामदार कर्मचारीको सम्पूर्ण सेवा सुविधाहरु ठेकेदार कम्पनीले व्यहोर्नुपर्ने उल्लेख थियो । कर्मचारीहरुले दशैं खर्चलगायत थप सेवा सुविधा माग गरेपछि समस्या गाँठो परेको हो । अन्तर्राष्ट्रिय विमानस्थलतर्फको सम्झौतामा उक्त व्यवस्था हटाइएको विमानस्थल कार्यालयको दाबी छ ।

‘पहिले गरिएको डकुमेन्टको आधारमा ठेकेदारले व्यहोर्नुपर्छ भन्दै आएका छौं । अन्तर्राष्ट्रियतर्फ नयाँ ठेक्का भएकाले सबै मिलाइएको छ । नयाँ व्यवस्थामा पुरानोमा भएको कमि कमजोरी हटाउने भनी स्पष्ट व्याख्या गरियो । आन्तरिकतर्फ पुरानो सम्झौता यथावत भएकाले समस्या छ,’ नागरिक उड्डयन प्राधिकरण स्रोतले भन्यो । पुरानो सम्झौताविरुद्ध ठेकेदार कम्पनीले हालेको मुद्दा अहिले पनि विचाराधीन छ । सोही कारण कानुनी अड्चन उत्पन्न भएको हो । 

पहिलेको सम्झौतामा लेखिएका बाहेकको सुविधा मजदुर तथा कर्मचारीलाई सबै ठेकेदार कम्पनीले व्यहोर्नुपर्ने उल्लेख थियो ।  अहिले त्यही सम्झौताको पालना नहुँदा मजदुरले दुःख पाएको बताइन्छ । आन्तरिक र वाह्य दुवैतर्फ गरेर तीन सय जति सफाई कर्मचारी कार्यरत छन् ।

यसबीच विमानस्थल कार्यालयले मजदुरलाई ओभरटाइम दिनुपर्ने व्यहोराका साथ प्राधिकरणमा पत्राचार गरेको जानकारी दिइएको छ । साथै आन्तरिकतर्फका ठेकेदारलाई मुद्दा फिर्ता लिन र नयाँ ठेक्काको प्रक्रिया पुर्याएर जिम्मा लिन पनि कार्यालयले उक्त कम्पनीलाई अनौपचारिक आग्रह गर्दासमेत टेरपुच्छर नलगाएको आन्दोलनरत कर्मचारीहरुले बताएका छन् ।

टिप्पणीहरू