नीति तथा कार्यक्रममा रास्वपा ‘ठोस कुरा’ खोज्दै, एमालेले ‘जीवन’ भेटाएन

नीति तथा कार्यक्रममा रास्वपा ‘ठोस कुरा’ खोज्दै, एमालेले ‘जीवन’ भेटाएन

प्रतिपक्षमा रहेका संसदका दुई ठूला दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले ल्याएको नीति तथा कार्यक्रमले मुलुकको समस्या समाधान नगर्ने टिप्पणी गरेका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सुनेर संसद भवनबाट बाहिरिने क्रममा यी दुई पार्टीका नेताहरुले त्यस्तो टिप्पणी गरेका हुन् । नीति तथा कार्यक्रमले अहिलेको आर्थिक संकटको निकास दिन नसक्ने उनीहरुको दाबी छ ।  

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नीति तथा कार्यक्रममा ठोस कुरा नभएकाले अहिलेको आर्थिक संकटलाई सम्बोधन गर्न नसक्ने दाबी गरे । यसबारे सदनमा छलफल हुने उनको भनाइ छ । ‘आजको अवस्थालाई ठोस रुपमा सम्बोधन गर्नेगरी नीति तथा कार्यक्रम आएको छैन । यसमा सैद्धान्तिक छलफल गर्न आवश्यक छ,’ परियारले भने ।

त्यस्तै, एमाले सचिव योगेश भट्टराईले नीति तथा कार्यक्रम ज्यान भएको तर जीवन नभएको जस्तो देखिएको टिप्पणी गरेका छन् । ‘यो नीति तथा कार्यक्रम ज्यान भएको, जीवन नभएको छ । प्राण नभएको छ, कुनै सपना छैन । आजको तमाम मुलुकले भोगेको समस्या समाधान गर्ने कुनै नीति छैन,’ उनले भने ।

टिप्पणीहरू