शुरु भयो एसईई, जापानमा पनि परीक्षा केन्द्र

शुरु भयो एसईई, जापानमा पनि परीक्षा केन्द्र

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु भएको छ । चैत २९ गतेसम्म सञ्चालन हुने परीक्षामा सहभागी हुन चार लाख ८५ हजार ३९६ जनाले आवेदन फाराम भरेका छन् । तीमध्ये जापानबाट १४ जना विद्यार्थीले एसईई परीक्षा दिन लागेका हुन् । 

राष्ट्रिय परीक्षा बोर्डका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानको एभरेष्ट इण्टरनेसनल स्कुलबाट परीक्षा दिन लागेका हुन् । त्यहाँ चार जना छात्रा र १० जना छात्र छन् । नेपालमा दुई हजार ३७ परीक्षा केन्द्र तोकिएको छ । पुरानो पाठ्यक्रमअनुसार यो वर्ष अन्तिम परीक्षा हो । आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा मात्र सञ्चालन हुने बताइएको छ । 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालयका उपनियन्त्रक भक्तबहादुर गोदारले दृष्टिविहीन, कारागार तथा बाल सुधार गृहमा रहेका विद्यार्थीलाई सम्बन्धित ठाउँबाटै परीक्षा दिन पाउने व्यवस्था मिलाइएको बताए । 

गोदारका अनुसार उनीहरुको अवस्थालाई मध्यनजर गर्दै नजिकको परीक्षा केन्द्रको उपकेन्द्र तोकेर सम्बन्धित विद्यालयबाटै परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यो वर्ष मुुलुकभरबाट ५५ जना दृष्टिविहीन र ५० जना कारागार तथा बालसुधार गृहमा रहेका विद्यार्थीले एसईई दिन लागेका छन् ।

उपनियन्त्रक गोदारले कक्षा ११ को शैक्षिक सत्र सुरु हुनुअगावै नतिजा प्रकाशित गरिने बताएका छन् । उनले प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको कठिनाई स्तर एउटै भए पनि हरेक प्रदेशमा फरक प्रश्न सोधिने व्यवस्था गरिएको जानकारी दिएका छन् ।
 
कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुन सकेको थिएन । ती वर्ष विद्यालयको मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको थियो । तर शैक्षिक सत्र २०७८ मा विगतमा झैँ प्रश्नपत्रका आधारमा विद्यार्थीले भौतिक रुपमा उपस्थित भएर परीक्षा दिएका थिए ।

गत वर्ष चार लाख ९५ हजार ७५१ जनाको सहभागिता थियो । तीमध्ये जापानबाट २० जना विद्यार्थीले परीक्षा दिएका हुन् । गत वर्षको एसईई परीक्षामा ४१ हजार ६२७ जनाले ३.२० देखि ३.६० जीपीए, ६९ हजार ९०० जनाले २.८० देखि ३.२० जीपीए र ९० हजार ७५८ जनाले २.४ देखि २.८० जीपीए ल्याएका थिए । 

त्यस्तै, एक लाख १२ हजार ७३३ जनाले २ देखि २.४ जीपीए ल्याएका थिए भने एक लाख ५९४ जनाले १.६ देखि २ जीपीए ल्याएका हुन् । यता १.२ देखि १.६ जीपीए ल्याउनेको संख्या ४४ हजार ५८६ र ०.८० जीपीए ल्याउनेको संख्या तीन हजार २८० थियो ।

टिप्पणीहरू