पूर्वका विद्यालयमा दिवा खाजाको नयाँ ‘मेन्यू’

पूर्वका विद्यालयमा दिवा खाजाको नयाँ ‘मेन्यू’

झापाको दमक नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका विद्यालयहरुमा ‘जंकफुड’ निषेध गरेको छ ।  पानीपुरी, चटपटे, मैदाबाट बनेका खानेकुरामा प्रतिबन्ध लगाउँदै नगरपालिकाले दिवा खाजाको नयाँ सूची सार्वजनिक गरेको छ । 

अबदेखि विद्यार्थीलाई भुटेको भात–तरकारी, गहुँको पिठोबाट बनेको पुरी–तरकारी, भुटेको अण्डा र चिउरा, चामलको खीर–तरकारी, पानी रोटी–तरकारी, दहीचिउरा–तरकारी खुवाउनुपर्ने नगरपालिकाले जनाएको छ । त्यसैगरी, दिनहुँ सिजनअनुसारको फलफूल पनि खाजामा समावेश गर्नुपर्नेछ । नगरपालिकाले सबै विद्यालयलाई पत्राचार गर्दै खाजासम्बन्धी नयाँ व्यवस्था लागु गर्न निर्देशन दिएको छ । 

‘यस नगरपालिकाभित्र सञ्चालनमा रहेका बालविकास केन्द्रसहित सबै विद्यालयहरुमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरबाट जारी गरिएको “विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका, २०७७” अनुरुप भौगोलिक क्षेत्रअनुसार पूर्वी तराई क्षेत्रका लागि सम्पूर्ण पौष्टिक विवरणसहित तयार पारिएको तपसिलका छ वटा खाजाको मेन्यूअनुसार विद्यालयमा विद्यार्थीहरुलाई दिवाखाजा खुवाउने व्यवस्था गर्नु–गराउनुहुन अनुरोध छ’, पत्रमा उल्लेख छ ।

टिप्पणीहरू