उधारो पुरस्कारबारे प्रदेशमा चर्चा

उधारो पुरस्कारबारे प्रदेशमा चर्चा

लुम्बिनी प्रदेशको राजधानीमा तीन महिना अगाडि आयोजित एउटा कार्यक्रम र घोषित नगद पुरस्कारबारे फेरि चर्चा हुन थालेको छ । झण्डै डेढ दर्जन पत्रकारलाई पुरस्कृत गरिएको कार्यक्रममा घोषित रकम आजसम्म प्रदान गरिएको छैन । पुरस्कार घोषणा गरेको सरकार र मन्त्री बाहिरिएपछि उक्त विषय पुनः अनिश्चित बनेको छ ।

गत माघ २१ गते लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा आयोजित भव्य कार्यक्रममा प्रदेशका १६ जना पत्रकारलाई नगदसहित पुरस्कृत गरियो । प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिलामन्त्री सन्तोषकुमार पाण्डेको अध्यक्षतामा बसेको माघ १८ गतेको निर्णयले १६ जना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । 

समारोहमा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री डिल्ली चौधरीलगायतको रोहबरमा १५ जनालाई जनही ५० हजार रुपैयाँ र एक जनालाई एक लाखको दरले पुरस्कार दिने भनियो । नगद ५० हजार र नगद एक लाखसहित पुरस्कृत गरिएको व्यहोरा सम्मानपत्रमा उल्लेख छ । पुरस्कृत पत्रकारको बारेमा पनि संक्षेपमा लेखिएको छ । तर, घोषित पुरस्कार राशी हालसम्म कसैले पनि प्राप्त गरेका छैनन् ।

प्रदेश सरकारको उधारो एक लाख नगदसहित अग्रज पत्रकारिता पुरस्कार लमहीका कृष्णप्रसाद घिमिरेले प्राप्त गरेका हुन् । जनही ५० हजार उधारो रकमसहित सृजनशील पत्रकारिता पुरस्कार प्राप्त गरेकामा भैरहवाका रविन्द्र प्रताप गुप्ता, बुटवलका तेजेन्द्र के.सी, कपिलवस्तुका भुपाल थापा, नेपालगञ्जका अर्जुनकुमार ओली, रुकुम पूर्वका जयमान बुढामगर, दाङका चुमा आचार्य बञ्जाडे, पाल्पाका माधव अर्याल, अर्घाखाँचीका वीरेन्द्र के.सी, बाँकेका सिराजुद्धिन खान, प्युठानका मधुसुदन भण्डारी, दाङका दशरथ घिमिरे, बर्दियाका रामप्रसाद चौहान हुन् । बुटवलका भगवती पाण्डे, दाङका सन्तोष दहित र विमला चौधरीलाई पनि पुरस्कृत गरिएको थियो । तर कसैले पनि हालसम्म तोकिएको रकम पाएका छैनन् ।

घटनाक्रमसँगै प्रदेशका सञ्चारकर्मीहरुले पूर्वमन्त्री पाण्डेलाई पत्रकारहरुलाई ढाँट्ने भिआईपीको संज्ञा दिएका छन् । मन्त्रालयको नामसमेत पहिलेको आन्तरिक मामिलाबाट अहिले गृह भएको छ । उ बेलाका मन्त्रीले घोषणा गरेको नगद पुरस्कार नवनियुक्तमन्त्री दिनेश पन्थीले बाँड्लान् कि के गर्लान् ? यतिबेला सोही विषयले मन्त्रालयमासमेत चर्चा पाएको छ ।

टिप्पणीहरू