कुलेश्वरदेखि स्वयम्भूसम्म दैनिक छ घण्टा बिजुली बन्द गरिँदै

कुलेश्वरदेखि स्वयम्भूसम्म दैनिक छ घण्टा बिजुली बन्द गरिँदै
सुन्नुहोस्

राजधानीका विभिन्न स्थानमा चार दिन विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले भोलिदेखि शनिबारसम्म दैनिक ६ घण्टा विद्युत आपूर्ति प्रभावित हुने जानकारी दिएको छ । 

जसअनुसार स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो कन्डक्टर (तार) लाई नयाँ कन्डक्टरमा परिवर्तन र मर्मत गर्नुपर्ने भएकोले विद्युत आपूर्ति प्रभावित हुने भएको हो । 

कुलेश्वर र बालाजु वितरण केन्द्रअन्तर्गत सीतापाइला, इचङ्गु फिडरसहित एलटी लाइनमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । सीतापाइला फिडरअन्तर्गत सोल्टी दोबाटो, मुसलमान टोल, ज्योती एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल, प्रधान कार्यालयमा बिजुली आपूर्ति बन्द हुने छ । 

त्यस्तै, इचङ्गु फिडरअन्तर्गत सानो भर्याङ, ठूलो भर्याङ, कामना स्कुलसहित अन्नपूर्ण चोक क्षेत्र र एलटी लाइनमा ढुंगेधारा, क्लब र तरकारी बजार क्षेत्रमा पनि विद्युत आपूर्ति नहुने बताइएको छ ।

टिप्पणीहरू