सल्लाह तोडेर आफैँ सुटुक्क

सल्लाह तोडेर आफैँ सुटुक्क

चिठ्ठी आउँछ चीनको, शुरुमा पुग्छ भारतीय दूतावास । अनि, जमघट हुँदा सँगसँगै जाने भनेर सल्लाह, अन्तिममा हुतराज एक्लै हुत्तिने !

तीन सुरक्षा निकायका प्रमुखले एउटा भोजमा भेटिँदा चीनबाट आएको निम्तो मान्न सँगै जाने सल्लाह गरे । त्यहीअनुसार राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले ‘हुन्छ–हुन्छ’ भन्दै चर्को कुरा गरे । अन्तिममा उनी वैशाख १२ गते बुधबार एक्लै चीनतिर हुत्तिएका छन् । उता, प्रहरीका आइजी बसन्त कुँवर फ्रान्सको लियोन पुगेका छन् भने सशस्त्रका राजु अर्यालचाहिँ कूलदेउताको पूजा भन्दै काठमाडौंमै छन् । 

चीनले कुरा कोट्याएको थियो, नेपालको सुरक्षा निकायका प्रमुखहरूलाई एकैपटक बोलाएर आफ्नो सरोकारको विषय राख्ने । तर, उनीहरूकै बीचमा कुरा नमिल्दा शुरुमा गुप्तचर गए । अब पालैपालो प्रहरी र सशस्त्रका आइजी जाने संभावना छ । महत्वका दृष्टिले सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्रसँग चीनले अलिक बाक्लो कुरा गर्न खोजेको बताइन्छ । कानुन कार्यान्वयन गर्ने निकाय भएका कारण प्रहरीसँग पनि उसका केही जरुरी सरोकार हुने नै भए । तर, नेपालको त्यही गुप्तचर, जसले गुप्तचरीबाहेक अरु सबैथोक जानेको छ, बोलाउनासाथ शुरुमै पुग्ने उही भयो । 

चीनले नेपाल प्रहरीलाई सञ्चार सेट, ड्रोनसहितका सामग्री सहयोग गर्ने भनेको थियो । तर, चीनले पठाएको चिठी शुरुमै लैनचौरस्थित दूतावासमा पुग्दा भारतले आपत्ति जनाएको बताइन्छ । दिनेले दिन तयार, लिने पनि तयार भएको अवस्थामा छिमेकीले चासो राखेकै कारण ती सामान ल्याउन समस्या हुनुलाई सुरक्षाविद्हरूले गम्भीर रुपमा बुझेका छन् । अहिलेको समय प्रहरीका लागि ड्रोनको प्रयोग उपयोगी हुने देखिन्छ ।

पहिला पहिला भीडभाडमा माथिबाट कुनै कुराको निगरानी राख्नुपर्ने भएमा हेलिकोप्टर नै उडाउनुपर्ने अवस्था थियो । सशस्त्र द्वन्द्वकालमा बेलायतले सेनालाई जासुसी जहाज आइल्याण्डर दियो । अहिले ड्रोनको जमानामा हेलिकोप्टरको विकल्प बनेको छ । बुझिएअनुसार चीनबाट २० थान अत्याधुनिक ड्रोन आउने क्रममा रहेको छ । तर, सशस्त्रका हकमा चीनले के कस्तो सहयोग गर्ने भन्नेबारे केही बताइएको छैन ।

(साभार:जनआस्था साप्ताहिकबाट)
 

टिप्पणीहरू