लुम्बिनी म्याराथनका सबै विधामा नेपाली धावक विजयी

लुम्बिनी म्याराथनका सबै विधामा नेपाली धावक विजयी

लुम्बिनीमा सम्पन्न अन्तर्राष्ट्रिय पिस म्याराथनका विधामा नेपाली धावक विजयी भएका छन् । नेपाल, चीन, पाकिस्तान र श्रीलंकाका धावकहरू सहभागी म्याराथनमा पुरुषतर्फको म्याराथनको उपाधि बागलुङका तीर्थ पुनले प्राप्त गरेका छन् ।

उनले ४२ दशमलव एक सय ९५ किलोमिटरको दूरी दुई घण्टा २० मिनेट ४९ सेकेन्डमा पार गरेका हुन् । विजेता पुनलाई पाँच लाख नगद स्वर्ण पदक प्रदान गरिएको छ । नेपाली सेनाका खड्कबहादुर खड्का दोस्रो र कर्णालीका दुर्गाबहादुर बुढा तेस्रो भएको बताइएको छ  । 

दशौं स्थानसम्म सबै नेपाली धावक विजयी भएका छन् । महिलातर्फको २१ किलोमिटरको हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ विजयी भएकी छन् । नेपाली सेनाकी पूर्णराज्यलक्ष्मी न्यौपाने दोस्रो र सशस्त्र प्रहरी बल नेपालकी पुष्पा भण्डारी तेस्रो भएकी छन् । पाँच किलोमिटरको विद्यालय छात्रातर्फ अरुणा चौधरी प्रथम, कुसुम ठगुना द्वितीय र भुमा चौधरी तृतीय भएका छन् ।

छात्रतर्फ पनि सबै नेपाली विजयी भएका छन् । खुला पाँच किलोमिटर पुरुष र महिलातर्फ पनि नेपाली धावकले पदक र नगद पुरस्कार प्राप्त गरेका छन् ।

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन नेपाल ओलम्पिक कमिटी, नेपालस्थित चिनियाँ राजदूतावास, लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड र लुम्बिनी प्रदेश खेलकुद परिषद्ले संयुक्त रुपमा आयोजना गरेका हुन् । दौडको मार्ग लुम्बिनीबाट सुरु भई भैरहवा हुँदै पुनः लुम्बिनीसम्म थियो । 

लुम्बिनी म्याराथन प्रमाणीकरणपछि नेपालमा अन्तर्राष्ट्रियस्तरमा मान्यताप्राप्त चारवटा म्याराथन भएका छन् । काठमाडौं म्याराथन, पोखरा म्याराथन र नेपालगञ्ज म्याराथनपछि लुम्बिनी म्याराथन थपिएको छ ।

टिप्पणीहरू